काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच सम्वादको वातावरण बनाउने र सहमतिमा ल्याउने राष्ट्रपति विद्यादेवी भण्डारीको प्रयास असफल भएको छ।
भण्डारीले हिजो विहान प्रधानमन्त्री ओली र साँझ प्रचण्डसँग भेट गरेर सहमतिको प्रयास गरेकी थिइन्। सहमतिको प्रयास असफल भएसँगै नेकपाभित्र बहुमतले ओलीलाई प्रधानमन्त्री र अध्यक्षबाट हटाउने तयारी भइरहेको छ।
धेरैपटक सुध्रिने मौका दिँदा पनि स्वेच्छाचारी ढंगबाट अघि बढेको भन्दै प्रचण्ड, माधव नेपालसहित बहुमत समूहले पार्टी कमिटीबाट निर्णय गरेर ओलीलाई वैधानिक रुपमै प्रधानमन्त्री र अध्यक्ष पदबाट फिर्ता बोलाउने निर्णयको तयारी गरेको स्रोतले जनाएको छ। उता ओली समूहले पनि सहमति नजुट्दा प्रचण्डलाई अध्यक्षबाट हटाएर अघि बढ्ने निष्कर्ष निकालेको छ।
ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पद नत्याग्ने स्पष्ट पारेको बुझिएको छ । उनले झन आक्रामक तयारीहरु गर्न थालेका छन् । प्रचण्डले पनि पटक पटक सहमति गर्दा पनि उल्लंघन गरेकाले अब पार्टी बैठकबाट टुंगो लगाइने बताए । उनी पनि ओलीविरुद्ध आक्रामक तयारीमा लागेका छन् ।
अब बस्ने सचिवालय बैठकले थप कदम चाल्ने गरी प्रचण्ड अगाडि बढेका छन् । ओली कुनै हालतमा बैठकमा नजाने र नगएमा प्रचण्ड पक्षले कठोर निर्णय लिने तयारी भएको छ । ओलीले मङ्गलबारको सचिवालय बैठकमा प्रचण्डलाई कारबाही गर्ने चेतावनी दिइसकेका छन् । यसले दुवै अध्यक्ष वारपारको लडाईमा उत्रिएको स्पष्ट भएको छ ।
ओलीले प्रचण्डमाथि अध्यक्षबाट हटाएको निर्णय लिने तयारी गरेका छन् । प्रचण्डले पनि पार्टी कमिटीबाट ओलीलाई सरकारबाट फिर्ता बोलउने र अध्यक्षबाट पनि हटाउने तयारी गरेका छन् । प्रचण्डले ओलीलाई सरकारबाट फिर्ता बोलाउने सम्मको निर्णय पार्टी कमिटीको तहबाटै गरेर जाने तयारी गरेको छ ।
सबै कदमहरु विस्तारै चालिदैछन् । ओली समूहले पार्टी कमिटीलाई अन्तरिम भन्दै निर्णय नमान्ने भनिसकेको छ । ओलीले पनि त्यस्तो कमिटीको निर्णय अमान्य हुने सचिवालयको यसअघि बैठकमा स्पष्ट पारिसकेका छन् । उनले उल्टै प्रचण्डलाई कारबाहीको चेतावनी दिएका छन् । मङ्गलबारको बैठकमा ओलीको चेतावनी र प्रचण्डको मन्तव्य रोक्ने प्रयासका कारण चर्काचर्की परेको थियो ।
अध्यक्ष प्रचण्डसहित बहुमत सचिवालय सदस्यहरु स्थायी र केन्द्रीय कमिटी बैठकसम्म प्रतिवेदनहरु लगेर टुंगो लगाउने पक्षमा छन् । तर, अध्यक्ष ओली अन्तरिमकालको कमिटी भएको भन्दै त्यसको निर्णय नमान्ने पक्षमा छन् । उनी पार्टी बैठक रोक्न प्रयासरत छन् । दुई अध्यक्षको राजनीतिक प्रतिवेदन पेश हुनुलाई ओलीलाई सामान्य मानेका छैनन् । उनी सहमतिका साथ एउटै प्रतिवेदन छलफलमा प्रस्तुत हुनुपर्ने जिकिर गर्दै आएका छन् ।
यसकारण ओली र प्रचण्डबीचको टकराव झन् फैलदै गएको छ । ओलीले सत्ता छाड्न दबाब दिए संसद बिघटन, मध्यावधि घोषणा, संकटकाल लगाउने सम्मको तयारी गरेको चर्चा राजनीतिवृत्तमा छ । माधवकुमार नेपालले ओलीले यस्ता कदम चाल्न धम्की दिएको भन्दै कोही नडराउने टिप्पणी गरिसकेका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फोड्ने, संसद बिघटन गर्ने, संकटकाल लगाउने, अध्यादेश ल्याउने भन्दै धम्की दिने गरेको उल्लेख गर्दै कोही नतर्सने बताए । यसरी नेकपाभित्र नेताहरुले चाल्न लागेको सम्भावित रणनीतिबारे समेत आँकलन गर्दै आक्रामक र रक्षात्मक शैलीहरु देखिनथालेको छ । सहमतिको प्रयास भएपनि त्यो सम्भावना कमजोर बन्दै गएको छ ।