सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयकको मस्यौदा तयार भएको छ। नेपालको मूल सभ्यताको उद्गमस्थल सिंजा र त्यससँग सम्बन्धित यहाँको प्राकृतिक, साँस्कृतिक, पुरातात्विक सम्पदा तथा भाषा र कलाको प्रवद्र्धन गरी आर्थिक समृद्धि हाँसिल गर्न विधेयकको मस्यौदा तयार गरिएको हो।
यो विधेयकलाई पुर्ण बनाउनको लागि विज्ञ संग छलफल गरेर सुझाव संकलन गरिएको छ। यो विधेयक संसद चल्ने वित्तिकै प्रदेश सभा सचिवालयमा दर्ता हुने जुम्ला क्षेत्र (क) का सांसद नरेश भण्डारीले जानकारी दिए।
उनले भने,‘ यो गैरसरकारी विधेयक हो। संसद चल्ने वित्तिकै प्रदेशसभा सचिवालयमा दर्ता गर्छौं।’
मस्यौदाको अवधारणा एवं परिकल्पना कणार्ली प्रदेशसभा सदस्य तथा पूर्व कानूनमन्त्री नरेश भण्डारीले गरेका हुन्। सभ्यताको उद्गमस्थल सिंजा हुँदा पनि नहुँदाको जस्तो पीडा कणार्लीले भोगिरहनु परेको छ,उनले भने,‘ सिंजाको साँस्कृतिक, ऐतिहासिक, पुरातात्विक, धार्मिक र पर्यटकीय क्षेत्रको संरक्षण तथा विकास गर्न ऐन ल्याउने उद्देश्य राखेर मस्यौदामाथि छलफल र सुझाव संकलन गरिएको हो। ’
कणार्ली प्रदेशसभा सदस्य तथा लेखा समितिका अध्यक्ष पदमबहादुर रोकायले पहिलो राजा नागराजदेखि अन्तिम राजा शोभान शाहीसम्मले राज्य गरेको गौरवशाली बिरासत बोकेको खस साम्राज्य र त्यसअन्तरगतका सभ्यता, संस्कृति, कला, भाषा, पुरातात्विक सम्पदाको संरक्षण तथा प्रवद्र्धनमा यो ऐनले सहयोग पुर्याउने बताए। यसका लागि प्रदेशसभा सचिवालयमा दर्ता गरेर सदन चल्ने बित्तिकै पेश गरिने उनले जानकारी दिए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सुर्खेतका निमित्त प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले ऐनअन्तरगत बन्ने परिषद् र परिषद् मातहत बन्ने प्राधिकरणले सिंजा सभ्यताको विकास तथा संरक्षणमा टेवा पुग्ने बताए। कणार्लीको संस्कृतिसम्बन्धी जानकार तथा सामाजिक अभियान्ता माधवप्रसाद चौलागाईले सिंजा सभ्यताको दायरालाई फराकिलो बनाउँदै यसको विकासमा जोड दिनुपर्ने बताए।
सुशासन विज्ञ प्रकाश बुड्थापाले विभिन्न क्षेत्रबाट आएका सुझावहरुलाई मस्यौदामा समेट्ने र यो ऐनअन्तरगत गठन गरिने प्राधिकरणलाई अधिकार सम्पन्न बनाउने गरी काम गरिने जानकारी दिए। मस्यौदाको प्रस्तुति आन्तरिक मामिला तथा कानून मन्त्रालयका कानून अधिकृत एकराज चौलागाईले गरेका थिए। मस्यौदामाथिको छलफल तथा सुझाव संकलन गरेका छन्।
प्रकाशित मिति २०७८ असोज ११ गते सोमबार ०७:०६