जलजला कार्यपालिकाको आकस्मीक वैठक : एक्साभेटर माथि आक्रमण गर्नेलाई कारबाहीको माग

no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ फाल्गुण १५ गते बुधबार ०५:५८

जलजला गाउँपालिकाको सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले कालीगण्डकी नदीबाट बस्ती संरक्षण र चेकड्याम निर्माणका क्रममा एक्साभेटरमाथि ढुंगामुढा गर्नेमाथि कारबाही गर्न माग गरेको छ । गत बुधबार केही ब्यक्तिले ढुंगामुढा गरेपछि...

जलजला गाउँपालिकाको सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले कालीगण्डकी नदीबाट बस्ती संरक्षण र चेकड्याम निर्माणका क्रममा एक्साभेटरमाथि ढुंगामुढा गर्नेमाथि कारबाही गर्न माग गरेको छ । गत बुधबार केही ब्यक्तिले ढुंगामुढा गरेपछि अपरेटर चालक कुमार श्रेष्ठ बेपत्ता छन् ।

गाउँपालिकाले यही फागुन ६ गतेको कार्यपालिकाको निर्णय नम्बर १५ बमोजिम वडा नम्बर २ र ३ स्थित बगरफाट, वारीबेनीबाट ज्यामिरे खनियाघाटछसम्म आवश्यक पर्ने स्थानमा संरक्षण र चेकड्याम बनाउनका लागि पाँच लाख रुपैयाँ बिनियोजन गरी बुद्ध निर्माण सेवालाई आईइइ मा उल्लेख गरेबमोजिम संरक्षण र चेकड्याम निर्माण गर्न दिएको थियो ।

सोहीअनुसार काम गर्नेक्रममा गत बिहिबार जलजला गाउँपालिका वडा नम्बर ८ का महेन्द्र रेग्मीसहितका केही ब्यक्तिले ढुंगामुढा गरेका थिए । घटनाका बेला प्रहरीसमेत थिए । घटनामा एक्साभेटर तोडफोड हुनुका साथै अपरेटर कुमार श्रेष्ठ अहिलेसम्म पनि सम्पर्कमा आएका छैनन् ।

गाउँ कार्यपालिकाको बैठकले उक्त घटनाको घोर भत्र्सना गरेको छ । ‘स्थानीय सरकार संचालन ऐन २०७४ मा उल्लेखित अधिकार बमोजिम गाउँपालिकाले कार्य गर्दा अवरोध सिर्जना भएकोमा आवश्यक छानबिन गरी दोषी उपर कारबाही गर्न सम्बन्धित निकाय सबैमा माग गर्ने निर्णय गरियो’ सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले गरेको निर्णयमा उल्लेख छ ।

यसअघि महेन्द्र रेग्मीसहितका ब्यक्तिको आक्रमणपछि बुद्ध निर्माण सेवाका प्रतिनिधि लालबहादुर मल्लले कारबाहीको माग गर्दै प्रहरीमा किटानी जाहेरी दिएका थिए । तर उक्त जाहेरी प्रहरीले राजनीतिक आधारमा दर्ता गरेको छैन । प्रहरीले दर्ता नगरेपछि उक्त जाहेरीलाई मल्लले जिल्ला हुलाक कार्यालयमार्फत प्रहरीमा पठाएका छन् ।

प्रकाशित मिति २०७५ फाल्गुण १५ गते बुधबार ०५:५८
प्रतिक्रिया दिनुहोस