गण्डकीकै पहिचान हुन् बागलुङमा पाईने आलु र भाँगो

गण्डकीकै पहिचान हुन् बागलुङमा पाईने आलु र भाँगो

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ कार्तिक २१ गते शुक्रबार ०१:५०

‘चितवनबाट फोन आउँछ, एक बोरा ताराखोलाको आलु पठाइदे, यहाँ खोज्न आउनेले पनि ताराखोलाकै खोज्छन् !’ पंक्तिकार पसलमा पुग्दा बागलुङ नगरपालिका वडा नं. २ ट्राफिकचोककी हिरादेवी पौडेल छट्पटिँदै भन्दै थिईन्– ‘यहाँ आलुको अभावै छ, मैले बेचुकी,...

‘चितवनबाट फोन आउँछ, एक बोरा ताराखोलाको आलु पठाइदे, यहाँ खोज्न आउनेले पनि ताराखोलाकै खोज्छन् !’ पंक्तिकार पसलमा पुग्दा बागलुङ नगरपालिका वडा नं. २ ट्राफिकचोककी हिरादेवी पौडेल छट्पटिँदै भन्दै थिईन्– ‘यहाँ आलुको अभावै छ, मैले बेचुकी, चितवन पठाउँ ।’ पौडेलले चितवन पठाउँदा आफन्तै भएपनि ताराखोलाको आलुको मुल्य बढी दिन्छन् । बागलुङ बजार मात्रै होईन देशका ठुलादेखि साना शहरमा समेत बागलुङको ताराखोला र ढोरपाटनको आलु चर्चित छ । पौडेलजस्तै ढोरपाटन र ताराखोलाको आलु बेच्नका लागि सिजनमा बागलुङका व्यवसायीलाई भ्याईनभ्याईनै हुन्छ । बागलुङका सबै ठाउँमा आलु फल्छ । कृषि ज्ञान केन्द्र पर्वतका अनुसार हिउँदे र बर्खेआलु बागलुङमा फल्छ ।
……….
हिउँदमा लगाएर बर्षाको समयमा उकेर्ने बागलुङको आलु बजारमा बढी चर्चित छ । ताराखोला र ढोरपाटनमा फल्ने आलु त्यहिँ हो जुन हिउँदको समयमा उकेर्ने गरिन्छ । काठमाण्डौ, पोखरा, बुटवल र भैरहवामा बागलुङको आलुको चर्चा छ । पूर्वका शहरमा ताराखोला र पश्चिमका शहरमा ढोरपाटनको आलुको चर्चा बढी पाईन्छ । ‘हामीले फलाएको आलु बुटवल जान्छ’ ढोरपाटन नगरपालिका वडा नं. ९ का किसान चन्द्रसिंह कुमाईले भने– ‘यहाँ अरु अन्न फल्दैन, छाक टार्ने बाटो भनेकै आलु हो ।’ उच्च पहाडी भू–भागमा फलेको आलु स्वादिलो हुने भएकाले बजारमा माग राम्रो रहेको आलु जोन कार्यक्रम बागुङका प्रमुख कृष्ण प्रसाद पौडेल बताउँछन् । ‘लामो समय माटोमुनि रहेको आलु चिसोले बिग्रिँदैन’ उनले भने ‘कार्वोहाईडेड संकलन शक्ति बढी हुने भएकाले चिसो ठाउँको आलु मिठो हुने हो ।’
……….
बागलुङमा झण्डै पाँच हजार किसानले आलुको उत्पादन गर्छन् । तीमध्ये व्यवसायीक रुपमा आलुको उत्पादन गरेर गुजारा चलाउनेको संख्या निकै कम छ । जिल्लामा कति आलु फल्छ र कति निर्यात हुन्छ भन्ने विषयमा साविकको कृषि विकास कार्यालय खारेज भएसँगै तथ्यांक राख्ने निकाय छैन । तर यहाँको आलुको बजार राम्रो रहेकाले किसानहरुले आलुबाट राम्रो आम्दानी गरिरहेको कृषि ज्ञान केन्द्रको दाबी छ । ताराखोला र ढोरपाटनका किसानले फलाएको आलु बजारमा मुल्य राम्रो पाउने र खानाका लागि समेत स्वादिष्ट भएकाले त्यहाँका केही किसानले आलुकै भरमा घरगुजारा चलाएका छन् । ताराखोला र ढोरपाटनको आलुको मुल्य पछिल्लो पटक बजारमा ८० रुपैयाँ प्रतिकिलो छ । स्थानीय नापको आधार पाथीमा बिक्री गर्ने किसानले पाथीको एक सय पचासदेखि दुईसय रुपैयाँसम्म लिने गरेका छन् । गत बर्षहरुमा जस्तो यो बर्ष बागलुङमा बर्खे आलु फलेन । लगाउने समयको हिउँ र तुसारो तथा उम्रिने समयको असिनाले यहाँको आलु उत्पादनमा असर गरेको किसानहरुको गुनासो छ ।
……….
रासायनिक मलको प्रयोग नहुने र स्थानीय जातको बिउमात्रै लगाउने भएकाले ताराखोलाको आलु धेरैले खोज्ने गरेको ताराखोला गाउँपालिका वडा नं. ५ हिलेका किसान दमन रोकाको बुझाई छ । ‘घरायसी मल र छापो गाँडेर आलु लगाईन्छ’ रोकाले भने ‘स्थानीय जातकै बिउँ लगाईन्छ, विकासी बिउँको प्रयोग भएको छैन् ।’ ढोरपाटन नगरपालिकाको अधिकांश वडामा आलु राम्रो फल्छ । निसीखोला र तमानखोला गाउँपालिकामा फलेको आलुले समेत ढोरपाटनको नाम पाउने गरेको छ । बागलुङमा धम्जा, भकुण्डे, दमेक, गलकोट र बडिगाडको आलुको समेत आ–आफ्नै पहिचान र बजार छ ।
……….
नेपाल सरकारले सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पनि बागलुङको आलु प्रबद्र्धनसहित सुधारका कार्यक्रम ल्याएको छ । छिमेकी जिल्ला गुल्मीका ८ वटा वडासहित बागलुङ पश्चिका छ वटा स्थानीय तहमा आलुजोन कार्यक्रम सञ्चालनमा छ । ‘बहुखेती गर्ने चलन रहेछ, त्यसले आलुको उत्पादन बढ्नमा असर गर्छ’ कार्यक्रम संयोजकसमेत रहेका पौडेलले भने ‘हामीले विस्तारै सुधारेर व्यवसायीक बनाउँदै छौं ।’

भाँगो पहिचान्, आलु भाँगोको सम्बन्ध

बागलुङमा धेरै उत्पादन हुने भाँगो र आलुको निकै गहिरो सम्बन्ध छ । पहिलो कुरा त आलुको अचारमा भाँगो लगाउँदा आउने स्वाद सबैको जिब्रोमा गडेको विषय हो । अर्को कुरा यहाँका किसानले पाखोबारी बाँझो नराख्नका लागि भाँगोको खेती गर्छन् । बारीमा लगाएको आलु जेठ, असारमा फसल लिईन्छ । जेठ असारमा आलु उकेरेपछि खाली भएको बारीमा नत मकै लगाएर फल्छ नत कोदो । चिसो ठाउँ भएकाले मकै र कोदो फल्न समय लाग्छ । सिमी र भाँगो लगाउँदा अर्को पटक आलु लगाउने समयसम्म फसल लिन सकिन्छ । त्यसैले यहाँका किसानले बारी खाली नपार्न भाँगोको खेती गर्छन् ।
……….
भान्छामा अचारको परिकार हुँदा मुख धेरैको रसाउँछ । भाँगोले मोलेको अचार अथवा स्थानीय भाषाको चटनी हुँदा खानाको स्वादै बेग्दै । बागलुङको ताराखोला, निसीखोला, तमानखोला, बडिगाड र ढोरपाटन नगरपालिकाका अधिकांश बारीमा भाँगो फल्छ । तर वैधानिक हिसावले व्यवसायीक बनाएर बजारमा आउने भाँगो कहाँ कसरी फल्छ भन्ने जानकारी नभएकाले पनि भाँगोको अचार मिठै मानेर खाने गरेको पाईन्छ । सरकारले प्रतिबन्ध लगाएको लागुऔषधजन्य उत्पादन हुने गाँजा प्रजातीकै रुखमा फल्छ भाँगो । बागलुङका उच्च पहाडी भू–भागहरुमा भाँगोको खेती राम्रो हुने गरेको भएपनि यसको व्यवसायीक बजारीकरण छैन् ।
……….
‘भाँगो र गाँजाको रुख फरक हुन्छ तर गाँजा फँडानी गर्ने प्रशासनले भाँगो चिन्दैन’ ताराखोलाका धन बहादुर बिक ‘हिमाल’ले भने ‘बजारमा माग छ, किसानको बाध्यता, भाँगो उत्पादन गर्न पाउनु पर्छ ।’ बिकले भाँगो, आलु, सिमी र मकै ताराखोलामा उत्पादन सुरुभएको किम्बदन्तीको किस्सा सुनाए । ‘पहिले बुढाहरुले पाखो माँसेर आगो लगाए, काम गर्ने मान्छे थिएनन्, खरानी माटोमा पुरेर आलुदेखि भाँगो एकै पटक बिउ लगाए, त्यहिँ बेला देखिको परम्परागत खेती हुन सबै ।’ भाँगो नेपालमा मात्रै होईन खाडी मुलुक र ल्याटिन अमेरिकन मुलुकबाहेक प्रतिबन्ध नरहेका युरोपियनलगायतका मुलुकमा समेत निर्यात हुने गरेको बागलुङका व्यवसायी बताउँछन् । बैधानिक बाटो नहुँदा यसको उत्पादन र निकासीको तथ्यांक भने छैन् । अहिले बजारमा भाँगो प्रतिकिलो ३ सय रुपैयाँसम्ममा बिक्री हुन्छभने देशका ठुलादेखि साना शहरका भान्छामा समेत अचार बन्ने गरेको छ ।
बागलुङमा उत्पादन हुने भाँगोका रुखहरु हरेक बर्ष नासीने गरेका छन् । प्रहरीले अबैध गाँजा उत्पादन रोक्ने भन्दै एकै प्रजातीका गाँजा र भाँगोका रुखहरु मास्दा किसानहरु मर्कामा पर्ने गरेका छन् । भाँगो र गाँजाका बिषयमा बेला बेलामा सरोकारवालाका बिचमा चर्चा हुने गरेको भएपनि यसको बैधानिकताको लागि भने कानुनी बाटो बन्द छ । यस बर्ष निसीखोलाका अधिकांश बारीमा लगाईएका भाँगोका रुखहरु फाँडिएकाले मुल्य बृद्धि हुने उपभोक्ताको आँकलन छ । ‘पोहोर साल भाँगो ल्याएको ठाउँमा पुग्दा भण्डारण नभएको, रुखै मासेको भनेर फर्काईदिए’ बागलुङ बजारका किराना व्यवसायी खगेन्द्र पौडेल भन्छन् ‘बजारमा माग उच्च छ तर उत्पादन हुने ठाउँहरु खालि छन् ।’ किसानले उत्पादन गरेको भाँगोबाट निस्केनी पाउडरलाई समेत तस्करहरुले भने गाँजाको नाम दिएर बिक्रि गर्ने गरेकाले समेत बेला बेलामा यहाँको भाँगो गाँजाका बहानामा नासिने गरेको हो ।
……….
बागलुङका अधिकांश ठाउँको वातावरणमा फल्ने भाँगोको व्यवसायीक उत्पादन नभए पनि बागलुङ चिनाउने गण्डकी प्रदेश समृद्विको ब्राण्ड हो भाँगो । यसको व्यवस्थित उत्पादन र बजारीकरण गर्न सक्ने हो भने भारतिय र चिनियाँ बजारबाट आउने अचारका परिकारलाई विस्थापन गरी र आन्तरिक राजश्व संकलनको माध्याम भाँगोलाई बनाउन सकिन्छ । गाँजाको बहानामा भैरहेको भाँगोको बिरुवा फँडानीमा बुत्तिमत्ता आवश्यक छ । भाँगोलाई व्यवसायीक बनाउन सके बागलुङको पश्चिमका अधिकांश पालिकाको आयस्रोतको राम्रो माध्याम हुनसक्छ ।

प्रकाशित मिति २०७७ कार्तिक २१ गते शुक्रबार ०१:५०
प्रतिक्रिया दिनुहोस