केपी शर्मा ओली को हो र पार्टीबाट निकाल्न नसक्ने ?

केपी शर्मा ओली को हो र पार्टीबाट निकाल्न नसक्ने ?

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ मङ्सिर १७ गते बुधबार १२:४५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य डा. बेदुराम भुषालले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली नहुँदैमा पार्टी नचल्ने भन्ने नहुने बताएका छन् । नेकपाभित्र किचलो बढिरहँदा अध्यक्ष ओली पार्टीको सचिवालय बैठकमा...

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य डा. बेदुराम भुषालले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली नहुँदैमा पार्टी नचल्ने भन्ने नहुने बताएका छन् । नेकपाभित्र किचलो बढिरहँदा अध्यक्ष ओली पार्टीको सचिवालय बैठकमा उपस्थित नहुने संकेत गरिरहँदा यदि उपस्थित नहुने हो भने अध्यक्षबाट राजीनामा दिनुपर्ने भुषालले तर्क गरेका छन् ।

नेपाली रेडियो नेटवर्कसँगको कुराकानीमा भुषालले ‘बैठकमा सहभागीता जनाउन नसक्ने हो भने उहाँलाई फुर्सद छैन अध्यक्षबाट राजीनामा दिनुपर्छ ।’

ओली बिना पार्टी चल्न सक्छ त भन्ने प्रश्नमा उनले ‘केपी ओली को हो र पार्टीबाट निकाल्न नसक्ने ?’ भनी जवाफ दिएका छन् । उनले ओली एउटा व्यक्ति भएको भन्दै संस्थागत निर्णय महत्वपूर्ण हुने बताए । उनले व्यक्तिले म जे भन्छु त्यही हुनपर्छ भन्छ भने त्यो मान्य नहुने बताए ।

पार्टी यहाँसम्म विवादित हुनुमा सबैभन्दा ठूलो दोषी ओली नै भएको भुषालले बताए । उनले पार्टीको विधान अनुसार ओली नचलेकै कारण विवाद यहाँसम्म आएको बताए । पार्टी एकता भएको तीन महिनाभित्र पूर्ण एकता गर्ने र दुई वर्षभित्र एकता महाधिवेशन गर्ने निर्णय भएकामा  त्यो पूरा नहुनु ओलीकै कारण भएको समेत भुषालले आरोप लगाए ।

पहिले बहुमतका आधारमा निर्णय गर्ने र अहिले बहुमतका आधारमा निर्णय गर्दा आपत्ति जनाउनु नै ओलीको व्यक्तिवादी चरित्र भएको भन्दै यसबाट उनी मुक्त हुनुपर्ने पनि उनले बताए ।

ओलीले धेरै गल्ती गरेकाले आफूलाई हटाउँछन् कि भन्दै कुन्ठा पालेर बसेका कारण डराएर बैठकहरुबाट पछाडि हट्न खोजेको आरोपसमेत भुषालले बताए ।

नेकपाको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कात्तिक २८ गते ओलीलाई आरोपसहितको राजनीतिक प्रतिवदेन पेश गरेपछि ओलीले पनि मंसिर १३ गते प्रचण्डलाई आरोपसहित छुट्टै प्रतिवेदन ल्याएका थिए ।

त्यसपछि दुवै पक्षबीच आरोप प्रत्यारोप चलिरहेको छ । यसबाट बच्नका लागि ओलीले बैठक स्थगित गर्न माग गरेको आरोपसमेत लागेको छ ।

यसअघिको निर्णयानुसार सचिवालय बैठक बुधबार दिउँसो १ बजे बालुवाटारमा बस्दैछ । मंसिर १८ गते स्थायी कमिटी बैठक र मंसिर २५ गते केन्द्रीय समिति बैठक बस्दैछ ।

तर ओलीले भने बैठक पछि सार्न आग्रह गरेको बताइएको छ ।

प्रकाशित मिति २०७७ मङ्सिर १७ गते बुधबार १२:४५
प्रतिक्रिया दिनुहोस