नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलबीच भेट भएको छ । प्रचण्डलाई भेट्न उपप्रधानमन्त्री पोखरेल शुक्रबार बिहान खुमलटार पुगेका थिए। प्रचण्डसँग भएको भेटमा उपप्रधानमन्त्री पोखरेलले साझा प्रस्तावको लागि आग्रह गरेको बताइएको छ।
यसअघि हिजो महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रचण्डसँग छुट्टाछुट्टै छलफल गरेका थिए कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले राजनीतिक प्रस्ताव पेश गरेका थिए।
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीले मंसिर १३ गते प्रचण्डको प्रस्तावको जवाफ दिएका थिए । प्रचण्डसहितका बहुमत सचिवालय सदस्यहरू दुबै प्रतिवेदनमाथि छलफल गर्नुपर्ने अडानमा छन्। प्रधानमन्त्री ओली पक्षधरले भने दुबै प्रतिवेदन फिर्ता गरेर साझा प्रस्ताव ल्याउन प्रयास गरिरहेका छन् ।
ओलीले थाले बालुवाटारमा छलफल
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरुसँग छलफल थालेका छन्। अहिले बालुवाटारमा छलफल भइरहेको ओली निकट स्रोतले जानकारी दिएको छ।
प्रधानमन्त्रीले आफ्नो विपक्षमा रहेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल पक्षसँगको बिवादका विषयमा छलफल थालेका हुन् । म अहिले बालुवाटारमा छु। अहिलेको बिवादकै बारेमा छलफल भइरहेको छ। अब के गर्ने भन्ने निष्कर्षमा पुग्नका लागि प्रधानमन्त्रीले छलफल थाल्नुभएको हो, स्रोतले भन्यो।
ओलीले बिहीवार राष्ट्रपति भण्डारीसँग भेटेर पार्टीमा देखिएको बिवादका बारेमा छलफल गरेका थिए। ओलीसँगको छलफलपछि भण्डारीले अर्का अध्यक्ष प्रचण्डलाई शीतल निवास बोलाएर छलफल गरेकी थिइन्। भेटमा प्रचण्डले राष्ट्रपतिलाई ओलीले चाल्ने अप्रिय कदममा साथ नदिन आग्रह गरेको बताइएको छ ।
पेरिसडाँडामा भेला
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको विद्यार्थी संगठन भेला पेरिसडाँडामा हुने भएको छ। भेलालाई प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटी सदस्य र केन्द्रीय नेताहरुले शुक्रबार दिउँसो १ बजे सम्बोधन गर्ने भएका हुन् ।
प्रचण्ड, नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतमलगायत नेताहरुलाई भेटेपछि विद्यार्थी संगठनका नेताहरुले आफ्नो पक्षको भेला गर्न लागेका हुन् । भेलालाई स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, केन्द्रीय सदस्य लेखनाथ न्यौपाने,रामकुमारी झाँक्री, ठाकुर गैरेलगायतले सम्बोधन गर्ने अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले बताए।
अर्का अध्यक्ष केपी ओली पक्षका विद्यार्थी संगठनले देशैभर भेला गर्न थालेकाले प्रचण्ड–नेपाल पक्षका विद्यार्थीले पार्टी कार्यालय पेरिसडाँडामा भेला गर्न लागेका हुन् । पार्टीमा समस्या छन्, ती विषयमा विद्यार्थी नेताहरुलाई भन्नुपर्ने भयो’ तामाङले भने, ‘कसले पार्टीमा विधि पद्धती उल्लंघन गर्यो कसले पार्टीमा समस्या निम्त्यायो रु पार्टी कसले विभाजन गर्न खोज्यो त्यो सबै स्पष्ट पार्न बैठकमा भन्नुपर्ने भयो।’ पार्टीभित्र देखिएका समस्या सबै विद्यार्थीलाई भेटेर स्पष्ट पारिने तामाङले बताए ।
प्रकाशित मिति २०७७ मङ्सिर १९ गते शुक्रबार ०८:४२