तीन दिनभित्र क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंग्याउने सहमति

तीन दिनभित्र क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंग्याउने सहमति

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७८ साउन २१ गते बिहिबार ०२:२३

नेपाली काँग्रेसका शीर्ष नेताहरूबीच तीन दिनभित्र क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगो लगाउने सहमति भएको छ। बुधवार बसेको बैठकमा क्रियाशील सदस्यताका सम्बन्धमा पार्टी देखिएको विवाद ३ दिनभित्र समाधान गर्ने गरी छलफललाई निरन्तरता...

नेपाली काँग्रेसका शीर्ष नेताहरूबीच तीन दिनभित्र क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगो लगाउने सहमति भएको छ। बुधवार बसेको बैठकमा क्रियाशील सदस्यताका सम्बन्धमा पार्टी देखिएको विवाद ३ दिनभित्र समाधान गर्ने गरी छलफललाई निरन्तरता दिने सहमति भएको हो।

नेपाली काँग्रेसका शीर्ष नेताहरू सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच सदस्यतासम्बन्धी विवाद समाधान गर्न बुधवार छलफल भएको थियो। बैठकमा आज भने अन्य पार्टीबाट प्रवेश गरेका नेता, कार्यकर्ताहरूलाई कसरी क्रियाशील सदस्यता वितरण गर्ने ? भन्ने सम्बन्धमा केन्द्रित भएर छलफल सुरु गरिएको क्रियाशील सदस्यता छानबिन समितिका संयोजकसमेत रहेका नेता रमेश लेखकले जानकारी दिए।

‘अरू पार्टीबाट प्रवेश गरेका नेता, कार्यकर्ताहरूको सम्बन्धमा नेपाली काँग्रेसको क्रियाशील सदस्यता कसरी दिने भन्ने विषयमा केन्द्रित भएर छलफल सुरु गरिएको छ,’ उनले भने, ‘यसले निरन्तरता पाउँछ र २/३ दिनभित्र टुंगिन्छ।’ बैठकमा नेताहरूबीच आसन्न पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका पनि २ दिनभित्र टुंगो लगाउने विषयमा छलफल गरिएको छ।

महाधिवेशनको कार्यतालिका अहिले नै प्रभावित भइहाल्यो भन्न नमिल्ने उल्लेख गर्दै नेता लेखकले शीर्ष तहमा यसको टुंगो २ दिनभित्र लगाउने गरी छलफल भइरहेको बताए। नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशन भदौ १६-१९ गते काठमाडौंमा गर्ने तय गरिएको छ। तर स्थानीय तहको अधिवेशनको कार्यतालिका प्रभावित भएकाले महाधिवेशनको मिति पनि सर्ने हो कि भन्ने आशंका गरिएको छ।

प्रकाशित मिति २०७८ साउन २१ गते बिहिबार ०२:२३
प्रतिक्रिया दिनुहोस