स्पेनिस कोपा डेल रे कपमा बुधबार तीन महत्वपूर्ण खेल हुँदैछन्।
कोपा डेल रे कपको क्वाटर फाइनल प्रवेशको निर्णायक खेलमा आज रियल मड्रिड, एथ्लेटिको मड्रिड र सेभिया भिन्दाभिन्दै खेलमा मैदानमा उत्रनेछन्।
प्रि–क्वाटर फाइनलको दोस्रो लेग भएका कारण आज कुन टोली बाहिरिने र कुन टोली अन्तिम आठमा पुग्ने टुंगो लाग्नेछ।
सबै तालिका नेपाली समय अनुसार
१. एथ्लेटिको मड्रिड र गिरोना– राति सवा १२ बजे
२. सेभिया र एथ्लेटिको बिल्बाओ– राति सवा १ बजे
३. लेगनास र रियल मड्रिड– राति सवा २ बजे
पहिलो लेगमा एथ्लेटिको मड्रिड र गिरोनाले १–१ गोलको बराबरी खेलेका थिए। आज जुन टोलीले बढी गोल गर्नेछन् सोही टोली अन्तिम ८ मा पुग्नेछ।
आज एथ्लेटिकोको घरेलु मैदानमा प्रतिस्पर्धा हुन लागेको हो। बराबरी खेलेको खण्डमा एथ्लेटिको अवे गोलका कारण अन्तिम ८ मा प्रवेश गर्नेछ।
यसैबीच सेभियाले पहिलो लगेमा एथ्लेटिको बिल्बाओ विरुद्ध ३–१ को अग्रता लिएको छ। सेभियालाई पराजित गर्न अब आज बिल्बाओले ३ गोल अन्तरको जित निकाल्नु पर्ने हुन्छ।
नभए बिल्बाओ प्रतियोगिताबाट बाहिरिनेछ। यद्यपी सेभियाले तीनै गोल अवे गरेका कारण आज घरेलु मैदानमा सहज जित निकाल्ने अनुमान गरिएको छ।
रियल मड्रिडले लेगनासमाथि पहिलो लेगमा ३–० को अग्रता लिइसकेको छ। आज लेगनासले मड्रिडलाई पराजित गर्न ४–० को गोल अन्तर निकाल्नुपर्ने अवस्था छ।
प्रकाशित मिति २०७५ माघ २ गते बुधबार ०५:०४