राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले राजीनामा दिएका छन् ।एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने मन्त्रिपरिषदको निर्णयको विरुद्ध अभिव्यक्ति दिएपछि विवादमा परेका नेपालले पदबाट राजीनामा दिएका हुन् ।राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले डा. नेपालले दिएको राजीनामा स्वीकृत भएको जानकारी दिइन् ।गत वैशाख २० गतेको मन्त्रिपरिषद बैठकले कालापानी, लिपुलेक भूभागलाई समेटेर जारी गरिएको नयाँ नक्सा एक रुपैयाँको नोटमा राख्ने निर्णय गरेको थियो ।
डा. नेपालले सञ्चार माध्यममा प्रतिक्रिया दिँदै भारतसँग वार्ता भइरहेको बेला नयाँ नक्सा नोटमा राखिनु गलत भएको अभिव्यक्ति दिएका थिए ।
एमाले संसदीय दलको शुक्रबार बसेको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि डा. चिरञ्जीवी नेपालको अभिव्यक्तिको विरोध जनाउँदै यो विषयलाई संसदमा गम्भीर रुपमा उठाउने बताएका थिए ।
नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ नक्सा राख्ने निर्णय गरेकोमा भारत असन्तुष्ट छ । भारतीय विदेशमन्त्री एस जयशंकरले सीमाबारे दुई देशबीच स्थापित संयन्त्रमा छलफल भइरहेका बेला नेपालले एकतर्फी निर्णय गरेको बताएका थिए ।
प्रकाशित मिति २०८१ बैशाख ३० गते आईतबार ०६:४५