विद्यार्थी अभावले अन्ततः ‘मर्ज’ भए गुप्तेश्वर र शिवालय बहुमुखी क्याम्पस

विद्यार्थी अभावले अन्ततः ‘मर्ज’ भए गुप्तेश्वर र शिवालय बहुमुखी क्याम्पस

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८१ माघ ८ गते मङ्गलबार ०४:३३

पर्वत सदरमुकाम कुश्मा बजारमा रहेका दुई वटा बहुमुखी क्याम्पसहरू ‘मर्ज’ गर्ने प्रक्रिया पूरा भएको छ।     विद्यार्थी अभावको समस्या झेल्दै आइरहेको अवस्थामा सानो बजार क्षेत्रमा दुई वटा क्याम्पस चलाउनु भन्दा दुई वटालाई ‘मर्ज’...

पर्वत सदरमुकाम कुश्मा बजारमा रहेका दुई वटा बहुमुखी क्याम्पसहरू ‘मर्ज’ गर्ने प्रक्रिया पूरा भएको छ।

 

 

विद्यार्थी अभावको समस्या झेल्दै आइरहेको अवस्थामा सानो बजार क्षेत्रमा दुई वटा क्याम्पस चलाउनु भन्दा दुई वटालाई ‘मर्ज’ गरेर एउटा मात्रै क्याम्पस सञ्चालन गर्न एक वर्ष अगाडिदेखि प्रक्रिया सुरु गरिएको थियो।

२०४८ सालमा स्थापना भएको गुप्तेश्वर बहुमुखी क्याम्पस र २०६७ सालमा स्थापना भएको शिवालय बहुमुखी क्याम्पसलाई एकीकरण गरेपछि अब क्याम्पसको नाम ‘कुश्मा बहुमुखी क्याम्पस’ बनाउने निर्णय भएको छ। दुई वटै सामुदायिक क्याम्पसहरूले बदलिएको समाज विकास क्रम, घट्दो विद्यार्थी सङ्ख्या, अपर्याप्त सरकारी सहयोग लगायतका कारण सञ्चालनमा चुनौती भोगेका थिए।

यही अवस्थालाई ध्यानमा राखेर क्याम्पसको एकीकरणको काम थालिएको थियो। दुवै क्याम्पसका सञ्चालक समिति तथा साधारण सभाबाट गोविन्द पहाडीको संयोजकत्वमा एकीकरण कार्यदल गठन गरिएको थियो। कार्यदलले लामो प्रयास गर्दै एकीकरणको प्रक्रिया पूरा गरेको हो। लामो प्रयत्नले कुश्मा क्षेत्रको सामुदायिक, भौगोलिक, राजनीतिक र भावनात्मक एकताको उदाहरण हुने गरी एकीकरण गरी कुश्मा बहुमुखी क्याम्पस बनाउन सफल भइएको संयोजक पहाडीले बताए। समान हैसियत सहित सञ्चालित क्याम्पसहरूको यो एकीकरण पहिलो भएको त्रिभुवन विश्वविद्यालयलाई उद्धृत गर्दै पहाडीले दबी गरे।

‘त्रिभुवन विश्वविद्यालयका अनुसार समान हैसियतका दुई सामुदायिक क्याम्पसहरूको यो एकीकरण नै पहिलो उदाहरण हो। हाम्रो चाहना र योजना अनुसारको एकीकरण कार्यका लागि त्रिभुवन विश्वविद्यालयको नीति परिवर्तनमा समेत प्रभावित गर्न सक्षम भयौँ’, उनले भने, ‘तत्कालीन समयमा क्याम्पसहरूको आवश्यकता उच्च रहेको भए पनि हाल विद्यार्थीको चाप निकै कम हुँदा समस्या भइरहेको छ। त्रिभुवन विश्वविद्यालयमा कुन कुन सङ्कायमा विद्यार्थी नै भएनन् भन्ने समाचारहरू आइरहेको बेलामा मोफसलमा रहेका क्याम्पसहरू समस्यामा नहुने कुरै भएन।’

यस वर्ष गुप्तेश्वर बहुमुखी क्याम्पसमा स्नातकोत्तर सहित र शिवालय बहुमुखी क्याम्पसमा गरेर करिब पाँच सय भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन्।
यी दुई क्याम्पसहरूको एकीकरण जिल्लाकै पहिलो र सबैभन्दा उच्च शैक्षिक संस्थाहरूको एकीकरण हो। दुवै क्याम्पसलाई एकीकरण गरी एउटा सबल, परिष्कृत, आधुनिक र एकीकृत क्याम्पस स्थापना गर्न आवश्यक रहेको महसुस गरी एक वर्ष अगाडिदेखि ‘मर्ज’ लागि पटक पटक वार्ता र छलफलहरू गरिएका थिए।

‘मर्ज’ प्रक्रिया अगाडि बढाउन पब्लिक क्याम्पस सङ्घ, पर्वतका अध्यक्ष गोविन्द पहाडी गिरीको संयोजकत्वमा दुवै क्याम्पसका अध्यक्षहरू वसन्तकुमार कर्माचार्य र हरीओम शर्मा लामिछाने तथा क्याम्पस प्रमुखहरू सुभाष पन्त र लेखनाथ उपाध्याय सहितको पाँच सदस्यीय कार्यदल निर्माण गरिएको थियो।

डेढ वर्ष अगाडिदेखि सुरु गरेको अध्ययन र सहकार्यहरूबाट तयार भएको एकीकरण दस्ताबेजको आधारमा सञ्चालक समितिको संयुक्त बैठकले दुवै क्याम्पसलाई एकीकरण गर्ने निर्णय गरेको थियो।

एकीकरण गर्न बनेको कार्यदलको संयोजकमा पहाडी सहित सदस्यहरूमा वसन्त कुमार कर्माचार्य, हरिओम शर्मा लामिछाने, मथुरा कुमार जोशी, ईश्वर गिरी, विष्णु प्रसाद नेवार, डा. चूडामणि शर्मा, कमलनाथ पोख्रेल, केदारनाथ शर्मा, सरस्वती भण्डारी र उमादेवी कुमाल रहेका थिए। यो कार्यदल मार्फत विभिन्न आठ वटा उपसमितिहरू निर्माण गरिएको थियो।

पर्वत जिल्लाभर हाल १२ वटा क्याम्पसहरू सञ्चालनमा छन्। विद्यार्थी अभावले सदरमुकाममै रहेका क्याम्पसहरू एकीकरण गर्नुपर्ने अवस्था आएको बेलामा गाउँमा रहेका क्याम्पसहरूको अवस्था यो भन्दा कमजोर छ। विद्यार्थीको सङ्ख्या न्यून हुँदा गाउँ गाउँमा रहेका क्याम्पसहरू पनि बन्द हुने अवस्थामा छन्। सदरमुकाममा रहेका दुई क्याम्पसलाई एकीकरण गरेर एउटा सफल क्याम्पस बनाउने काम सुरु हुँदा गाउँ गाउँमा रहेका अन्य क्याम्पसहरूले पनि यही विधि अपनाउन सक्ने शिक्षा क्षेत्रका विज्ञहरू बताउँछन्।

प्रकाशित मिति २०८१ माघ ८ गते मङ्गलबार ०४:३३
प्रतिक्रिया दिनुहोस