पर्वतबाट वार्षिक साढे तीन लाख टन माटो खोलामा बग्दै, मुख्य कारण ग्रामीण सडक

पर्वतबाट वार्षिक साढे तीन लाख टन माटो खोलामा बग्दै, मुख्य कारण ग्रामीण सडक

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८१ चैत २० गते बिहिबार ०६:२७

असावधानीपूर्वक खनिएका सडक, कृषकहरूमा ज्ञानको अभाव लगायतका कारण पर्वतबाट वर्षेनी करिब साढे तीन लाख टनभन्दा बढी माटो खोलामा बग्ने गरेको छ।     सामान्यतः भिरालो जमिनको माटो समथर जमिनतर्फ बग्ने प्राकृतिक नियम अनुसार नै वर्षेनी...

असावधानीपूर्वक खनिएका सडक, कृषकहरूमा ज्ञानको अभाव लगायतका कारण पर्वतबाट वर्षेनी करिब साढे तीन लाख टनभन्दा बढी माटो खोलामा बग्ने गरेको छ।

 

 

सामान्यतः भिरालो जमिनको माटो समथर जमिनतर्फ बग्ने प्राकृतिक नियम अनुसार नै वर्षेनी भूक्षय भइरहेको भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका प्रमुख शम्भु कुमार मिश्रले बताए। जिल्लाका सात वटा स्थानीय तहहरूबाट वार्षिक करिब तीन लाख ५० हजार तीन सय ४३ टन माटो नदी, खोला र खोल्सामा मिसिने गरेको छ।

कार्यालयमा रहेको तथ्याङ्क अनुसार सबैभन्दा बढी मोदी गाउँपालिकाबाट वार्षिक एक लाख पाँच हजार एक सय ११ टन माटो लेकबाट बेसीतर्फ बग्दै नदी र खोलामा पुग्ने गरेको छ। यस्तै बिहादी गाउँपालिकाबाट ३३ हजार एक सय ३७, जलजला गाउँपालिकाबाट ३८ हजार सात सय नौ, कुश्मा नगरपालिबाट ४९ हजार तीन सय चार, महाशिला गाउँपालिकाबाट ३९ हजार चार सय दुई, पैयुँ गाउँपालिकाबाट ४७ हजार चार सय ६७ र फलेवास नगरपालिकाबाट ३७ हजार दुई सय १३ टन माटो क्षय भइरहेको छ।

पर्वत र यससँग जोडिएका जिल्लाहरू पनि कालीगण्डकी जलाधार क्षेत्रभित्र पर्ने भन्दै मिश्रले नदीहरूको प्रणालीको ‘सब बेसिन’ मा रहेको बताए। कालीगण्डकी नदी आएको मुस्ताङलाई उपल्लो तटीय क्षेत्रका रूपमा चिनिन्छ। माथिल्लो र मध्य तटीय क्षेत्रको माटो बगेर तल्लो तटीय क्षेत्रको रूपमा चिनिने तराई क्षेत्रमा जाने गरेको छ।

मानवीय असावधानीका कारण जिल्लाको कृषियोग्य उर्वर माटो हरेक वर्ष बगिरहेको र कृषकहरूले कृषि उत्पादनका लागि गरिरहेको प्रयास मिहिनेत अनुसार नभएको कार्यालय प्रमुख मिश्रले बताए। ‘माथिल्लो र यो मध्य क्षेत्रको माटो बगेर जाने भनेको तल्लो तटीय क्षेत्रमा नै हो।

पर्वतको भूगोलको सतहमा जति पनि उर्वर माटो रहेको छ यो त हरेक वर्ष बगिरहेको छ’, उनले भने, ‘हिमाली र पहाडी क्षेत्रबाट बगेको माटो समथर ठाउँमा पुगेर थुप्रिन्छ। यहाँको माटो तराईमा जाने गरेको  । यहाँ जति पनि खोलाहरू बगिरहेका छन् तिनीहरूले यहाँको मलिलो माटो तराईतर्फ बगाइरहेका छन्।’

‘भूक्षय’ भन्ने सुन्दा बित्तिकै आम नागरिकले खोला, खोल्सा वा नदी क्षेत्रमा जाने गरेका पहिरो, बाढीका कारण बग्ने माटोलाई मात्रै बुझ्ने गरेको मिश्रले बताए। तर थाहै नपाउने तरिकाले खेतबारीको माटो थोरै–थोरै गर्दै बग्नु र ग्रामीण सडक निर्माणका क्रममा भूसंरक्षणमैत्री काम हुनुले माटोको क्षय भइरहेको उनको भनाइ छ। वास्तविक भूसंरक्षण भनेको  जमिनको सतहमा रहेको मलिलो र उर्वरा शक्तियुक्त माटो जोगाउन सक्नु भएको मिश्रले बताए।

खोला र खोल्सामा जाने पहिरोको संरक्षणमा मात्रै नलागेर कृषि उत्पादनका लागि महत्त्वपूर्ण रहेको खेती बाली लगाइने खेतबारीको सतहको माटोको संरक्षणमा ध्यान दिनुपर्ने उनको सुझाव छ। कृषकहरूले माटोलाई मलिलो बनाउन वर्षेनी लगानी गरिरहेको भए पनि भूक्षयकै कारण रुखो माटो सतहमा रहँदा लगानी अनुसारको उत्पादन नभएको उनको भनाइ छ।
पछिल्ला केही वर्षहरूमा भइरहेको अध्ययनले भने कृषि र चरन क्षेत्रको भन्दा पनि ग्रामीण क्षेत्रमा मनलाग्दी र अव्यवस्थित रूपमा खनिएका सडकका कारण नै भूक्षय भइरहेको पाइएको मिश्र बताउँछन्। मोटर बाटो खन्दा माथिल्लो भागको माटो काट्दै, तल्लो भागमा फाल्दै’ गर्नाले एक ठाउँको माटो बग्ने र अर्को ठाउँमा उर्वर माटो पुरिने समस्या बढिरहेको उनले बताए।

‘आकाशबाट वर्षेनी  पानीले सतहको खेलुवा माटो बगाइरहेको छ। विगतमा कृषिका लागि धेरै जमिनमा जोत खन हुन्थ्यो। वर्षा हुँदा त्यो माटो बगेर तल्लो क्षेत्रमा जान्थ्यो’, कार्यालय प्रमुख मिश्र भन्छन्, ‘अहिले अवस्था फेरिएको छ। हामीले कृषि कर्म गर्न नै छाडेका छौँ। भिराला र टारी त के राम्रै ठाउँको खेतबारी समेत बाँझै छन्। अहिले कृषि क्षेत्रबाट भूक्षय हुने क्रम घटेको छ। तर मोटर बाटो खन्दा माटो स्वाहा भएको छ। ग्रामीण क्षेत्रमा भीरबाट मोटर बाटो खन्दा माथिको माटो काटेर सिधै तल खोल्सा वा भिरमा नै फालेका छौँ। त्यो माटोलाई बाढीले बगाएर उत्पादनयोग्य खेतबारी पुर्ने गरेको छ।’

अब चरन र कृषि क्षेत्र नभएर सबैको ध्यान ग्रामीण सडकबाट भइरहेको भूक्षय रोक्नेमा पुग्नुपर्ने उनले सुझाएका छन्। सडक पाखो संरक्षणमा लाग्नुको कुनै विकल्प नै नभएको भन्दै मिश्रले अध्ययनबाट पनि सबैभन्दा बढी भूक्षयको कारण ग्रामीण सडक नै रहेको पाइएको बताए।

प्रकाशित मिति २०८१ चैत २० गते बिहिबार ०६:२७
प्रतिक्रिया दिनुहोस