कुन आँप सबैभन्दा मिठो ? कसरी रोज्ने

कुन आँप सबैभन्दा मिठो ? कसरी रोज्ने

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८२ असार १६ गते सोमबार ०२:३७

आँपमा विषादीको मात्रा र प्रयोगको जानकारी रासायनिक रङ, दाग, र बास्नाबाट पत्ता लाग्न सक्छ। आँपलाई सफा गर्न भिनेगर, बेकिङ सोडा, वा मनतातो पानी प्रयोग गर्न सुझाव दिइन्छ। नेपालमा मुख्य रूपमा मालदह, बम्बई, दशहरी जस्ता प्रजातिका आँप पाइन्छ...

आँपमा विषादीको मात्रा र प्रयोगको जानकारी रासायनिक रङ, दाग, र बास्नाबाट पत्ता लाग्न सक्छ।
आँपलाई सफा गर्न भिनेगर, बेकिङ सोडा, वा मनतातो पानी प्रयोग गर्न सुझाव दिइन्छ।
नेपालमा मुख्य रूपमा मालदह, बम्बई, दशहरी जस्ता प्रजातिका आँप पाइन्छ र प्राकृतिक रूपमा पाकेका आँप सुरक्षित हुन्छन्।
मिठो र रसिलो आँप मन नपराउने सायदै होलान् । तर आँपलाई छिटो पकाउन र रसिलो बनाउन धेरै रसायनको प्रयोग गरिने कुरा बेलाबेलामा सुनिन्छ । आँपमा विषादी हुन्छ भन्ने डर धेरैलाई हुन्छ ।

अहिले विभिन्न ठाउँबाट आउने फरक-फरक प्रजातिका आँपले काठमाडौँको बजार ढाकेको छ । तर यस्ता आँप उपभोगका लागि सुरक्षित छन् त ? आँपमा विषादी प्रयोग भएको छ कि छैन कसरी थाहा पाउने त ? कस्ता आँप खाने ? कुन समयमा खाने ?

सामान्यतया धेरैले आकर्षक रङ हेरेर त्यसको आधारमा आँप किन्ने गर्छन् । तर रङकै आधारमा त्यसमा रसायन प्रयोग भएको छ कि छैन भन्ने कुरा पनि पत्ता लगाउन सकिने पोषणविद् सुजा मोक्तान बताउँछिन् ।

उनी भन्छिन् ‘आँप प्राकृतिक रूपमा पाकेको छ भने यसको रङ हल्का पहेँलो र हरियो हुन्छ । रसायनले पकाएको आँप भने धेरै गाढा पहेँलो रङको हुन्छ ।’

आँपमा रहेको दागले पनि यसको रासायनिक मिसावट भएको संकेत दिन सक्छ । कतिपय आँपमा निलो, कालो वा सेतो दागहरू देखिन सक्छ । केमिकलका कारण यस्तो दाग देखिएको हुने मोक्तानले बताइन् ।

‘रसायन प्रयोग भए/नभएको पत्ता लगाउन आँपको सुगन्ध पनि धेरै महत्त्वपूर्ण छ’ मोक्तानले भनिन्, ‘रसायनको प्रयोगबाट पाकेको आँपको बास्ना निकै कम हुन्छ र कुनैमा आँपमा त बास्ना नै हुँदैन । तर प्राकृतिक रूपमा पाकेको आँपको मिठो बास्ना हुन्छ ।’

 

आँपमा भएको विषादी कसरी हटाउने ?

आँपमा प्रयोग भएको विषादीको असरबाट बच्नका लागि बजारबाट किनेर ल्याएको दिन नखाएर एक–दुई दिन राखेर खानु उपयोगी हुने खाद्य अनुसन्धान अधिकृत उज्ज्वल रायमाझीको भनाइ छ । ‘आँपलाई बजारबाट ल्याएको दिन नखाएर एक–दुई दिनपछि मात्र खाइयो भने त्यसमा भएको विषादीको मात्रा र असर कम हुन्छ’ रायमाझी भन्छन्, ‘यस्तोमा केही दिन राखेर नर्मल पानीले सफा गरेर खानुपर्छ ।’

 

रायमाझीका अनुसार भिनेगर एक प्राकृतिक क्लिनर हो, जसले आँपमा रहेको रसायन र ब्याक्टेरिया हटाउन मद्दत गर्छ । एउटा कचौरामा भिनेगर र पानीको मिश्रण लिएर त्यसमा आँपलाई ५–१० मिनेट भिजाउने । त्यसपछि सफा पानीले धुने । यस्तो गर्दा आँपमा भएको रसायन कम हुन्छ ।

बेकिङ सोडा पनि आँपमा जम्मा भएको फोहोर र रसायन हटाउने प्रभावकारी तरिका रहेको उनी बताउँछन् । यसका लागि एउटा ठूलो भाँडामा मनतातो पानी लिने र यसमा बेकिङ सोडा मिसाउने । यस घोलमा आँपलाई ५ देखि १० मिनेटका लागि डुबाएर छोडिदिने । यसरी आँप राम्ररी सफा हुने रायमाझीको भनाइ छ ।

उनका अनुसार यदि घरमा भेनेगर वा बेकिङ सोडा छैन भने मनतातो पानी प्रयोग गरेर पनि आँपलाई सफा गर्न सकिन्छ । एउटा भाँडोमा मनतातो पानी लिने र यसमा आँपलाई ३० सेकेन्डसम्म भिजाउने र त्यसपछि चिसो पानीले धुन सकिन्छ ।

‘आँपलाई भेनेगर, बेकिङ सोडा वा मनतातो पानीमा डुबाएर सफा गर्दा कति समय डुबाउने भन्ने कुरामा भने ध्यान दिनुपर्छ अन्यथा त्यसको स्वाद नै परिवर्तन हुन्छ’ रायमाझी भन्छन् ।

मानिसको स्वास्थ्यलाई मध्यनजर गर्दै बोट बिरुवामा लागेको कीरा मार्न व्यावसायिक खेतीमा प्रयोग गरिने विषादीको मात्रा घटाएर, विषादीयुक्त खाद्यान्नको आयातमा समेत कडाइ गर्नुपर्ने रायमाझीले बताए ।

आँपमा कस्तो पोषक तत्त्व पाइन्छ ?

आँप भिटामिन सी, भिटामिन ए, भिटामिन ई, फोलेट, भिटामिन बी ६ का साथै कपर, म्याग्नेसियम जस्ता खनिजको राम्रो स्रोत हो । प्राकृतिक रूपमा पाकेको आँपको तुलनामा रासायनिक तरिकाले पकाएको आँपमा भिटामिन ए, भिटामिन सी र अन्य पोषक तत्त्वको मात्रा कम हुने पोषणविद् आयुष अधिकारी बताउँछन् ।

आँप कुन समयमा खाने ?

आँप खाने उपयुक्त समय व्यक्तिको स्वास्थ्य, पाचन प्रणाली र दिनचर्यामा निर्भर हुन्छ । तर सामान्यतया बिहान र दिउँसोको समयमा आँप खानु राम्रो हुने पोषणविद् आयुष अधिकारी बताउँछन् । ‘आँपमा चिनी र कार्बोहाइड्रेटको मात्रा उच्च हुन्छ, जसले ऊर्जा प्रदान गर्छ’ अधिकारी भन्छन्, ‘त्यसैले, बिहानको खाजा वा दिउँसोको खाजाको समयमा खानु उपयुक्त हुन्छ । यसले पाचनलाई सहज बनाउँछ र रातिको समयमा भारीपन महसुस हुँदैन ।’

खाना खाएको १–२ घण्टा पछि आँप खानु राम्रो हुन्छ । भारी खाना खाएको तुरुन्तै आँप खानु उपयुक्त हुँदैन, किनकि यसले पाचनमा गडबडी ल्याउन सक्छ । त्यसैले खाना खाएको १–२ घण्टा पछि मात्र आँप खान उनको सुझाव छ ।

मधुमेहका बिरामीले आँप खाने समय र मात्रामा विशेष ध्यान दिनुपर्छ । पोषणविद् तथा चिकित्सकको सल्लाह लिएर खानु राम्रो हुने अधिकारी बताउँछन् ।

कस्ता आँप खाने ?

राम्रोसँग पाकेको आँप खानुपर्छ, जुन नरम र रसिलो हुन्छ । काँचो आँपले पेट दुख्ने समस्या ल्याउन सक्ने पोषणविद् अधिकारी बताउँछन् । ‘आँपको बोक्रामा कुनै दाग वा बिग्रेको जस्तो दाग नभएको सुगन्धित आँप खानुपर्ने अधिकारी बताउँछन् । तर सबैतिर एकैनासको पहेँलो देखिएको आँप रसायन प्रयोग गरी पकाएको हुनसक्ने कुरामा सचेत रहनुपर्ने उनको भनाइ छ ।

‘माल्दा, दशहरी, चौंसा, लंगडा, तोतापरी, बम्बई जस्ता स्थानीय र मौसमी आँप ताजा र स्वादिलो स्वादिलो हुने उनले जानकारी दिए ।

अधिकारीले भने, ‘आँपलाई राम्रोसँग धोएर बोक्रा निकालेर खानुपर्छ । बोक्रामा कीटनाशक वा फोहोर हुन सक्छ । काटेर लामो समय राखिएको आँप खानु हुँदैन, किनकि यसमा स्वाद र पोषण कम हुन्छ ।’

आँपमा चिनीको मात्रा उच्च हुने भएकोले एक पटकमा १–२ वटा मध्यम आकारका आँप खानु उपयुक्त हुने अधिकारी बताउँछन् । धेरै खाँदा पेट गडबड वा तौल बढ्ने जोखिम हुन सक्नेमा उनले सचेत गराए ।

प्रकाशित मिति २०८२ असार १६ गते सोमबार ०२:३७
प्रतिक्रिया दिनुहोस