पर्वत जेसीजको ३० औँ पदस्थापन सम्पन्न, २०२६ को कार्यभार शर्मालाई

पर्वत जेसीजको ३० औँ पदस्थापन सम्पन्न, २०२६ को कार्यभार शर्मालाई

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८२ पुस २८ गते सोमबार ०१:४६

विभिन्न सामाजिक कामहरूमा सक्रिय रहँदै आएको पर्वत जेसीजको ३० औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा केही समय अगाडि भएको अधिवेशनबाट सर्वसम्मत रूपमा चयन भएको नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई शपथ खुवाएर...

विभिन्न सामाजिक कामहरूमा सक्रिय रहँदै आएको पर्वत जेसीजको ३० औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा केही समय अगाडि भएको अधिवेशनबाट सर्वसम्मत रूपमा चयन भएको नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई शपथ खुवाएर पद हस्तान्तरण गरिएको हो । केही समय अगाडि भएको सर्वसम्मत अधिवेशनबाट अध्यक्षमा शर्मिला शर्मा कार्यकारिणी उपाध्यक्षमा अजय पोख्रेल र पार्वती पौडेल (सपना), कानुनी सल्लाहकारमा सुरज श्रेष्ठ, महासचिवमा रामचन्द्र सुवेदी, कोषाध्यक्षमा प्रवेश राज पुरी, तालिम निर्देशकमा बेबिना श्रेष्ठ कर्माचार्य, शाखा सम्पादकमा वसन्त बास्तोला, उपाध्यक्षमा अन्जोल कर्माचार्य, बिजन श्रेष्ठ, पदमलाल गौतम र मुकुन्द गौतम चयान हुनुभएको थियो । यस्तै निर्देशकमा पवन श्रेष्ठ र युनिक थापा, सहसचिवमा अर्जुनराज पुरी, सह कोषाध्यक्षमा अश्विन सुवेदी तथा सह शाखा सम्पादकमा लक्ष्मण बि.सी सर्वसम्मत हुनुभएको थियो ।
गत शुक्रवार कुश्मामा आयोजना भएको पदस्थापन तथा पुरस्कार वितरण समारोहमा वर्ष २०२५ का अध्यक्ष अच्युत पौडेलले वर्ष २०२६ की अध्यक्ष शर्मिला शर्मालाई शपथ खुवाउँदै ‘प्रेसिडेन्सियल चेन’ लगाइदिएर आफ्नो जिम्मेवारी हस्तान्तरण गर्नुभयो । अध्यक्ष शर्माले नयाँ बनेको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई शपथ खुवाएर आगामी एक वर्ष उत्साहजनक रूपमा काम गर्ने बताउनुभएको छ । युवाहरूको नेतृत्व गर्ने संस्थाको जिम्मेवारी आफ्नो काँधमा आएपछि सक्रियताका साथ काम गरेर युवाहरूको नेतृत्व सीप विकाससँगै समाज सेवाका विभिन्न पक्षमा काम गर्ने उहाँको भनाइ छ । ‘शासन व्यक्तिको होइन, विधिको हुनुपर्दछ’ भन्ने मूल नारा बोकेको संस्थाले विधि बसाल्ने अभ्यासका लागि युवाहरूलाई सकेसम्म परिचालन गर्ने अध्यक्ष शर्माले बताउनुभयो ।
कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष पौडेलले आफूले एक वर्षको अवधिमा गरेका कामहरूको बारेमा जानकारी गराउँदै आफ्नो कार्यकालमा सहयोग गर्नेहरूप्रति आभार व्यक्त गर्नुभयो । ‘सीप र सम्भावना ः नयाँ युगको सुरुवात’ भन्ने मर्मका साथ आफ्नो कार्यकालमा विभिन्न कार्यक्रमहरू गरिएको अब पनि रचनात्मक कामहरू गर्नको लागि आफूले कसरत गरिरहने उहाँको भनाइ छ ।
कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले सामाजिक सेवा तथा युवाहरूको नेतृत्व र क्षमता विकासमा जेसीजले गर्दै आएका कामहरूको प्रशंसा गर्नुभयो । स्वतःस्फूर्त रूपमा सामाजिक भावनाका साथ जोडिएका क्रियाशील युवाहरूको भूमिकाले सामाजिक सहकार्य र एकतामा महत्त्वपूर्ण योगदान गरिरहेको उहाँको भनाई छ । जेसीजका कामहरूबाट आफू प्रभावित रहेको भन्दै नगर प्रमुख तिवारीले आगामी दिनमा आफू जेसीजसँगको सहकार्यमा सामाजिक कार्य गर्नका लागि तयार रहेको बताउनुभयो ।

प्रकाशित मिति २०८२ पुस २८ गते सोमबार ०१:४६
प्रतिक्रिया दिनुहोस