सिला पाण्डे
बार्सिलोना, स्पेन (२८ मार्च २०२६) – गैर आवासीय नेपाली संघ (NRNA) स्पेनद्वारा आयोजना गरिएको “स्पेन आध्यात्मिक महोत्सव” र नेपाल घर (मन्दिर) निर्माण अभियान सम्बन्धी पत्रकार सम्मेलन सम्पन्न भएको छ।
उक्त सम्मेलनमा संघका अध्यक्ष सन्तोष श्रेष्ठले नेपाल घर निर्माण अभियानलाई स्पेनमा रहेका नेपाली समुदायका लागि ऐतिहासिक र दीर्घकालीन महत्वको पहल भएको उल्लेख गर्दै आध्यात्मिक महोत्सवको उद्देश्य, तयारी र समग्र योजना प्रस्तुत गर्दै संकलित सहयोग नेपाल घर निर्माणमा प्रयोग हुने जानकारी दिनुभयो।नेपाल घर निर्माण केवल धार्मिक संरचना होइन, यो हाम्रो पहिचान, एकता र भावी पुस्ताका लागि साझा केन्द्र निर्माण गर्ने अभियान भएको उहांले बताउनु भयो। 
युवा व्यवसायी दिनेश गिरीले आध्यात्मिक महोत्सबले प्रवाशमा ठुलो सपना देखेर आएका नवआगन्तुकको लागि एउटा सुनौलो अवसर भएको र मानसिक तनाव व्यबस्थापनका निम्ति पनि यस्तो खालको महोत्सबले टेवा पुर्याउने बताउदै सबै जनालाई आ-आफ्नो ठाउबाट सहयोग गर्नुहुन अनुरोध समेत गर्नु भयो।
संस्थाको आफ्नै कार्यलय नहुदा बिभिन्न खाले समस्या स्पेनमा बसोवास गर्ने नेपालीहरुले भोग्दै आएको र कुनै पनि अकालमा मृत्यु भएका नेपालीहरुको लागि काजकिरिया थलो समेत नभएको हुदा श्रेष्ठको कार्यकालमा जसरी पनि नेपाल घर निर्माण अभियानलाई बिशेष महत्वको रुपमा हेरिएको छ।
संघका प्रवक्ता रमेश खनालले महोत्सवको मिति, स्थान र सञ्चालन विवरणसमेत सार्वजनिक गर्नुभयो।
महोत्सव आगामी अप्रिल ५ गतेदेखि सुरु हुने छ, प्रसिद्ध वाचक श्री दिनबन्धु पोखरेल दैनिक रूपमा श्रीमद्भागवत बौद्धिक कथा, रामकथा, भक्ति, आध्यात्मिक जीवनदर्शन तथा मानव जीवनका नैतिक मूल्य र धर्मसम्बन्धी विषयमा प्रवचन दिनेछन्। कार्यक्रममा पूजा–आराधना, भजन–कीर्तन, सत्संग, धार्मिक अनुष्ठान र सांस्कृतिक प्रस्तुतिहरू रहने जनाईएको छ।
पत्रकार सम्मेलनमा बिभिन्न सञ्चारमाध्यमका प्रतिनिधि, समाजसेवी र नेपाली समुदायका अगुवाहरूको उल्लेखनीय उपस्थिती रहेको थियो।
प्रकाशित मिति २०८२ चैत १६ गते सोमबार १२:५१