पर्वत — नेपाल पत्रकार महासंघको ७१औँ स्थापना दिवस पर्वतमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। दिवसको अवसरमा प्रदेश अस्पताल पर्वतमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरिएको छ।
कार्यक्रमका क्रममा अस्पतालमा उपचाररत १२ जना बिरामीलाई...
पर्वत — नेपाल पत्रकार महासंघको ७१औँ स्थापना दिवस पर्वतमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। दिवसको अवसरमा प्रदेश अस्पताल पर्वतमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरिएको छ।
कार्यक्रमका क्रममा अस्पतालमा उपचाररत १२ जना बिरामीलाई फलफूल वितरण गरिएको थियो। स्थापना दिवसको अवसरमा सामाजिक दायित्व पूरा गर्ने उद्देश्यले बिरामीहरूको स्वास्थ्यलाभको कामना गर्दै फलफूल वितरण तथा शुभकामना आदानप्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले पत्रकारहरू केवल जनतालाई सुसूचित गराउने माध्यम मात्र नभई मुलुक परिवर्तनका मुख्य हिस्सेदार पनि भएको बताए। उनले आवाजविहीनहरूको आवाजलाई मुखरित गर्दै सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा जोड दिन पत्रकारहरूलाई आग्रह गरे।
नगरप्रमुख तिवारीले पछिल्लो समय देखिएको आर्थिक मन्दीका कारण सञ्चार क्षेत्रमा पनि प्रत्यक्ष असर परेको उल्लेख गर्दै सञ्चारकर्मी र सञ्चार माध्यमको सबलीकरणका लागि राज्यका तीनै तहका सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारीले स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै नेपाली सञ्चार माध्यमको सबलीकरण र सुरक्षाका लागि वर्तमान सरकारले विशेष ध्यान दिनुपर्ने बताए। उनले स्वतन्त्र, मर्यादित र व्यावसायिक पत्रकारितामार्फत आमनागरिकलाई सुसूचित गर्दै समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेल, प्रदेश अस्पतालका अध्यक्ष याम परियार शिव, अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डिराज पौडेल, नेपाल पत्रकार महासंघ पर्वतका पूर्व अध्यक्ष ओमप्रसाद घायल ,नेपाल प्रेसत युनियनका अध्यक्ष उत्तम प्रसाद अधिकारी , लगायत पत्रकार महासंघका पदाधिकारी तथा सदस्यहरू र जिल्लामा क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो।
नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहसचिव विष्णु गौतमले गरेका थिए।