जिल्ला प्रहरी कार्यालय पर्वतले अपराधसम्बन्धी नक्साबाट जानकारी पाउने वेभ तयार पारेको छ । पर्वत जिल्लालाई लक्षित गरी बनाइएको यो नक्सामा जिल्लाका सातै स्थानीय तहमा घटेका घटनाहरुको बारेमा जानकारी पाउन सकिने छ ।
कुश्मा नगरपालिकाको सहयोगमा प्रहरीले जिल्लामा भएका घटनाहरु अनलाइनबाट नै थाहा पाउने गरी राख्नको लागि डिजिटल नक्सा तयार पारेको हो ।
जिल्लामा हुने हरेक घटनालाई विवरणसहित अनलाइनमा अपडेट गरिने र कुन क्षेत्र कुन अपराधमा बढी हुन्छ भनी थाहा पाउन सकिने डिएसी भुवनेश्वर तिवारीले बताए ।
पर्वत जिल्लाका सातै स्थानीय तहको बारेमा जानकारी दिने डिजिटल नक्साबाट वडा तहसम्मका घटनाका बारेमा जानकारी पाउन सकिनेछ ।
यसले जिल्लामा कस्तो प्रकारको अपराधका घटनाहरु कुन क्षेत्रमा बढि हुने रहेछन भन्ने बारेमा सचेत गराउन मद्दत पुग्नेछ प्रहरीको ठम्माई छ ।
नेपालमै पहिलो पटक यस्तो प्रणालीको विकास गरिएको इन्जिनियरहरुको दाबी छ । विदेशमा अपराधसम्बन्धी थापा पाउने डिजिटल वेभ भएपनि नेपालमा अझै विकास नभएको बताइएको छ ।
तीन वर्षको तुलनामा यो वर्ष अपराधका घटनाहरु बढी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतको तथ्याङकले देखाएको छ । आर्थिक वर्ष ०७३÷७४ मा १२९ मुद्धा दर्ता भएकोमा ०७४÷७५ मा १४७ र ०७५÷०७६ मा १४९ पुगेको प्रहरीको तथ्याङकले देखाएको छ । यो आवमा नयाँ प्रकृतिका अपराधका घटनाहरु देखा परेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति २०७५ चैत २५ गते सोमबार ०२:३६