राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वर्तमान सरकारलाई जनताले पहिलेको सरकालाई भन्दा बढी विश्वास गरेका कारण मागहरू पनि बढी रहेको बताएका छन् । पर्वतको कुस्मामा बुधवारदेखि सुरु भएको श्रीमद शिवपुरणा सामूहिक तुला दान, गुप्तेश्वर विराट कोटीहोम महायज्ञको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। ‘पहिलेका सरकारका पालामा जनताका मागहरू अहिलेका जस्ती बढी आउँदैनथे, अहिलेको सरकारले काम गर्न सक्छ भन्ने विश्वास मानेर नै जनताका माग धेरै आएका हुन्।’ सभाध्यक्ष तिमिल्सिनाले भने, ‘सबै मागहरू एकै पटक पूरा गर्न त सकिँदैन, आज एक ठाउँका माग पूरा हुँदा भोलि अर्को ठाउँका माग पूरा हुन्छन, हामीले धैर्य गर्नुसक्नुपर्छ।’ देशको विकास र सामाजिक न्यायका लागि संविधानमा लेखेर मात्र नहुने भन्दै उनले त्यसका लागि राष्ट्रसँग क्षमता पनि चाहिने उल्लेख गरे। ‘राष्ट्रमा हुने हरेक चीजको सबै सरकारहरूले न्यायपूर्ण वितरण गर्नुपर्छ’ उनले भने। पर्वत जिल्ला सहित गण्डकी प्रदेशकै विकास र आम्दानीका लागि कास्की, पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा रहेका पर्यटकीय क्षेत्रहरूको विकास गर्नु आवश्यक रहेको अध्यक्ष तिमिल्सिनाले बताए।

शालिग्राम शिला पाइने विश्वको एक मात्र नदी कालीगण्डकी भएको र यही नदीको किनारका ठाउँ ठाउँमा पर्यटक गन्तव्य रहेकाले यस क्षेत्रमा घुम्न आउने पर्यटकहरूको बसाई लम्ब्याउन सक्नुपर्ने आवश्यकता रहेको उनको भनाई छ। ‘प्रकृतिले दिएका स्रोत र साधनको सदुपयोग गर्नुपर्छ, नभए पर्यटक तान्नका लागि मानवले निर्माण गरेर भए पनि आकर्षणका केन्द्र बनाउनुपर्छ’ उनले भने।’ सोही कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सांसद पदम गिरीले नेपाल धर्म र संस्कृतिका रूपमा धनी रहेकोले तिनको सदुपयोग गरेर पर्यटकहरूलाई आकर्षण गर्नसक्नुपर्ने बताए। कोटीहोम मेलामा जाती, धर्म, वर्ग र लिङ्गका आधारमा भेदभाव नभएका कारण पनि यो कार्यक्रमले धार्मिक सहिष्णुताको विकासमा टेवा पु¥याउने उनको भनाई छ। यस्तै, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले कोटीहोम लगाएर विश्वकै अग्लो शिव र पार्वतीको मूर्ती निर्माण कार्यको डिपिआर निर्माण गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। पर्वतमा रहेका विभिन्न गुफाहरूको संरक्षण, विकास र प्रचारका लागि प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गरेको बताउँदै उनले पर्वत पार्वती जन्मेको जिल्ला हो भनेर चिनाउन सक्नु नै पर्वतवासीको पहिचान हुने तर्क गरे।
यस्तो हुन्छ कोटीहोम र तुला दान
कोटीहोम आयोजक समितिका वरिष्ठ उपाध्यक्ष केदारनाथ शर्माका अनुसार पर्वतमा आयोजना गरिएको कोटीहोम अभूतपूर्व भएको दाबी गरिएको छ। कोटीहोम र तुलादान सजिलै आयोजना गर्न नसकिने र आयोजना भएमा पनि व्यक्तिगत रूपमा वा सानो एकाइमा गर्ने गरिन्छ। तर पर्वतमा आयोजना गरिएको कोटीहोम र तुला दान सामूहिक आयोजना हो। तुलादानबाट १० करोड रुपैयाँख सङ्कलन गर्ने लक्ष्य राखिएको छ। उक्त रकमले शिव र पार्वतीको मूर्ती विश्वमै अग्लो बनाउन लागिएको छ। यस्तै, झन्डै ३ हजार भन्दा बढी व्यक्तिले तुलादानका लागि फाराम भरेका छन् भने संस्थागत सदस्य बन्नका लागि बुधवारसम्म १ लाख रुपैयाँ सहयोग गरेर १ सय ४५ जनाले फाराम भरेका छन्। आयोजकका अनुसार तुला दान गर्नेले मात्र कोटीहोमन गर्न पाउने छन्। पण्डितहरूका अनुसार तुलादानलाई जीवनकै उत्कृष्ट र महत्त्वपूर्ण दान मान्ने गरिएको छ। तुलादानमा सहभागी हुनेहरूले आपmनो तौल बराबरको सिक्का पैसा मेलामा दान गर्नुपर्नेछ। तौल अनुसारको पैसा दान गर्ने क्षमता नभएमा आँपूmले सक्ने जति मात्र दान गर्न सकिने पनि आयोजकले जनाएको छ। मेलामा १ करोड होमन गरिने र ५१ सय जनाले तुला दान गर्ने मेला आयोजक मूल समितिको संयोजक पृथ्वीनारायण शर्माले बताए। महादेवकी पत्नी पार्वती पर्वतको पाङमा जन्मिएको, गुप्तेश्वर गुफामा तपस्या गरेको र पातीखोलामा स्नान गरेको भन्ने धार्मिक किंवदन्ती पर्वतमा प्रचलित छ। यही कारण पनि पर्वतलाई पार्वती जन्मिएको ठाउँको रूपमा परिचित गराएर विश्वकै अग्लो शिव पार्वतीको मूर्ती निर्माण गर्न लागिएको शर्माको भनाई छ। 
सबै जात र धर्मका लागि हो तुला दान र कोटीहोम
कोटीहोम तथा तुला दान आयोजक मूल समितिका संयोजक पृथ्वीनारायण शर्माका अनुसार यो कोटीहोम र तुलादानमा जाती र धर्मका आधारमा कसैलाई पनि भेदभाव गरिएको छैन। ‘तुला दान र कोटीहोम जुन धर्म मान्ने व्यक्तिले गरे पनि धर्म हुन्छ, त्यसैले यसमा जाती र धर्मको आधारमा कुनै रोकावट छैन।’ उनले भने, ‘तुलादान र कोटीहोमन गर्नका लागि फाराम भर्नेमा दलित समुदायका व्यक्तिहरू पनि हुनुहुन्छ, हिन्दु धर्म मान्ने मात्र होइन बौद्ध र मुस्लिम धर्म मान्ने समुदायका व्यक्तिहरूले पनि फाराम भर्नुभएको छ।’ धर्मले सबै मानिसलाई भगवानको अंशका रूपमा मानेको भए पनि धर्मको बारेमा गलत प्रचार गर्नेहरूले जात, रङ्ग, धर्म आदिका आधारमा छुट्ट्याएर त्यसको दोष भगवानलाई दिएको उनको भनाई छ। कुनै पनि धर्मका ग्रन्थहरूमा जातीय विभेद गर्ने कुराहरू उल्लेख नगरिएको भए पनि समाजमा धर्मलाई नै आधार मानेर छुवाछुत गर्ने गरिएको शर्माले बताए। ‘धर्मग्रन्थहरूमा अजातिय विभेदको कुरा छैन, यही कुलाई चिर्न र बुझाउन पनि यो मेला उपयोगी हुन्छ भन्ने विश्वास गरेका छौँ।’

प्रकाशित मिति २०७६ जेठ १ गते बुधबार ०१:१९