४९ लाख भ्रष्टाचार काण्डमा प्रमुख सेनानी बर्खास्त

no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ जेठ १२ गते आईतबार ०९:२७

नेपाली सेनाको उदयपुरस्थित कालिसिद्धी गणका प्रमुख सेनानी केशवराज कार्की आर्थिक अनियमिततामा मुछिएपछि बर्खास्तीमा परेका छन् । जनरल समरी सैनिक अदालतले कार्कीलाई दोषी ठहर गर्दै सेवाबाट बर्खास्त गरेर ३ महिना कैद र अनियमितता भए बराबरको...

नेपाली सेनाको उदयपुरस्थित कालिसिद्धी गणका प्रमुख सेनानी केशवराज कार्की आर्थिक अनियमिततामा मुछिएपछि बर्खास्तीमा परेका छन् ।

जनरल समरी सैनिक अदालतले कार्कीलाई दोषी ठहर गर्दै सेवाबाट बर्खास्त गरेर ३ महिना कैद र अनियमितता भए बराबरको रकम फिर्ता गराउन शुक्रबार आदेश दिएको हो ।आदेशलगत्तै उनलाई केन्द्रीय कारागार (जगन्नाथदेवल) चलान गरिएको स्रोतले बतायो ।नेपाली सेनाको जंगीअड्डा स्रोतका अनुसार कार्कीले कालिसिद्धी गणमा रहँदा सरकारी कोषको रकम अनियमितता भन्दै वैशाख पहिलो साता उजुरी परेको थियो ।

उजुरीपछि गठन भएको ‘कोर्ट अफ इन्क्वाइरी’ले प्रमुख सेनानी कार्कीको कैफियत देखाउँदै ‘कोर्ट मार्सल’ का लागि सिफारिस गरेको थियो । जसको आधारमा २३ वैशाखमा समरी जनरल सैनिक अदालत गठन भएको थियो ।

अदालतले कार्कीलाई थुनामा राखेर कारबाही प्रक्रिया अघि बढाएको थियो । छानविनपछि प्रधानसेनापति पूर्णचन्द्र थापालाई निष्कर्ष सुनाइएको थियो ।थापाबाट अदालतको फैसला सदर भएपछि शुक्रबार आदेश सुनाइएको सैनिक स्रोतको दाबी छ ।

पुनरावेदन दर्ता गर्न सक्ने

समरी अदालतबाट दोषी ठहर भएका कार्कीले फैसलामाथि चित्त नबुझे विशेष अदालतमा पुनरावेदन दर्ता गर्न सक्छन् ।

सैनिक ऐन, २०६३ मा जनरल सैनिक अदालत र समरी जनरल सैनिक अदालतबाट फैसला वा अन्तिम आदेशमाथि चित्त नबुझे पीडित पक्षले विशेष अदालतमा पुनरावेदन दर्ता गर्न सक्ने प्रावधान छ । तर, फैसलाको ३५ दिनभित्र पुरावेदन दिइसक्नुपर्छ ।

यो पनि पढ्नुहोसअपराधमा संलग्न सैनिकमाथि कसरी हुन्छ अनुसन्धान ?

न्याय परिषद्को सिफारिसमा पुनरावेदन अदालतको न्यायाधीशको अध्यक्षतामा रक्षा मन्त्रालयका सचिव र सेनाको प्राड विवाकका प्रमुख सदस्य रहेको अदालतले पुनरावेदनमाथि सुनुवाइ गर्ने प्रावधान छ ।

जसमा आरोपितका पक्षमा बहस गर्न गैरसैनिक वकिलहरु उपस्थित हुनेछन् । सेनाको जनरल, समरी, जिल्ला लगायतका अदालतमा सैनिक वकिलहरुले पीडितको पक्षमा बहस गर्दै आएका छन् ।

सेनामा भ्रष्टाचारविरुद्ध शुन्य शहनशीलता

नेपाली सेनाको प्रधानसेनापतिमा थापा नियुक्त भएसँगै उनले संगठनभित्र हुनसक्ने भ्रष्टाचार र आर्थिक अनियमिततालाई नियन्त्रण गर्न शुन्य सहनशीलताको नीति अख्तियार गरेका छन् ।

थापाले बजेट विनियोजनलाई पारदर्शी बनाउँदै आवश्यकता र प्राथमिकताको आधारित बजेट विनियोजन गर्न र प्रभावकारी कार्यान्वयनका लागि बजेट आचारसंहिता, २०७५ र बजेट सम्बन्धी आन्तरिक निर्देशिका समेत लागू गराएका छन् ।

थापाले वैशाख पहिलो साता मात्र सैनिक अधिकारीलाई जिम्मेवार बनाउन सैनिक आचारसंहिता संग्रह जारी गरेका थिए ।

प्रकाशित मिति २०७६ जेठ १२ गते आईतबार ०९:२७
प्रतिक्रिया दिनुहोस