लुकका ज्येष्ठ नागरिक हाम्रा अमूल्य निधि हुन् । उनीहरुको सुरक्षा गर्नु हाम्रो कर्तव्य हो । नेपालको कानूनअनुसार ६० वर्षमाथिका नागरिकलाई ज्येष्ठ नागरिक मानिन्छ । नेपालमा यस्ता ज्येष्ठ नागरिकको जनसंख्या कूल जनसंख्याको ८.२६ प्रतिशत अर्थात् करिब ३० लाख छ ।
यी ज्येष्ठ नागरिकको पक्षमा काम गर्न नेपालका ख्यातिप्राप्त कलाकार मदनदास श्रेष्ठको नेतृत्वमा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ, नेपाल क्रियाशील छ । उहाँको सवल नेतृत्वमा हालै महासंघले कोरोना भाइरसको संक्रमणका बारेमा जारी गरेको विज्ञप्तिमा उल्लेखित विषय र यससम्बन्धी तथ्यहरुलाई उजागर गर्ने ध्येयले यो आलेख तयार गरेको छु ।
हाल विश्वभरि महामारीको रूपमा फैलिँदो कोरोना भाइरसको जोखिम तुलनात्मकरूपमा ६० वर्ष वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र मधुमेह, हृदय रोग एवं उच्च रक्तचापबाट पीडित मानिसलाई अझ बढी खतरनाक हुन सक्ने विभिन्न अध्ययनले जनाएको छ । यसर्थ, वर्तमान परिस्थितिमा ज्येष्ठ नागरिकले अपनाउनुपर्ने सतर्कता र जिम्मेवार व्यक्ति, परिवार, पदाधिकारी र निकायले ज्येष्ठ नागरिकहरूलाई उपलव्ध गराउनुपर्ने १० बूँदे ध्यानाकर्षण पत्र सार्वजनिक भएको छ । जुन यो अवस्थामा समग्र ज्येष्ठ नागरिकका लागि अति नै हितकारी देखिन्छ ।
राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ नेपालका तर्फबाट महासचिब छत्रबहादुर प्रधानले जारी गर्नुभएको अपिलको पहिलो बुँदामा आकस्मिक काममा बाहेक ज्येष्ठ नागरिकलाई घरबाट बाहिर नजान अपिल गरिएको छ । हाल सरकारबाट पनि लकडाउन गरिएकाले कानूनतः घरबाट बाहिर निस्कन मिल्दैन । तथापि अत्यावश्यक बस्तु र सेवा प्राप्तिका लागि घरबाट सबैभन्दा नजिकको पसलसम्म पुग्नुपर्ने हुन सक्छ । विशेष गरी ज्येष्ठ नागरिकको औषधि किन्नुपर्ने हुन सक्छ । यसै समयमा मासिक भत्तावापतको रकम बैंकबाट झिक्नुपर्ने हुन सक्छ । पात्रो हेरेर आइरहेका चाडपर्बमा पूजाआजा गर्नुपर्ने हुन सक्छ । तर, यी सबै काम हाललाई स्थगित गर्न आम ज्येष्ठ नागरिक आमाबुबामा सादर अनुरोध छ ।
साथै परिवारका सदस्यले ज्येष्ठ नागरिकलाई घर बाहिर जान नदिन र उहाँहरूको आवश्यकता सोधीबुझी कुनै झण्झट नमानी आवश्यक बस्तु र सेवाको आपूर्ति गरिदिन पनि अनुरोध छ ।
राष्ट्रिय ज्येष्ठ नागरिक महासंघबाट जारी अपिलको दोस्रो बूदामा सकेसम्म ज्येष्ठ नागरिकलाई छुटृै कोठामा राखी आवश्यक खानपिन, सरसफाईसहित नियमित औषधि सेवन गराई विशेष स्याहार सुसार गर्नुपर्छ भनिएको छ । आफूलाई जन्म दिने आमाबुबा, आदरणीय सासू ससुरा र आफ्ना अग्रज हजुरबुबा हजुरआमालाई माया गर्ने, सेवा गर्ने, आदर गर्ने सबैको इच्छा हुन्छ ।
यद्यपि दुःख लुकाएर लुक्दैन भन्छन्, कैयौं परिवारले एउटा वा दुईवटा कोठामा गुजारा चलाउनुपरेको अवस्था पनि छ । यस अवस्थामा घरपरिवारका सबैले कम्तिमा एक मिटरको दूरी कायम गर्नु बेश हुनेछ । घर भएकाले अपिलमा भनिएझै ज्येष्ठ नागरिकलाई छुट्टैै कोठा दिन र बिहानको चिया, पानी, औषधि, बिहानको खाजा, दिउसोको खाना, औषधि, दिउँसोको खाजा, रातिको खाना, औषधि, सुत्नुअघि दूध पिलाउने लगायतको समय तोकी ज्येष्ठ नागरिको स्याहार गर्नुपर्छ । प्रत्येक दिन उहाँहरूको कोठा सफा गर्ने, उहाँहरूलाई लुगा फेराउने, मुख धुन लगाउने, शरीर पुछ्ने, नङ काट्नेलगायतको सेवा गर्नुपर्छ ।
महासंघबाट जारी अपिलको तेस्रो बूँदामा संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकको विशेष संरक्षण गर्नुपर्छ भनिएकाले वर्तमान स्थितिमा ज्येष्ठ नागरिकलाई आवश्यक सर्जिकल मास्क, स्यानिटाइजर, हात धुने साबुनलगायतका सामग्री स्थानीय सरकारका निकाय पालिकाबाट उपलव्ध गराउन आग्रह गरिएको छ । यसका लागि नेपालमा गठन भएका ७५३ वटा पालिकाले यससम्बन्धी विशेष निर्णय गर्नुपर्छ । प्रत्येक वडाले यी सामग्री ज्येष्ठ नागरिकलाई घर घरमै पु¥याइदिनुपर्छ । घरपरिवारले यी सामग्रीको जोहो गर्नुपर्छ । घरमा यी सामाग्री भित्रिएपछि प्राथमिकताका साथ ज्येष्ठ नागरिकलाई उपलब्ध गराउनुपर्छ ।
सम्भव भएसम्म ज्येष्ठ नागरिकलाई कोठामै हात धुन धारा भएको बाल्टिनमा पानी, पानी थाप्ने बाटा र साबुन तथा स्यानिटाइजरको व्यबस्था गर्नुपर्छ । उहाँहरूलाई यी सामाग्रीको उपयोग गर्न र कसैसँग पनि बोल्नुपर्दा अनिवार्यरूपमा मास्क लगाउन उत्प्रेरित गर्नुपर्छ । घरपरिवारको मायांबाटै आम ज्येष्ठ नागरिकमा कुनैपनि रोगसँग मुकाविला गर्ने र सधै स्वस्थ्य रहने उत्साह प्राप्त भैरहने कुरा बुझ्न हामी कसैले पनि ढिला गर्नुहुदैन ।
महासंघका महासचिवले जारी गर्नुभएको अपिलको चौथो बूदा बृद्धाश्रमले पालना गर्नुपर्ने कुराहरूसंग सम्बन्धित छ । यस स्थितिमा सबै बृद्धाश्रमले आमा बुबालाई एकै ठाउमा राख्नुहुँदैन । उहाँहरूलाई अलग–अलग राख्नुपर्छ । यस्तो विषम परिस्थितिमा उहाँहरूलाई आपसी भेला हुन दिनुहुँदैन । उहाँहरूले नियमितरूपमा गरी आउनु भएको भजन कीर्तन पनि हालका लागि स्थगित गर्नुपर्छ । यदि सामूहिक रूपमा योगा गर्ने गरिएको भए, सोसमेत बन्द गर्नुपर्छ । यी कार्य ज्येष्ठ नागरिकलाई आ–आफ्नै कोठमा गर्न आग्रह गर्नुपर्छ ।
यस स्थितिमा बृद्धाश्रममा ज्येष्ठ नागरिकले प्रयोग गर्ने थाल, कचौरा, गिलास, चम्चा जस्ता सामाग्री संभव भएसम्म व्यक्तिलाई छुट्टाछुट्टै उपलव्ध गराउनु बेश हुनेछ । वृद्धाश्रमका भान्छे, सहयोगीहरू, स्याहारकर्ताहरू सबैले अनिवार्यरूपमा हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, सधैं मास्क लगाउने गर्नुपर्छ । खाना खुवाउँदा समूहमा होइन, एक्लाएक्लै कोठामा खुवाउनुपर्छ । यदि कुनै सहयोगी कर्मचारी वा स्वयंसेवकमा कुनै पनि प्रकारको संक्रमणको आशंका भएमा निजलाई तत्कालै सेवा दिने कामबाट अलग गर्नुपर्छ ।
ज्येष्ठ नागरिकको हितमा जारी वक्तव्यको पाँचौं बुँदामा ज्येष्ठ नागरिकको नियमित चेकजाँच गर्न सुझाइएको छ । यसअनुसार बृद्धाश्रममा बस्नुभएका ज्येष्ठ नागरिकको नजिकको अस्पताल वा स्वास्थ्य चौकीले नियमित चेकजाँच गर्नुपर्छ । यसका लागि पालिकाले आवश्यक समन्वय गर्नुपर्छ । स्वास्थ्यकर्मीहरूले नियमितरूपमा उपकरणसहित ज्येष्ठ नागरिकको स्वस्थ्य परीक्षण गर्ने, कुनै कुराको आशंका भए प्रयोगशालामा जाँच्ने नमूना संकलन गर्ने , आवश्यक औषधि र ढाढस दिँदा ज्येष्ठ नागरिकहरू सदैव उच्च मनोवलमा रहन मद्दत मिल्छ । हामी सबै बृद्धाश्रम सञ्चालकको ध्येय पनि यही हो ।
महासंघले जारी गरेको अपिलको छैठौं बुँदामा ज्येष्ठ नागरिकलाई रुघा, खोकीबाट जोगाउन चिसोबाट बचाउनुपर्छ भनिएको छ । यसका लागि हाम्रो घरेलु औषधिकारूपमा परिचित तातोपानी पिउने, अदुवा बेसारपानी नियमित पिउने, न्यायो लुगा लगाउने लगायतको काम गर्नुपर्छ ।
किसानले बाहिरी तापक्रमबाट जोगाउन टनेलभित्र बेमौसमी हरियो तरकारीको खेती गर्छन् र लाभ लिन्छन् । सडक विभागका कर्मचारीले चिसो बढी हुने समयमा सडक किनारमा रोपिएका बिरुवालाई विशेष प्रकारले ढाकछोप गर्छन् । यसरी ती बिरुवा हुर्काउँछन् र ती ठूला रुखमा परिणत हुन्छन् । ती रुखले भविश्यमा हरित सडकको पहिचान बनाउँछन् । मीनपचासमा माछा पनि दूलोबाट बाहिर निस्किँदैन भनिन्छ । यही रितले हामीले हाम्रा आमाबुबा, हजुरबुबा हजुरआमाको सुरक्षा गर्नुपर्छ ।
हाल कोरोना भाइरलको त्रास विश्वव्यापीरूपमा फैलिएको छ । यसर्थ महासंघले अपिलको सातौं बुँदामा उच्च ज्वरो आउने, स्वास फोर्न गाह्रो हुनेजस्ता लक्षण देखिएमा तत्कालै अस्पतालमा सम्पर्क गर्न अपिल गरेको छ । यसको पालना गर्नुपर्छ । तर, सामान्य सिजन अनुसारको रुधाखोकी लागेमा वा सामान्य विसञ्चो भएमा शंका र हल्लाको भरमा अनावश्यक त्रास पालेर अस्पतालमा भीड हुनेगरी दौडन नहुने कुरामा पनि महासंघले ज्येष्ठ नागरिकहरूलाई सहज गराएको छ ।
यस स्थितिमा आम आमाबुबाले घरबाट बाहिर ननिस्किने र अनावश्यक रूपमा कुनै पनि व्यक्तिको सम्पर्कमा नरहने नै संक्रमणबाट जोगिन उत्तम उपाय हो ।
संक्रमणसंग जुध्न स्वस्थ्य हुन जरुरी छ । यसका लागि नियमित औषधि सेवन गर्नुपर्छ । आफ्नो नियमित खानपानमा पूर्ण अनुशासन कायम गर्नुपर्छ । नियमित तातोपानी पिउनुपर्छ । आफूले सक्ने गरी नियमित व्यायाम र योगा गर्नुपर्छ । कुनै पनि किसिमले चिन्तित हुनुहुँदैन । सधैं खुसी भैरहन ज्येष्ठ नागरिकमा अनुरोध छ ।
महासंघले जारी गरेको अपिलको आठौं बुँदामा संक्रमित ज्येष्ठ नागरिकको उपचार र हेरचाहमा प्राथमिकता दिई विशेष व्यवस्था मिलाउनुपर्छ भनिएको छ । हालसम्म नेपालमा जति व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ, यी तीनैजना युवाहरू हुन् । एकजना युवा चीनबाट आएको र संक्रमित भएकोमा निको भएर घर फर्किसकेका छन् । यसरी नेपालमा हामीले अधैर्य हुने, आत्तिने, डराउने अवस्था छैन । तर, यस संक्रमणसँग जोगिन स्वयंले कठोर अनुशासनमा रहन भने जरुरी छ । शत्रुलाई कहिल्यै पनि कमजोर ठान्नु हुँदैन ।
अपिलको नवौं बुँदामा सरकारले जारी गरेका आधिकारिक सूचनाअनुसार सतर्कताका विधि अपनाउन अनुरोध गरिएको छ । यस्तो समयमा अनावश्यक हल्ला गर्ने, अफवाह फैलाउने, त्रास मच्चाउने काम हुन सक्छ । यस्ता कुरामा हामी समयमै सजग हुनपर्छ । नेपालीमा एउटा उखान छ, कागले कान लग्यो भन्दैमा काननै नछामी कागको पछाडि दौडिने मुख्र्याइँ गर्नुहुँदैन । यसर्थ सरकारको आधिकारिक सूचनामा विश्वास गरेर मात्रै संकमणबाट जोगिन सकिन्छ ।
अन्त्यमा,
महासंघले जारी गरेको दशौं बुँदामा केही दिनका लागि ज्येष्ठ नागरिकका लागि सञ्चालित दिवा सेवा केन्द्रका सेवा बन्द गरौं भन्ने अपिल छ । यो त्यत्तिकै महत्वपूर्ण छ । हाल सरकारले हिँडडुलमै रोक लगाएको अबस्थामा यो संभव पनि छैन । जो ज्येष्ठ नागरिकहरूले दिवासेवा केन्द्रमा गएर आफूलाई भुलाउने, दिन सजिलै काट्ने गर्नुभएको थियो, यस समयमा धैर्य गरेर घरमै बस्नु होस् । अनावश्यक चिन्ता नलिनोस् । आफूले विगतमा अनुभव गरेका असल कुराहरू घर परिवारलाई सुनाउनुहोस् । तनावमा नबस्नोस्, राम्ररी निदाउनु होस् । सबै आमाबुबामा सुस्वास्थ्य र सुखी एबं खुसी रहन म पनि अपिल गर्दछु ।
प्रकाशित मिति २०७६ चैत १९ गते बुधबार ०६:००