कुश्मा नगरपालिकाका कर्मचारीको १० लाख विपद कोषमा सहयोग

कुश्मा नगरपालिकाका कर्मचारीको १० लाख  विपद कोषमा सहयोग

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ चैत २६ गते बुधबार ११:२७

 कुश्मा नगरपालिकाका कर्मचारीले  नगरपालिकाले स्थापना गरेको प्रकोप ब्यवस्थापन विकास कोषमा दश लाख रुपैयाँ सहयोग गरेका छन्  । उक्त रकम बराबरको चेक आज कुश्मा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत हरि पंगेनी मार्फत नगरप्रमुख रामचन्द्र...

 कुश्मा नगरपालिकाका कर्मचारीले  नगरपालिकाले स्थापना गरेको प्रकोप ब्यवस्थापन विकास कोषमा दश लाख रुपैयाँ सहयोग गरेका छन्  । उक्त रकम बराबरको चेक आज कुश्मा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत हरि पंगेनी मार्फत नगरप्रमुख रामचन्द्र जोशी र उपप्रमुख सिता काफ्ले लामिछाने सहित वडाध्यक्षको रोहोवरमा हस्तान्तरण गरिएको हो ।

नगरपालिकाका कर्मचारी मध्ये नेपाल सरकारका सचिव र सहसचिवले ७ दिनको तलव कोषका लागि प्रदान गरेका छन् । अधिकृत र उपसचिवले ५ दिन रकम कोषमा प्रदान गरेका छन् भने सहायक स्तरका कर्मचारीले तिन दिनको तलब कोषमा जम्मा गरिएको प्रमुख प्रशासकिय अधिकृत हरि पंगेनीले जानकारी दिनुभयो । कर्मचारीकोे बैठकले कोरोना भाइरस सङ्क्रमणलाई नियन्त्रण गर्ने उद्देश्यले नगरपालिकाद्वारा स्थापना गरेको कोषमा उक्त रकम जम्मा गर्ने निर्णय भए बमोजिम रकम सहयोग गरिएको पंगेनीको भनाई छ ।

कुश्मा नगरपालिकाले यसअघि सचिव र सहसचिवले पाँच दिन तलव बरावरको तलव दिने निर्णय गरेको थियो । त्यस्तै सहायक र अन्य स्तरका कर्मचारीको तिन दिनको तलव बरावरको परिश्रमिक दिने निर्णय गरेको थियो । नगरपालिकामा हाल १ सय ९५ जना कर्मचारी कार्यरत छन् । नगरपालिका भित्र कार्यरत शिक्षकहरुले समेत कोषमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

रकम बुझ्दै कुश्मा नगरपालिका मेयर रामचन्द्र जोशीले नगरपालिकाले स्थापना गरेको कोरोना विपद राहात तथा उद्धार कोषमा कर्मचारीले रकम सहयोग गरेकोमा आभार व्यक्त गर्नुभयो । मेयर जोशीले विषदमा सवैलाई सहयोग गर्न आह्वान गनुृभयो । यस महामारीको सन्दर्भमा नगरका कर्मचारीले कोषमा गरेको सहयोगले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार र विपन्न तथा न्यून आम्दानी भएका प्रभावित परिवारहरुको दैनिक आवश्यक एवं उपभोग्य सामग्रीहरुका निम्ति सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

नगरपालिकाकी उपमेयर सिता काफ्ले लामिछानेले विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रण तथा राहातका लागि कर्मचारीले गरेको सहयोगको उच्च प्रशंसा गर्नुभयो । उहाँले कोरोना भाइरसले निम्त्याएको महामारीलाई रोक्न सवै एक जुट भएर लाग्नुपर्र्नेेमा जोड दिनुभयो ।

यसैविच शिवालय बहुउद्देश्यीय सहकारी संस्थाले समेत ३० हजार १ सय २५ र सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले २१ हजार बरावरको चेक नगरपालिकाले प्रदान गरेको छ । कुश्मा नगरपालिकाले स्थापना गरेको राहात कोषमा करिव ६२ लाख रुपैयाँ जम्मा भईसकेको जनाईएको छ ।

प्रकाशित मिति २०७६ चैत २६ गते बुधबार ११:२७
प्रतिक्रिया दिनुहोस