ओली गुटबाट बाहिरिए पदम गिरी, कुनै पनि भेला र बैठकमा सहभागी नहुने

ओली गुटबाट बाहिरिए पदम गिरी, कुनै पनि भेला र बैठकमा सहभागी नहुने

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ साउन २५ गते आईतबार १२:११

केपी शर्मा ओली समुहका रुपमा चिनिएका पर्वतका प्रतिनिधिसभा सदस्य पदम गिरीले केपी ओली समुहको छुट्टै भेला तथा उक्त समुहको निर्देशन नमान्ने भएका छन् । पछिल्ला समयमा नेकपाका चर्किएको विवाद र त्यसको समधानको लागि आफू ओलीको गुटबाट भिन्न...

केपी शर्मा ओली समुहका रुपमा चिनिएका पर्वतका प्रतिनिधिसभा सदस्य पदम गिरीले केपी ओली समुहको छुट्टै भेला तथा उक्त समुहको निर्देशन नमान्ने भएका छन् । पछिल्ला समयमा नेकपाका चर्किएको विवाद र त्यसको समधानको लागि आफू ओलीको गुटबाट भिन्न रहेको भन्दै उनले सामुहिक हस्ताक्षर अभियानमा हस्ताक्षर गरेका छन् । ओलीबाट सरकार र पार्टी दुवै चल्न नसकेको र ओली गुटबन्दीमा अगाडी बढेको भन्दै राजीनामाको माग आइरहेको बेलामा नेता गिरी ओली पक्षको कुनै पनि भेला तथा बैठकमा सहभागी नहुने प्रतिबद्धता जनाएका हुन् ।
प्रतिनिधिसभाका बैठकमा सधै बोल्ने क्रममा ओली सरकारको पक्षमा वकालत गर्दै आएका गिरी एकाएक ओलीको कित्ताबाट बाहिरि निस्किएका हुन् । ओलीबाट पार्टी र सरकार नचल्ने भन्दै प्रचण्ड नेपालसहित बहुमत सदस्यले ओलीको राजीनामा माग गर्दै आइरहेका छन् ।

सत्तारुढ नेकपा सांसदहरुले सो पार्टीको माथिल्लो तहमा विध्वंशात्मक प्रकृतिको अन्तरबिरोध देखिएको बताएका छन्। उनीहरुले पार्टीको शीर्ष नेताहरुले त्यस्तो प्रवृत्ति रोक्नुपर्ने र उनीहरुले अहिलेको विवादको निकास दिन नसके आफूहरुले हस्तक्षेपकारी भूमिका खेल्ने बताएका छन्।

नेकपा सांसदहरुले आइतबार अपरान्ह सिंहदरवारमा पत्रकार सम्मेलनमा गर्दै शीर्ष नेतृत्वलाई विधि, पद्धति र प्रक्रियाबाट समाधान खोज्न आग्रह गरेका छन्।

‘यो पहिलो चरणको कार्यक्रम हो। हामीले अहिले पनि शीर्ष नेताहरुलाई विधि, पद्धति र प्रक्रियाबाट समाधान खोज्ने हो भने निकास निस्कन्छ भनेर भनेका र्छौ’ पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य समेत रहेका सांसद गणेश पहाडीले भने, ‘तर यो अन्तरबिरोध हल गर्न सक्नुभएन भने दोस्रो चरणमा सांसदले विकल्पसहितका प्रस्ताव ल्याएर हस्तक्षेप गर्नेछौं।’

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले नेतृत्व गरेका तीनै पक्षमा आवद्ध सांसदहरुले सिंहदरवारमा पत्रकार सम्मेलन गरेर सो धारणा सार्वजनिक गरेका हुन्।

सो अभियानमा संलग्न मध्येका एक विशाल भट्टराईले नेकपा विभाजनले देशमै संकट उत्पन्न हुने भन्दै त्यसलाई रोक्नका लागि सांसदहरुले हस्ताक्षर गरेको बताए ।

 

‘नेकपा विभाजन भए अहिले शासन प्रणाली, संविधान र गणतन्त्र समेत धरापमा पर्छ। पार्टी विभाजनका गतिविधिलाई रोक्नका लागि हस्ताक्षर गरेका हौं,’ भट्टराई भने। सो कार्यक्रममा सांसदहरु सुरेश राई, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, राजबहादुर बुढाले पनि धारणा राखेका थिए।


सत्तारुढ दल नेकपाभित्र बैशाख यता तीव्र शक्ति संघर्ष देखिएको छ। असार १० गते सुरु भएको स्थायी कमिटीको बैठक विवादका कारण असार २० यता बैठक बस्न सकेको छैन।

कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालको नेतृत्वमा पार्टीका बहुमत सदस्यले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले पार्टी र सरकार दुवै राम्रोसँग सञ्चालन नगरेको आरोप लगाउँदै राजीनामाको माग गरेका छन्। ओलीले भने आफूले दबाबमा पद नछाड्ने बताउँदै आएका छन् ।

हस्ताक्षरकर्ता सांसदहरुले तीन–बुँदै प्रतिबद्धता जारी गरेका छन्। जुन यस प्रकार छः

१। यसभन्दा अगाडी विगतमा हाम्रो पार्टीभित्र रहेका बिभिन्न बिचार समुहमा उपल्लो नेतृत्व तहहरुसंगै विभक्त भएतापनि तत्काललाई एकताको महाधिवेशनसम्म पार्टीको विधान र एकताको भावना समेटिने गरी हामी सिंगो देश र जनताको हितलाई केन्द्रमा राखेर राजनीतिक स्थायित्वलाई अझ सुदृढ पार्न पार्टीलाई एकताबद्ध बनाउने सामुहिक पहलकदमीमा हामी प्रतिबद्ध छौं।

२। पाटीमा हुने र देखिने सबै प्रकार र रुपका अन्तर्विरोधहरुलाई पार्टीको विचार सिद्धान्तले निर्देशित गरेको पद्धति र प्रणालीमा विधि प्रक्रियाद्वारा वस्तुवादी समाधानहरु  खोज्न हामी प्रतिवद्ध छौं।

३। पाटीको उपल्लो नेतृत्व तहमा देखिएको ध्वंसात्मक प्रकृतिका अन्तर्विरोधलाई मूर्त वा अमूर्त ढंगले, टेलिभिजन, अनलाईन, पत्रपत्रिका, सामजिक संजाल, सडक चोकहरु आदि माध्यमबाट सार्वजनिक ढंगले पक्षविपक्षमा अभिव्यक्ति दिनेमा सहभागि हुनेछैनौं र त्यस प्रकारका पार्टी एकता विरोधी क्रियाकलापलाई रोक्न र निस्तेज पार्न हामी प्रतिबद्ध छौ

प्रकाशित मिति २०७७ साउन २५ गते आईतबार १२:११
प्रतिक्रिया दिनुहोस