काठमाडौं । शुक्रबार कोभिड १९ संक्रमितको मृत्युको संख्याले रेकर्ड कायम गर्यो । एकै दिन ११ जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाए। संक्रमितको संख्या पनि ३० हजार पार गरेको छ।
तर सरकार भने अर्बौ बजेट खर्च गरिसकेको हिसाब किताब देखाउँदै बसेको छ। सरकारलाई कोरोनाबाट मान्छे मरुन कि बाँचुन भन्ने भन्दा पनि खर्चको चिन्ता छ। कागजमा १२ अर्बको खर्च देखाए पनि व्यवहारमा भने ५ अर्बको काम पनि भएको छैन। सबै रकम कमिसनमा गएको देखिन्छ।
सरकारका मान्छेका लागि आफ्ना कार्यकर्ता पोस्ने अवसर बनेको अहिलेको महामारी। स्वास्थ्य सामग्री खरीददेखि क्वारेन्टाइन निर्माणसम्म भएका अनियमितता यसका उदाहरण हुन्। एकातिर सरकार खर्च बढेको देखाइरहेको छ भने अर्कोतिर कोभिड १९ संक्रमण रोकथाम र नियन्त्रणमा असफल बन्दै गइरहको छ। ठाउँ ठाउँमा नागरिक उपचार नपाएर ज्यान गुमाइरहेका छन्।
क्वारेन्टाइन, आइसोलेसन, भेन्टिलेटर सुविधा पर्याप्त छैन। सरकार सत्ताको लुछाचुँडीमा व्यस्त छ। तै पनि १२ अर्ब खर्च भएको हिसाब निकालेको छ। कामै नगरी १२ अर्ब कसरी खर्च भयो भन्ने प्रश्न अहिले उठ्न थालेको छ। पत्रकार शिव दाहालले प्रश्न गरेका छन्, ‘सरकारले कोरोना नियन्त्रणका नाममा हालसम्म ११ अर्ब ९८ करोड ३१ लाख ८० हजार मात्रै खर्च गरेको हिसाव सार्वजनिक गरेछ।
झण्डै १२ अर्ब संक्रमण नियन्त्रण भन्दा बढदो क्रममा हुनु चाँही आश्चर्य नै त होला नि!’ उनले भनेजस्तै नियन्त्रणका लागि १२ अर्ब खर्च गर्दा नियन्त्रण हुनुको साटो बढ्नु आश्चर्यजनक नै हो।


प्रकाशित मिति २०७७ भदौ ६ गते शनिवार ०८:३९