काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल सकिएको छ। २०७३ भदौ २९ गते ४ वर्षका लागि विद्युत प्राधिकरणको कार्यकारी प्रमुख पदमा नियुक्त भएका घिसिङको कार्यकाल आइतबार सकिएको हो।
घिसिङको कार्यकाल सकिन लागेसँगै उनलाई प्राधिकरणकै कार्यकारी प्रमुखमा दोहोर्याउनुपर्ने सार्वजनिक दबाब बढेको छ। तर अहिलेसम्म सरकारले भने उनको पुनर्नियुक्तिको औपचारिक प्रस्ताव तयार गरेको छैन।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले घिसिङलाई दोस्रो कार्यकालका लागि नियुक्त गर्ने बताए पनि औपचारिक प्रस्ताव भने मन्त्रिपरिषदमा पठाएका छैनन्। उनले यसअघि गत सोमबार, बिहीबार, शुक्रबार र त्यति नभए आइतबार भए पनि प्रस्ताव लैजाने बताएका थिए।
को को छन् प्रतिस्पर्धामा?
घिसिङको कार्यकाल सकिने दिनसम्म पनि उनलाई विस्थापित गर्ने अनुहार सार्वजनिकरूपमा बाहिर आएको छैन। तर ऊर्जा क्षेत्रका जानकारहरूका अनुसार प्राधिकरणकै उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र विद्युत विकास विभागका महानिर्देशक निवनराज सिंहले लबिङ गरिरहेका छन्।
सिंह दोहोर्याएर विद्युत विकास विभागको महानिर्देशक भएका व्यक्ति हुन्। ऊर्जा मन्त्रालयका सहसचिव उनलाई मन्त्री पुनले नै दोस्रोपटक त्यहाँ पठाएका थिए।
प्रकाशित मिति २०७७ भदौ २८ गते आईतबार १२:३५