राष्ट्रिय क्रिकेट टोलीका बायाँहाते तीव्र गतिका बलर ललितसिंह भण्डारी खतरामुक्त भएका छन् ।
आइतबार राति ललित सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो । धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से.१ख १३२४ नम्बरको ट्रकले उनी सवार मोटरसाइकललाई ठक्कर दिँदा ललितको अवस्था गम्भीर बन्न पुगेकाे थियो ।
ललितसँगै पछाडि बसेका उनका नातेदार करन ठगुन्नाको अवस्था सामान्य छ । अचेत अवस्थामै ललितको प्रारम्भिक उपचार शुक्लाफाँटा क्लिनिकमा भएको थियो । त्यसपछि धनगढीको निसर्ग अस्पतालमा लगियो ।
त्यहाँ उपचार हुन नसकेपछि उनलाई राति नै नेपालगन्जको कोलहपुर शिक्षण अस्पतालमा रिफर गरिएको थियो ।
यदि कोहपुरमा ललितको उपचार हुन नसकेको खण्डमा उनलाई हेलिकाेप्टरबाटै काठमाडौंमा ल्याउने तयारी थियो । अहिले ललितलाई होस आएको र खतरामुक्त भएको चिकित्सकले बताएका छन् ।
दायाँहात, खुट्टा, टाउको र छातीमा चोट लागेको छ । हात र खुट्टाको शल्यक्रिया गर्नुपर्ने अवस्था छ । ललितको स्वास्थ्यमा सुधार आएका कारण उपचार कोहलपुमै हुनेछ ।
ललितको थप भिडियो एक्स रेको रिपोर्ट आउट बाँकी छ । त्यो रिपोर्टपछि मात्र उनको टाउको र छातीको अवस्था थाहा हुनेछ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले मध्यरातमै सामाजिक सञ्जालमा अलराउन्डर ललितको अवस्था खतरामुक्त र सामान्य रहेको जानकारी गराएका थिए ।
घरेलु फ्रेन्चाइज टी–२० क्रिकेट प्रतियोगिताका भरपर्दा खेलाडी ललितले २०१७ मा लिस्ट एमा युएईविरुद्ध डेब्यु गरेका हुन् ।
उनले २०१८ मा नेदरल्यान्डविरुद्ध एकदिवसीय खेलमा डेब्यु गर्दै दुई विकेट लिएका थिए ।
प्रकाशित मिति २०७७ भदौ २९ गते सोमबार ०७:१५