भक्तपुरमा २७ लाख ठगी गर्ने सिन्धुपाल्चाेकका ५ जना पक्राउ

भक्तपुरमा २७ लाख ठगी गर्ने सिन्धुपाल्चाेकका ५ जना पक्राउ

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज १० गते शनिवार ०१:४६

सस्तोमा अमेरिकन डलर दिने भनेर ठगी गर्दै हिँडेको अभियोगमा प्रहरीले भक्तपुरमा डलर, नेपाली रुपैयाँ र विभिन्न सामानसहित ५ जनालाई पक्राउ गरेको छ। स्थानीय व्यापारी, व्यवसायी तथा विदेशबाट फर्किएकालाई फोन गरेर आफूसँग प्रशस्त अमेरिकन...

सस्तोमा अमेरिकन डलर दिने भनेर ठगी गर्दै हिँडेको अभियोगमा प्रहरीले भक्तपुरमा डलर, नेपाली रुपैयाँ र विभिन्न सामानसहित ५ जनालाई पक्राउ गरेको छ।

स्थानीय व्यापारी, व्यवसायी तथा विदेशबाट फर्किएकालाई फोन गरेर आफूसँग प्रशस्त अमेरिकन डलर रहेको र सस्तोमा डलर साटिदिन्छु भन्दै डलर देखाएर नेपाली रुपैयाँ लुटपाट गर्ने ५ जनालाई शुक्रबार प्रहरीले भक्तपुरेको मध्यपुरथिमि नगरपालिका–९ बोडेबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ बस्ने ३६ वर्षीय खेलबहादुर तामाङ, ३३ वर्षीय रेलबहादुर तामाङ, बाह्रबिसे–६ घर भई हाल मध्यपुरठिमी–९ बोडे बस्ने ५६ वर्षीय श्यामबहादुर तामाङ, सोही ठाउँका २५ वर्षीय रामकृष्ण तामाङ र सोही ठाउँका ३२ वर्षीय कान्छी तामाङलाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुवास बुढाथोकीले जानकारी दिए।

सूर्यबिनायक नगरपालिका–२ बालकोटस्थित रोज भिलेज नजिकैबाट बिहीबार काठमाडौंको धापासी बस्ने एक व्यक्तिलाई अमेरिकन डलर देखाई ५ लाख लुटेर फरार भएपछि खोजी गर्ने क्रममा उनीहरूलाई प्रहरीले बोडेबाट पक्राउ गरेको हो।

प्रहरीले निजहरुका साथबाट नेपाली २ लाख ४२ हजार ९ सय ३५, विभिन्न कम्पनीका मोबाइल ५ थान, २ थान मोटरसाइकल, डलर भन्दै झुक्याउन तयार गरिएका २ बण्डल कागजका बिटा बरामद गरेको छ।

पक्राउ परेको गिरोहले गत साउन ८ गते मध्यपुरथिमि–९ बोडेमा तीन लाख, साउन १९ गते सोही नपा–५ बाट चार लाख, गत भदौ ३१ गते वडा नं २ बाट पाँच लाख, यही असोज ६ गते सोही नपा वडा नं ९ बोडेबाट नौ लाख ८० हजार, असोज ८ गते सूनपा–२ बालकोटबाट पाँच लाख गरेर २६ लाख ८० हजार भन्दाबढी रकम लुटपाट गरेको अनुसन्धानबाट खुलेको सूचना अधिकारी प्रहरी निरीक्षक बुढाथोकीले जानकारी दिए।

उक्त गिरोहका फरार अन्य व्यक्तिको खोजी जारी राख्दै प्रहरीले थप अनुसन्धान सुरु गरेको उनले ले जानकारी बताए।

प्रकाशित मिति २०७७ असोज १० गते शनिवार ०१:४६
प्रतिक्रिया दिनुहोस