ओली सरकारले चीनको लगानी भएको हिमालयलाई सुम्पियो एयरपोर्ट, सुरक्षामै खतरा, कर्मचारी आन्दोलित

ओली सरकारले चीनको लगानी भएको हिमालयलाई सुम्पियो एयरपोर्ट, सुरक्षामै खतरा, कर्मचारी आन्दोलित

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज १० गते शनिवार ०६:५७

काठमाडौं । केपी शर्मा ओलीको चीन मोह र यति कम्पनीप्रतिको मोहका बारेमा सर्वविदितै छ। अर्कोतिर प्रमुख प्रतिपक्षी कांग्रेसलाई राष्ट्रिय सम्पत्ति निजीकरण गरेको, सरकारी संस्थानहरु र कलकारखाना बेचेर सिध्याएको आरोप लगाउने गरेका छन्।...

काठमाडौं । केपी शर्मा ओलीको चीन मोह र यति कम्पनीप्रतिको मोहका बारेमा सर्वविदितै छ।

अर्कोतिर प्रमुख प्रतिपक्षी कांग्रेसलाई राष्ट्रिय सम्पत्ति निजीकरण गरेको, सरकारी संस्थानहरु र कलकारखाना बेचेर सिध्याएको आरोप लगाउने गरेका छन्। तत्कालिन सभापति गिरिजा प्रसाद कोइरालाको खोइरो खन्दै हिँड्छन्।

तर आफ्नो हातमा डाडुपन्यु हुँदा भने निजीलाई सरकारीकरण गर्ने त कहाँ हो कहाँ भएकालाई पनि धमाधम व्यापारिक घरानाको जिम्मा लगाउने काम कम्युनिस्ट सरकारले गरिरहेको छ। वर्तमान प्रधानमन्त्री ओली सत्तामा आएपछि शेर्पाहरुको यति समूहलाई फलिफाप नै फलिफाप भएको छ। कार्यकर्ताहरुले कांग्रेसले राष्ट्रिय सम्पत्ति निजिकरण गर्योश भनेर आलोचना गर्दै हिँड्छन्।

तर आफ्नै नेतृत्वले देश नै यतिलाई सुम्पिन लागेको देखेका छैनन्। कार्यकालको तीन वर्ष सकिनै लाग्दा ओलीले यति ग्रुपलाई गोकर्ण रिसोर्ट भाडामा, नारायणीहिटी ठेक्का लगायतका आधा दर्जन सरकारी स्वामित्वमा रहेका भूमी र उड्डयनमा अधिकार दिएको छ। अहिले सरकारी स्वामित्वको नेपाल एयरलाइन्सलाई सुकाउने गरी त्रिभुवन विमानस्थलको सेल्फ ग्राउण्ड हेन्डलिङको जिम्मा पनि ओली सरकारले दिएको छ।

जहाज चढ्दा निजी एयरलाइन्सले महंगो भाडा लिँदै आएका छन्। घाटा खाएर भए पनि नेपाल एयरलाइन्सले सस्तोमा सेवा दिइरहेको छ। त्यहाँ घाटा भएको पैसा एयरलाइन्सले ग्राउण्ड हेन्डलिङबाट पूर्ति गर्दै आएको थियो। यसले जनता नै सस्तो सुविधा पाइरहेका थिए। तर अब चिनियाँहरुको समेत लगानी भएको हिमालय एयरलाइन्सलाई ग्राउण्ड हेन्डलिङको सुविधान दिएपछि एक न नेपाल एयरलाइन्सको आम्दानी सुकेको छ भने अर्कोतिर विमानस्थलमा चिनियाँहरुबाट सुरक्षा खतरा बढेको छ, किनकि अब हिमालय एयरलाइन्समार्फत चिनियाँहरु सिधा पहुँच विमानस्थलमा हुनेछ।

यसैबेला पूर्वसचिव भीम उपाध्यायले फेसबुकमा लेखेका छन्, ‘सरकारले त्रिभुवन विमानस्थलको अहिलेसम्म ह्याण्डलिङ गरिरहेको सरकारी ध्वजाबाहक नेपाल एयरलाइन्सबाट खोसेर यति ग्रुपको हिमालय एयरलाइन्सलाई दिने तयारी गरेको सूचना प्राप्त भएको छ । यति गरेपछि नेपाल वायुसेवा सोत्तर हुनेमा अब कुनै शंका बाँकी रहने छैन ।’ आन्तरिक वा बाह्य सबैतिरका उडानमा निरन्तरको घाटा बेहोर्दै आएको नेपाल बायुसेवाको एउटै देखाउने र गरिखाने बाटो यही ‘ग्राउण्ड हेन्डलिङ’ (भूमीस्थ प्रबन्ध) नै थियो । यसैका भरमा नेपाल बायुसेवाले वार्षिक झण्डै ४ अर्व रुपैंयाँ आम्दानी गर्दै आएको थियो ।

यसबाट झण्डै १५ प्रतिशत उड्यन प्राधिकरणले पनि कमाइ गरिरहेकै थियो । तर आफ्नो ठूलै सेयर रहेको हिमालय एयरलाइन्सका लागि एयरपोर्टमा ‘ग्राउण्ड हेन्डलिङ’को जिम्मेवारी फुत्काउन यति सफल भएको छ । एयरपोर्ट ग्राउण्ड हेन्डलिङको जिम्मा समेत यती ग्रुपलाई दिइनु नेपाल एयरलाइन्सलाई बन्द गराउने गम्भिर षड्यन्त्र भएको अधिकारिहरुले बताएका छन् । संचय कोष, नागरिक लगानी कोषसहित गरेर झण्डै ४६ अर्ब ऋणकर्जा रहेको र जहाज खरिदमैं वार्षिक ५ अर्ब रुपैयाँ ब्याज तिर्दै आएको नेपाल वायुसेवा निगमले ऋण प्रवाह सहज तुल्याउने नाममा सरकारसँग फेरि २० अर्ब रुपैयाँ लगानी गर्न माग गरिरहेका बेला वायुसेवाले आफ्नो नियमित कमाइको बाटो जानजानी बन्द गर्न चाहेको देखिन्छ ।

असोज ४ गतेका मितिमा प्राधिकरणबाट जारी भएको पत्रअनुसार, प्राधिकरणले भूमिस्थ सेवा सञ्चालन निर्देशिका २०७२ अनुसार विमानस्थलमा अन्तर्राष्ट्रिय वायुयानको सेल्फ ग्राउन्ड ह्यान्डलिङु प्रमाणपत्र दिएको जनाएको छ । पर्यटन मन्त्रालयका एक सहसचिवले दिएका जानकारीमा ‘सरकार–सरकार’ बिच भएको सहमतिअनुसार यसअघि थाइ एयरवेज र एयर इन्डियाले मात्रै काठमाडौं बिमानस्थलमा ‘ग्राउण्ड हेन्डलिङ’ जिम्मा पाउँदै आएका थिए । यो पनि ‘रेसिप्रोकल’ आधारमा नेपाल वायुसेवाले समेत बैंकक र दिल्लीमा ‘ग्राउण्ड हेन्डलिङ’ गर्न पाउने भनिएपनि अहिले नेपालले देशबाहिर त्यस्तो सेवा संचालन गर्न सकेको छैन । सन् २०१६ देखि नेपालबाट अन्तर्राष्ट्रिय उडान सुरू गरेको हिमालय एयरलाइन्समा चिनीयाँ सेयर लगानी छ ।

हिमालयले आफ्ना चार जहाजबाट युएई, मलेसिया, साउदी अरेबिया, बंगलादेश र चीनमा उडान भरिरहेको छ । आश्चर्य यो छ कि ग्राउण्ड हेन्डलिङका लागि गत भदौ ३१ मा मात्रै प्राधिकरणमा निवेदन दिएको हिमालय एयरलाइन्सले ४ दिनकै अन्तरमा ग्राउण्ड हेन्डलिङको अख्तियारी पाएको छ । जबकि फ्लाइ दुबइ र कतार एयरवेजले वर्षौदेखि ग्राउण्ड हेन्डलिङका लागि आवेदन दिएर अनुमती पर्खिरहेका छन् । प्राधिकरणका एक अधिकारीका अनुसार पर्यटन मन्त्री योगेश भट्टराई र हिमालय एयरलाइन्स यती समूहका आधिकारिक एजेन्टबिचको आन्तरिक छलफलपछि मन्त्रीस्तरीय निर्णयबाट यो अनुमती प्रदान गरिएको छ ।

ग्राउण्ड हेन्डलिङ संचालनसम्वन्धि निर्देशिकाअनुसार, दैनिक कम्तिमा ५ वटा नियमित उडान भर्ने वायुसेवा कम्पनीलाई यस्तो ग्राउण्ड हेन्डलिङ अनुमती दिन सकिने भनिएको छ । तर, हिमालय एयरलाइन्समा यो क्राइटेरिया पनि पुरा भएको देखिन्न । यो एयरलाइन्सले दैनिक सालाखाला मुस्किलले तीन उडान भर्दै आएको छ । ‘यति सऊहले आफ्नो पहुँचको जरो प्रधानमन्त्री केपी ओलीसँग मात्र होइन पुरै मन्त्रिमण्डलमा फैलाएको छ र यो प्रकारणमा करोडौं रुपैंयाको आर्थिक चलखेल भएको आशंका बढेको छ,’ प्राधिकरणका एक अधिकृतले भने । नेपाल वायुसेवाले आफ्ना ७ सय कर्मचारीको ३ सिफ्ट कामको तालिकाका भरमा २५ भन्दा बढि अन्तर्राष्ट्रिय उडानको ग्राउण्ड हेन्डलिङ गर्दै आएका थिए ।

उडान सञ्चालन गर्दा त्यसमा आउने तथा जाने यात्रुका लागि बोर्डिङ पास जारी गर्ने, जहाजसम्म यात्रु लिनका लागि, ब्यागेज तथा कार्गो ओसारपसार, क्याटरिङ, इन्धन, एयरक्राफ्ट सफाइ, एयरसाइड व्यवस्थापन लगायतका सेवा दिने यो कामलाई जिम्मेवारिका आधारमा सबैभन्दा संवेदनशिल मान्ने गरिन्छ । यहि कामलाई ग्राउण्ड हेन्डलिङ भनेर चिन्निछ । ‘यस्तै हो भने दिनहुँ डुब्ने क्रममा रहेको नेपाल वायुसेवालाई सिधै यती ग्रुपले संचालन गर्नेछ भनेर निजीकरण गरिन सक्ने स्थिती उब्जिएको छ,’ती अधिकृतले भने । पर्यटन मन्त्रीको तजबिजीमा भएको ग्राउण्ड हेन्डलिङ सम्बन्धी यो निर्णयको नेपाल वायुसेवा निगम कर्मचारी संघले कडा विरोध जनाइसकेको छ ।

‘ग्राउन्ड हेन्डलिङ सेवालाई विदेशी लगानीमा संचालित बिमानसेवा कम्पनीलाई दिइनुले काल पल्केको प्रमाणित गर्दछ’ भन्दै संघले यस्तो गलत कार्यमा संलग्न कर्मचारीमाथि छानविन र कारवाही हुनुपर्ने भन्दै माग अघि सारेको छ । यदि हिमालय एयरलाइन्सले यो अधिकार पूर्ण रुपमा पायो भने ग्राउण्डमा काम गर्ने नेपाल एयरलाइन्स कम से काम आधा कर्मचारी बेरोजगार बन्ने छन् । स्मरण रहोस्, प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय ध्वजा बाहक विमान छोडेर प्रियपात्र रहेको यति ग्रुप र हिमालय एयरलाइन्सको यहि उडान सेवाबाट उनी आफू डेढ वर्षअघि चीनको औपचारिक भ्रमणमा बेइजिङ पुगेका थिए । जसको निकै आलोचना भनेको थियो ।

प्रकाशित मिति २०७७ असोज १० गते शनिवार ०६:५७
प्रतिक्रिया दिनुहोस