काठमाडौं। चीनले एकतर्फी रुपमा भवन बनाएको हुम्लाको लाप्चा क्षेत्रको स्थलगत अध्ययनका लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले स्थलगत अध्ययन टोली सीमातर्फ पठाएको छ।
नाम्खा गाउँपालिका ६ लिमीस्थित लाप्चा क्षेत्रको लोलुङजङमा चिनियाँ पक्षले आफ्नो भूमि दावी गर्दै ९ वटा भवन बनाएपछि त्यसको निरीक्षण तथा अध्ययनका लागि कर्णाली प्रदेशका प्रतिपक्षी नेता जीवनबहादुर शाहीको नेतृत्वमा बुधवार टोली त्यसतर्फ प्रस्थान गरेको हो।
हुम्लााबाट निर्वाचित कांग्रेस सांसद रंगमती शाहीले चीनको बलमा टिकिरहेको केपी शर्मा ओली सरकारप्रति आफूहरुको भरोसा नभएको भन्दै कांग्रेसको आफ्नै टोली स्थगत निरीक्षणमा गएको बताइन्।
उनले सिडिओको टोलीले ल्याएको प्रतिवेदनलाई मान्न नसकिने बताइन्। चीनले जोगाइदिएको सरकार चिनियाँले भूमि मिच्दा बोल्न डराएको उनको भनाई छ। सांसद शाहीले नेकपाले नेता कार्यकर्तालाई पनि बोल्न प्रतिबन्ध लगाएको भन्दै मिचिएको भूमि कुनै हालतमा नछोड्ने चेतावनी दिइन्।
कांग्रेसको टोली नक्सा बोकेर आज विहानै त्यसतर्फ लागेको हो। भोलि लाप्चा क्षेत्रमा पुग्नेछ। त्यहाँ टोलीले स्थानीयसँग भलाकुसारी समेत गर्नेछ। तथ्य र प्रमाणसहित अध्ययन गरेर फर्किनेछ।
प्रकाशित मिति २०७७ असोज १५ गते बिहिबार ०२:५८