मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा ६ महिनापछि निर्माण कार्य शुरु ,कुस्माको सडक चार लेन

मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा ६ महिनापछि निर्माण कार्य शुरु ,कुस्माको सडक चार लेन

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज १७ गते शनिवार ०८:१६

  पर्वत – कोभिड १९ को प्रकोप शुरु भएपछि रोकिएको मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा निर्माण कार्य सुचारु भएको छ ।  गएको चैत्रको दोस्रो साता देखि रोकिएको निर्माण कार्य असोजको दोस्रो साता देखि शुरु भएको हो । पर्वत खण्डाको निर्माणको...

 

पर्वत – कोभिड १९ को प्रकोप शुरु भएपछि रोकिएको मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा निर्माण कार्य सुचारु भएको छ ।  गएको चैत्रको दोस्रो साता देखि रोकिएको निर्माण कार्य असोजको दोस्रो साता देखि शुरु भएको हो ।

पर्वत खण्डाको निर्माणको जिम्मा लिएको लामा कन्स्ट्रक्सन कम्पनीले बर्षा रोकिएपछि निर्माण कार्य शुरु गरेको हो । भदौ महिनामा निर्माण कार्यको म्याद सकिने भएपनि अहिले सम्म ६० प्रतिशत भन्दा बढी मात्रै काम सकिएको छ । ‘लक डाउन लगायतका कारणले रोकिएको भए पनि अब काम तीब्र रुपमा अघि बढ्छ।’ निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर गोबिन्द भुसालले भन्नुभयो‘घाम लागेका कारण दशैपछि कालोपत्रेको काम पनि शुरु गर्छौ’

निर्माण कम्पनीका अनुसार आयोजनाको पर्वतको प्रवेशद्वार देखि मालढुंगा सम्मको २३ दशमलब ७६९ किलोमिटर स्तरउन्नतीको कम्पनीले ८३ करोड ९८ लाख रुपैयामा ठेक्का लिएको हो । पर्वत खण्डको २३ किलोमिटर मध्ये स्टक्चरको काम ९५ सकिएको छ ।

बागलुङ्गको सिमाना मालढुंगा देखि नयाँपुल सम्म करिब ५ किलोमिटर कालोपत्रे गरिएको छ । बाढी र पहिरोका कारण त्यो खण्डमा केही ठाउँमा सडक बिग्रेका कारण फेरी कालोपत्रे गर्नुपर्ने अबस्था छ । ‘अहिले बाँकी रहेको स्टक्चरको काम र बेस राखेको ठाउँमा बर्षाका कारण बिग्रेको खण्डलाई रेडि गराउने काम शुरु भएको छ ।’ प्रोजेक्ट म्यानेजर भुसालले भन्नुभयो ‘बाँकी काम पनि यसै आर्थिक बर्षमा सबै काम पुरा गर्ने तयारी सहित काम अघि बढाएका छौ’ पहिले जस्तो बिभिन्न कारणले काम रोकिने अबस्था नभएको र अब निरन्तर काम हुने भुसालको भनाई छ ।

मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख आशिष थापा मगरले काम शुरु गरेको ब्यबस्थापनलाई सहयोग गर्न थप जनशक्ति तथा स्रोत साधन समेत परिचालित भएकाले असार सम्ममा नै काम सकिने बिश्वास ब्यक्त गर्नुभयो । उहाँले निर्माण ब्यबसायीले असार सम्मको म्याद मागेका कारण पनि समयमा नै कालोपत्रेको काम सक्ने जानकारी दिनुभयो । ‘अब ब्यबस्थापनलाई सहयोग गर्न थप जनशक्ति र स्रोत साधन सहित काम अघि बढेको छ ।’ उहाँले भन्नुभयो ‘अब राम्रो संग काम अघि बढ्छ, तोकिएकै समयमा काम पुरा हुन्छ।’

रोकिएको काम शुरु भएपछि लोकमार्गको पर्वत खण्डमा पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी सहितको टोलीले अनुगमन गरेको छ । अनुगमनका क्रममा प्रजिअ रेग्मीले अब अहिले सम्म जे जस्तो अबस्था भएपनि अब बिना अबरोध काम सक्न निर्देशन दिनुभयो । उहाँले स्थानियस्तरमा देखिने समस्यालाई सहजीकरण गर्न प्रशासन तयार रहेको बताउँदै काम छिटो र गुणस्तरीय बनाउन आग्रह गर्नुभयो ।

कुस्माको सडक चार लेन

मध्यपहाडी लोकमार्गको पोखरा बागलुङ खण्ड स्तरोउन्नतीका क्रममा पर्वतको कुस्माबजार खण्डको सडक चार लेनको बन्ने भएको छ ।
कुस्माको खरेहा देखि डम्डारेखोला सम्मको झण्डै २ किलोमिटर खण्ड चार लेनको बन्ने आयोजना प्रमुख आशिष थापा मगरले बताउनुभयो ।

पहिले दुई लेनकै सडक बनाउने स्टिमेट भएपनि अहिले चार लेनको रुपमा स्तरउन्नती गर्ने निर्णय हुन लागेको छ । त्यसका लागि आबश्यक सबै तयारी सकिएका कारण चार लेनको सडक बन्ने कुरा पक्का भएको उहाँको भनाई छ। ‘अहिले सम्म चार लेन बन्ने कुरा अन्यौलामा नै थियो।’ उहाँले भन्नुभयो ‘भिओको काम अन्तिम चरणमा भएकाले अब ढुक्क हुने अबस्था छ।’ राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको आग्रहमा दुई लेनबाट चार लेनको सडक बनाउने पुरानो स्टिमेट र बजेट संसोधन गरिएको छ ।

मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो पोखरा बागलुङ्ग खण्ड लाई नयाँ स्वरुपमा ढाल्ने गरि मर्मत सम्भार तीब्र पारिरहेको छ । लोकमार्ग पुरै नयाँ स्वरुपमा बिस्तार र स्तरोन्नती गर्न चारवटा प्याकेज बनाएर काम भैरहेको छ । मध्यपहाडी सडक आयोजनाले दिएको जानकारी अनुसार तीन वर्ष पोखरा–बागलुङ खण्डको धेरैजसो भाग पुरै नयाँ बन्नेछ ।

२०५० सालमा निर्माण सम्पन्न भएको सडकका् धेरै खण्ड भत्केर सवारी चलाउन कठिन हुँदै गएको थियो भने सवारी साधनको चाप बढेका कारण साँघुरो सडकमा ठाउँठाउँमा जाम समेत हुने गरेको थियो । साँघुरो सडक र ठाउँठाउँमा भासिँदा सवारी संचालनमा समेत जोखिम थियो ।

प्रकाशित मिति २०७७ असोज १७ गते शनिवार ०८:१६
प्रतिक्रिया दिनुहोस