पर्वत प्रहरीको निशानामा फरार प्रतिबादी, धमाधम समातिए

पर्वत प्रहरीको निशानामा फरार प्रतिबादी, धमाधम समातिए

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज १८ गते आईतबार ०७:०६

कर्तब्य ज्यान मुद्दामा अदालतले दोषी ठहर गरेपनि १७ बर्ष देखि फरार सुचीमा रहेकी श्यामला क्षेत्रीलाई पर्वत प्रहरीले असोज १४ गते कुस्माबाट पक्राउ गर्‍यो । पर्वत जिल्लाको फलेबास नगरपालिकाकी ५० बर्षिया क्षेत्रीलाई कुस्माबजारमा...

कर्तब्य ज्यान मुद्दामा अदालतले दोषी ठहर गरेपनि १७ बर्ष देखि फरार सुचीमा रहेकी श्यामला क्षेत्रीलाई पर्वत प्रहरीले असोज १४ गते कुस्माबाट पक्राउ गर्‍यो ।

पर्वत जिल्लाको फलेबास नगरपालिकाकी ५० बर्षिया क्षेत्रीलाई कुस्माबजारमा लुकिछपि बसेको अबस्थामा प्रहरीले पक्रेको हो ।
सर्वोच्च अदालतले २०६० सालमा नै दोषी ठहर गरेपनि पक्राउ पर्न नसकेकी क्षेत्रीले २ बर्ष ५ महिना ५ दिन सजाय भुक्तान गर्न बाँकी भएपनि पक्राउ परेकी थिइनन । सवारी ज्यान मुद्दामा अदालतबाट २०६७ सालामा दोषी ठहर भएका मोदी गाउँपालिका ६ तिलहारका ३५ बर्षिय दिपेन्द्र सुनार पनि १० बर्षपछि पक्राउ परे । पर्वत जिल्ला अदालतबाट १ बर्ष ११ महिना २ दिन सजाय पाएका सुनारलाई प्रहरीले असोज १२ गते पक्राउ गरेको छ ।


अदालतबाट दोषी ठहर भएपनि लुकिछिपी बस्दै आएका क्षेत्री र सुनार जस्तै जस्तै लामो समय देखि फरार रहेका प्रतिबादीहरुलाई पर्वत प्रहरीले पक्राउ गर्न थालेको छ । पर्वत प्रहरीले दुई हप्ताको अवधीमा १८ जना फरार रहेका प्रतिबादीहरुलाई पक्राउ सकेको छ । बैकिङ्ग कसुरमा उच्च अदालत तुलसीपुर, मुकाम बुटवलबाट ब २०७६ बैषाख ८ मा गरेको फैसलाबाट दोषी ठहर भएका पर्वतको जलजला गाउँपालिका वडा नं २ का ३० बर्षिय कृष्णबहादुर कार्कीलाई पनि उनै घरबाट पक्राउ गरेको छ । बुटवलबाट घरमा आई लुकिछिपी बसेको अबस्थामा कार्कीलाई पक्राउ गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्वतको मुद्दा शाखाका प्रमुख प्रहरी नायब निरीक्षक मोहन खड्काका अनुसार जुवा मुद्दामा सजाय पाएर फरार सुचीमा रहेका ६ जना पक्राउ परेका छन भने कर्तब्य ज्यान मुद्दामा फरार सुचीमा रहेका २ जना पक्राउ परेका छन् । लागु औषध, बैकिङ्ग कसृुर, भ्रष्टचार मुद्दा, सवारी ज्यान र केही सार्वजनिक मुद्दाका १–१ जना, झुटो बिबरण पेश गरि नागरिकता लिएका २ जना तथा जालसाज मुद्दाका ३ जना प्रतिबादीहरु पक्राउ परिसकेका छन ।

पर्वत प्रहरीले यस अवधीमा पक्राउ गरेका फरार प्रतिबादीहरुबाट ५ बर्ष ३ महिना २ दिन कैद र ११ लाख ४८ हजार १ सय जरिवाना असुल गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रबक्ता प्रहरी निरीक्षक मनिष श्रेष्ठले बताउनुभयो ।

अदालतबाट दोषी ठहर भएपनि समाजमा लुकीछिपी बस्ने फरार प्रतिबादीहरु पक्राउ नपर्दा समाजमा अपराधका घटनाहरुले प्रोत्साहन पाउँदै आएका छन । साजय पाएका ब्यक्तिहरु खुल्ला हिड्दा निरपराध मानिसहरुको मनोवल समेत खस्कने गरेको छ। पर्वत जिल्लामा फरार प्रतिबादी पक्राउ गर्ने अभियानलाई निरन्तरता दिएको र यसमा सफलता मिल्दै गएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी बिश्वराज अधिकारीले बताउनुभयो ।न्युकालीगण्डकी दैनिकबाट

प्रकाशित मिति २०७७ असोज १८ गते आईतबार ०७:०६
प्रतिक्रिया दिनुहोस