काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय खुफिया एजेन्सी रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीचको भेटमा सत्तारुढ नेकपाले कडा आपत्ति जनाएको छ ।
अध्यक्ष प्रचण्डसहित बहुमत नेता कार्यकर्ताले ओलीको गुपचुप भेटलाई राष्ट्रघात नै भनेका छन् । एकातिर कालापानी लिपुलेक मुद्दामा भारतले वार्ता गर्न नमान्ने र अर्कोतिर रअ प्रमुख आउँदा रातारात ओलीले भेट्नु शंकास्पद रहेको नेकपाका नेताहरुको ठहर छ ।
प्रधानमन्त्रीको सचिवालयले भेटको पुष्टि गरेसँगै चौतर्फी सरकारको आलोचना भइरहेका बेला प्रचण्डसहित नेकपाका वरिष्ठ नेताद्वय माधव कुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि आपत्ति जनाएका हुन् । ओलीले पार्टी, परराष्ट्र मन्त्रालयलाई छलेर भेटेपछि नेताहरुले ओलीको भूमिकामाथि नै प्रश्न खडा गरेका छन् ।
ओली र गोयलबीच बुधवार राती बालुवाटारमा २ घण्टा वार्ता भएको थियो । प्रमका प्रेस सल्लाहकार सूर्य थापाले विज्ञप्ति जारी गरेर भनेका छन्, ‘उहाँ(रअ प्रमुख) भेटका लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकार निवास बालुवाटार आउनु भएको थियो।
भेटका क्रममा उहाँले नेपाल, भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरुको वार्ताद्वारा समाधान गर्ने र पारस्पारिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राख्नु भयो।’ प्रचण्डले भेटलाई सामान्य रुपमा लिन नसकिने बताएका छन् । उनी निकट एक नेताका अनुसार प्रचण्डले पार्टी एकता मजबुद बनाउन आजसम्म ओलीका गतिविधि सहेर बसेको अब उनका गतिविधिले सरकार नै छ कि छैन भन्ने स्थिति सिर्जना भएको भन्दै अब सरकारबिरुद्ध एक्सन लिनै पर्ने अवस्था आएको निष्कर्ष निकालेका छन् ।
वरिष्ठ नेताद्वय नेपाल र खनालले पनि प्रधानमन्त्रीको यस्तो गतिविधि राष्ट्रकै निम्ति घातक भएको विश्लेषण गरेका छन् । सरकार प्रमुखले रातारात जासुसी संस्थाका प्रमुखलाई बोलाएर गोप्य भेट गर्नु अत्यन्तै घातक भएको नेता नेपालको निष्कर्ष छ । ओलीबाट यस्ता कदम स्वीकार्य नहुने खनालको भनाई छ ।
नेकपा प्रवक्ता तथा पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठले भारतीय रअ प्रमुखको नेपाल भ्रमण शंकास्पद रहेको बताए । यो विषयमा गम्भीररुपमा परामर्श आवश्यक रहेको उनको भनाई छ । यसअघि नेकपा स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री भीम रावलले ट्वीटरमार्फत ओली र गोयलको भेटमा आपत्ति जनाएका थिए । उनले यसलाई आपत्तिजनक र कुटनीतिक मर्यादा विपरीत भनेका छन्
प्रकाशित मिति २०७७ कार्तिक ६ गते बिहिबार ०२:०१