पर्वत- पर्वत जिल्ला अस्पतालले उपचारका लागि सुबिधा थप्ने क्रममा पछिल्लो समय आईसियु, भेन्टिलेटर र अक्सिजन प्लान्ट थप गरेको छ ।
पर्वत अस्पतालले गण्डकी प्रदेश सरकारको सहयोगमा ३–३ बेड क्षमताको आइसियु र भेन्टिलेटर तथा अक्सिजन प्लान्ट स्थापना गरेको हो ।
पर्वत जिल्ला अस्पतालमा आइसियु, भेन्टिलेटर तथा अक्सिजन प्लान्ट स्थापना भएपछि पोखरा, काठमाडौँ बिरामी पठाउनुपर्ने अवस्थाको अन्त्य गर्न अस्पताल सफल हुँदै गएको अस्पताल ब्यबस्थापन समितिले जनाएको छ । ५– ५ बेडका भेन्टिलेटर र आइसियु बेड स्थापना गर्ने तयारी भएपनि तत्काल आवश्यक पर्दा ३–३ बेड सञ्चालनमा आइसकेको अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष गोबिन्द पहाडीले बताउनुभयो ।जिल्ला अस्पतालमा स्थापना भएको अक्सिजन जेनेरेसन प्लान्टबाट अक्सिजन उत्पादन गर्न थालिएको छ । गण्डकी प्रदेश सरकारको ६० लाख आर्थिक सहयोगमा प्लान्ट जडान गरिएको हो । अक्सिजन प्लान्टबाट उपकरण स्थापना गरी बुधबारदेखि अस्पताललाई आवश्यक पर्ने अक्सिजन उत्पादन शुरु गरिएको छ । ‘अब जिल्ला अस्पतालले अक्सिजनको अभावमा पोखरा, काठमाडौँ बिरामी पठाउनुपर्ने अवस्था आउँदैन ।’ उहाँले भन्नुभयो । १५ शैयाको पर्वत अस्पताललाई आवश्यक पर्ने र माग भएर आएमा थप अक्सिजन उत्पादन गर्न सक्ने क्षमता प्लान्टको छ ।
पहाडीले अक्सिजनको अभावमा अस्पतालले शल्यक्रिया समेत रोक्नु परेको स्मरण गराउँदै अक्सिजन ढुवानी गर्न समस्या पर्दा बिरामी अन्यत्र पठाउनुपर्ने बाध्यता रहेको बताउनुभयो । प्लान्टबाट उत्पादित अक्सिजन पाइपका माध्यमबाट सिधै शैयासम्म पु¥याउने व्यवस्था अस्पताले मिलाएको छ । अस्पतालमा विशेष गरी चिसोबाट उत्पन्न हुने छातीरोग, दमरोग, फोक्सोका बिरामी धेरै सेवा लिन आउने गर्दछन ।आफ्नै प्लान्टबाट अक्सिजन उत्पादन गरेसंगै यस्ता बिरामी तथा शल्यक्रिया गरेका बिरामीलाई ठूलो सहयोग पुग्ने उहाँको अपेक्षा रहेको छ । अस्पतालमा आइसियु र भेन्टिलेटरको सुबिधा समेत थप भएको छ । अस्पतालमा पहिलो चरणमा १० बेडमा अक्सिजन लिन सक्ने गरि पाईप लाईन जडान गरिएको जिल्ला अस्पताल पर्वतका प्रमुख डाक्टर शिशिर देबकोटाले बताउनुभयो ।
अहिले अस्पतालमा दैनिक ५ देखि ६ सिलिण्डर अक्सिजन खपत हुदै आएको उहाँले बताउनुभयो । एक सिलिण्डरमा १ सय लिटर अक्सिजन उत्पादन हुने र प्लान्टको उत्पादन क्षमता १६ सिलिण्डर सम्म रहेको उहाँको भनाई छ । विशेषगरी चिसोको समयमा अस्पतालमा अक्सिजनको अत्यधिक खपत हुने गरेको पनि उहाँले बताउनुभयो । पोखराबाट अक्सिजन ढुवानी गर्दा यसअघि अस्पतालले धेरै दुःख र सास्ती ब्योहोर्नु परेको थियो । देबकोटाका अनुसार अक्सिजन उत्पादन शुरु भएसँगै जतिसुकै जटिल प्रकारका बिरामीको शल्यक्रिया गर्न सहज हुने भएको छ ।
प्रकाशित मिति २०७७ कार्तिक ७ गते शुक्रबार ०१:४४