२३ कात्तिक– प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति, कोभिड–१९ को सम्बन्धमा सरकारले गरेका काम कारवाहीको अनुगमन गर्न गठित उपसमितिले आइतबार बागलुङमा कोभिड–१९ सम्बन्धि क्रियाकलापहरुको अनुगमन गरेको छ ।
जिल्ला संकट व्यवस्थापन समिति, स्थानीय तह र यहाँ रहेको धौलागिरी अस्पताल बागलुङले गरेका काम कारवाहीको विषयमा समितिले अनुगमन गरेको हो ।
प्रदेश नं. १, २ र बागमती प्रदेशको अनुगमन सकेर गण्डकीमा आएको समितिले अन्य प्रदेशको तुलनामा गण्डकीमा कोभिड–१९ बारे भएका काम सन्तोषजनक रहेको जनाएको छ । ‘धौलागिरी अस्पताल प्रवेशमा नै अर्कै आभाष भयो’ उपसमितिका संयोजक, प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले भने ‘यहाँ नीजि र सरकारी अस्पतालको अन्तर तोड्ने गरी काम भएको पाईयो ।’ श्रेष्ठले कोभिडको उपचारका क्रममा नीतिगत निर्णय र कार्यान्वयनको अवस्था खोज्न जिल्ला जिल्लामा आईपुगेको बताए ।
उनले यहाँ रहेका समस्या कोभिड–१९ उपचार तथा रोकथामका लागि आगामी योजनाका विषयमा सरकारलाई आवश्यक सुझावसहितको निर्देशन दिने बताए । अनुगमनका क्रममा धौलागिरी अस्पतालका अध्यक्ष केवी राना मगरले जनशक्ति र पूर्वाधार निर्माणमा भैरहेको ढिलासुस्तीका कारण नतिजा आउनेगरी काम गर्न नसकिएको बताए । उनले सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मी पठाउन र उपकरणको व्यवस्थापनमा नीतिगत सुधार गर्नुपर्ने सुझाव राखेका थिए ।
‘एउटा मेसिन किन्न किन्ने प्रक्रिया बुझन छ महिना लाग्छ, यसरी कसरी जनताले स्वास्थ्य सेवा पाउँछन् ?’ उनले भने ‘सक्नुहुन्छ जनताका प्रतिनिधिले यो विधि सुधार गर्न भन्नुस् ।’
अस्पतालका प्रमुख डा. शैलेन्द्र बिक पोखरेलले आँफुहरुले कोभिड र कोभिड नभएका बिरामी सबैलाई साबधानीका साथ उपचार सेवा दिईरहेको बताए ।
अस्पतालले हालसम्म कोभिड–१९ का बिरामीको उपचार र त्यसको प्रगतिको विषयमा विवरण पेश गरेको थियो । संघीय र प्रदेश सरकारका फरक फरक निर्णय तथा निर्देशनका कारण काम गर्न कठिन भएको गुनासो उनीहरुले संसदीय समितिलाई राखेका थिए ।
प्रकाशित मिति २०७७ कार्तिक २३ गते आईतबार ०२:३३