पर्वत अस्पतालमा आइसियु र भेन्टिलेटरको सुविधा

पर्वत अस्पतालमा आइसियु र भेन्टिलेटरको सुविधा

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ कार्तिक २५ गते मङ्गलबार ०२:०७

पर्वत, २५ कात्तिक – पर्वत अस्पतालमा आइसियु र भेन्टिलेटरको सुविधा सुरु भएको छ । अस्पतालको विकास र स्तरोन्नतिको लागि भौतिक पूर्वाधार निर्माणदेखि आन्तरिक जनशक्तिसमेत थपिँदै गएको बेलामा अब तीन ओटा आइसियु र तीन ओटा भेन्टिलेटरको पनि...

पर्वत, २५ कात्तिक – पर्वत अस्पतालमा आइसियु र भेन्टिलेटरको सुविधा सुरु भएको छ । अस्पतालको विकास र स्तरोन्नतिको लागि भौतिक पूर्वाधार निर्माणदेखि आन्तरिक जनशक्तिसमेत थपिँदै गएको बेलामा अब तीन ओटा आइसियु र तीन ओटा भेन्टिलेटरको पनि सुविधा थप भएको अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले बताए ।
गण्डकी प्रदेश सरकारले अस्पतालमा सेवा सुविधा थप गर्नको लागि दिएको १ करोड ६९ लाखको लगानीमा आइसियु र भेन्टिलेटर तयार पारिएको हो । ‘आइसियु र भेन्टिलेटरको सबै सेट अप पूरा भएको छ । अब बिरामी आएमा हामीले भर्ना गरेर उपचार गर्न सक्ने भएका छौँ ।’ अध्यक्ष पहाडीले भने, ‘फूल फेजमा सञ्चालन गर्नको लागि पर्याप्त जनशक्ति त हामीसँग छैन । तर तीन जना डाक्टर र तीन जना नर्सले पोखराबाट यसको सञ्चालनको लागि तालिम सकेर आउनुभएको छ ।’
अबको तीन महिनाभित्र पर्वत अस्पतालले ५० बेडको मान्यता पाउन लागेको जानकारी दिँदै उनले त्यो बेलामा सरकारले आवश्यक दरबन्दीको व्यवस्थापन गर्ने भएकोले तत्कालका लागि थोरै जनशक्तिबाटै सेवा सुरु गरिएको उनको भनाई छ । सरकारले मान्यता दिँदैमा सेवा र सुविधा नपाइने भएकोले मान्यतासँगै जनशक्तिको व्यवस्थापनमा पनि सरकारले ध्यान दिनुपर्ने पहाडीले बताए ।
अस्पतालमा रहेको जनशक्ति कम भएको बेलामा पनि आइसियु र भेन्टिलेटरको सेवा दिनु चुनौतीपूर्ण रहेको भएपनि नागरिकको सेवाको लागि खटेरै काम गर्ने भनी सेवा सुरु गरिएको उनको भनाई छ । आर्थिक रूपमा सम्पन्न भएकाहरूले पर्वत अस्पतालमा आइसियु र भेन्टिलेटरको सुविधा हुँदाहुँदै पोखरा र काठमाण्डौको अस्पतालमा जान सक्ने भएपनि आर्थिक समस्या रहेकाहरूको लागि भने जिल्लामा थपिएको यो सुविधा जीवन बचाउने आधार भन्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले बताए ।
उनले भने, ‘सेवा सञ्चालनको लागि हामी चिकित्सकहरू खट्छौँ भनेर नै जनशक्तिको अभावकै बिचमा पनि सेवा सुरु गरिएको छ ।’
दुर्घटनामा परेका तथास्वास्थ्यमा गम्भीर समस्या देखिएका बिरामीहरूलाई सदरमुकाम कुस्मा ल्याएपछि आइसियु र भेन्टिलेटरको खोजीमा पोखरा पठाउँदा कम्तीमा पनि ४÷५ घण्टासम्म लाग्दा ज्यानै जान सक्ने खतरा रहेकोमा अब भने त्यो खतरा टरेको अध्यक्ष पहाडीले बताए । सेवा सुरु गर्नु पूर्व प्रदेश सरकारले दिएको ६० लाख रुपैयाँबाट अस्पतालमै अक्सिजन प्लान्ट समेत निर्माण गरिएको छ ।

प्रकाशित मिति २०७७ कार्तिक २५ गते मङ्गलबार ०२:०७
प्रतिक्रिया दिनुहोस