नेपाल प्रिमियर लिगको जिम्मा भारतीय कम्पनीलाई दिने तयारी, पूर्वसिइओ भन्छिन्- गद्दारी भयो

नेपाल प्रिमियर लिगको जिम्मा भारतीय कम्पनीलाई दिने तयारी, पूर्वसिइओ भन्छिन्- गद्दारी भयो

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ मङ्सिर ४ गते बिहिबार ०२:०१

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० लिगको आयोजना अनुमति भारतीय कम्पनीलाई दिने प्रस्ताव गरेको छ। बुधबार भएको क्यानको भर्चुअल साधारणसभामा क्यानको बोर्डको तर्फबाट एनपिएल आयोजना अनुमति भारतीय कम्पनीलाई...

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० लिगको आयोजना अनुमति भारतीय कम्पनीलाई दिने प्रस्ताव गरेको छ।

बुधबार भएको क्यानको भर्चुअल साधारणसभामा क्यानको बोर्डको तर्फबाट एनपिएल आयोजना अनुमति भारतीय कम्पनीलाई दिने प्रस्ताव गरिएको हो।

साधारण सभामा भारतीय कम्पनी सेभेन—३ स्पोर्ट्स प्रालिलाई एनपिएलको आयोजना १० वर्षका लागि दिने प्रस्ताव आएको बारा जिल्ला क्रिकेट संघका प्रतिनिधि तथा नेपालका पूर्व कप्तान पवन अग्रवालले जानकारी दिए।

भारतीय कम्पनीलाई आयोजनाको मात्र ‘लाइसेन्स’ दिन लागेको बताउँदै एनपिएलको स्वामित्व भने क्यानलाई हुने क्यान पदाधिकारीको भनाइ छ।

‘लाइसेन्स’  मार्फत क्यानले १० वर्षमा ४० करोड रुपैयाँ भारतीय कम्पनीबाट लिनेछ। ४० करोड मध्ये पहिलो वर्ष साढे २ करोड रुपैयाँ उक्त कम्पनीले क्यानलाई बुझाउने प्रस्ताव छ।

यो प्रस्तावको विषयमा आफूले फरक मत राखेको अग्रवालले बताए। ‘एनपिएल अन्य कम्पनीलाई दिनु राम्रो होइन। क्यानले आफैले आयोजना गर्नु पर्छ भन्ने मेरो धाराणा हो,’ उनले भने,’एनपिएल आयोजना आफै गरेर नाफा वा घाटा बेहोर्न क्यानले जोखिम मोल्नु पर्छ।’

क्यानले अन्य कम्पनीलाई आयोजनाको जिम्मा दिनुको सट्टा निश्चित रकम दिएर व्यवस्थापनको मात्र जिम्मा दिनु पर्ने भन्दै बोर्डमा धाराणा राखेको उनले बताए।

नेपालको हितमा हुने गरी उक्त प्रस्ताव आएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दको भनाइ छ। चन्दका अनुसार एनपिएलको आयोजक क्यान नै हुने तर आयोजनका लाइसेन्स मात्र भारतीय कम्पनी दिइनेछ। यस्तै एनपिएलको आयोजनाको कर भारतीय कम्पनीले नेपालको कानुनअनुसार तिर्ने प्रस्ताव गरिएको छ।

बोर्डको तर्फबाट साधारणसभामा आएको प्रस्तावको प्रदेश एक र प्रदेश तीनका प्रतिनिधिले पनि विरोध गरेका थिए। प्रदेशतीनका अध्यक्ष तथा नेपाली टिमका पूर्व सदस्य राजु बस्न्यातले एनपिएल क्यानले नै आयोजना गर्नु पर्ने धाराणा राखेका थिए।

बुधबारको साधारण सभाले एनपिएल आयोजना गर्ने विषयमा केन्द्रीय कार्यसमितिलाई निर्णय गर्ने जिम्मा दिएको छ। अब क्यानको केन्द्रीय समितिले एनपिएल आयोजनाको विषयमा निर्णय गर्न सक्नेछ।

‘नेपाल क्रिकेट संघको स्वामित्वमा रहने गरी नेपाली क्रिकेटको हित अनुकुल रहनेगरी केन्द्रीय कार्यसमितिलाई नेपाल प्रिमियर लिगको कन्ट्र्याक्ट साइन प्रक्रिया अघि बढाउने जिम्मेवारी दिइएको छ,’ साधारण सभाको निर्णयमा भनिएको छ।

एनपिएल भारतीय कम्पनीलाई दिने प्रस्तावलाई कतिपयले विरोध गरेका छन्। क्यानकी पूर्व सिइओ भावना घिमिरेले भारतीय कम्पनीलाई  एनपिएल आयोजना गर्न दिने प्रस्तावलाई गद्दारी भनेकी छिन्।

उनले ट्विटरमा आफ्नो धाराणा लेख्दै भनेकी छिन्,’एनपिएल क्यानले नै गर्नुपर्छ यसमा दुविधा भएन। तर भारतीय कम्पनीलाई दिने प्रस्ताव गद्दारी हो। हामी सक्षम छौँ, राष्ट्रिय खेलकुद परिषदको ब्रोडकास्टिङ्ग राईटसको कथा नदोहोरियोस्।’

प्रकाशित मिति २०७७ मङ्सिर ४ गते बिहिबार ०२:०१
प्रतिक्रिया दिनुहोस