विकास निर्माणका योजना सम्झौता र कार्यान्वयनमा बागलुङका नगरपालिकाहरु पछाडि देखिएका छन् ।
समयमा योजना सम्झौता नगर्ने, स्टिमेट नसक्ने र काम ढीला थालेर अलपत्र पार्नेमा नगरपालिका देखिएका हुन् । बागलुङ नगरपालिकाको कार्यपालिका बैठक तीन महिनापछि बुधबार सम्पन्न हुँदा सदरमुकामकै नगरपालिका सबैभन्दा पछि परेको टिप्पणीसमेत भएको सहभागिले बताए ।
चालु आर्थिक वर्षको चार महिनासम्म नगरपालिकाले गरेको कामबाट जनता पनि सन्तुष्ट छैनन् । चार महिनासम्म न योजना सम्झौता भए, न विकास बजेट खर्च गर्ने कुनै कार्यक्रम नै भए । रातो किताब सार्वजनिक गर्न पनि तीन महिना खर्चेको नगरपालिकाले सार्वजनिक सुनुवाई, समयमा योजना सम्झौता र कार्यान्वयनमा पटक्कै ध्यान नदिएको उपभोक्ताबाटै टिप्पणी हुने गरेको छ ।
नगर तथा गाउ“परिषदबाट पारित नीति तथा कार्यक्रम र बजेटको गतिविधि सार्वजनिक गर्नुपर्ने कानूनी प्रावधानमा बागलुङ नगरपालिका मात्र हैन बागलुङका सबै नगरपालिका चुकेका छन् । तुलनात्मक रुपमा गाउँपालिकाहरु बढी सक्रिय देखिएका छन् । नेपालको संविधान २०७२ को धारा २२९ र स्थानीय सरकार संचालन ऐनको दफा ६९ ले संचित कोषको संचालन, व्यवस्थापन र प्रतिवेदन प्रणालीमा एकरुपता कायम गराउन समयमै रातो किताब प्रकशन गर्नुपर्ने प्रावधान पनि राखेको छ । तर पुस्तक प्रकाशन नगर्ने, ढीला गर्ने र समयमा योजना सम्झौता नगर्ने प्रवृत्ति वर्षेनी बढेको छ ।
नगरपालिकाहरु पारदर्शीसमेत छैनन् । बागलुङका चारवटै नगरपालिकाले गत आर्थिक वर्ष एउटा पनि सार्वजनिक सुनुवाइ गरेनन् । चालु वर्षका लागि भने योजना सम्झौता पनि भएका छैनन् । समयमा रातो किताब सार्वजनिक नगर्ने प्रवृत्ति पनि उत्तिकै छ । गत आर्थिक वर्ष ढोरपाटन नगरपालिकाले किताब प्रकाशित नगरेरै समय बितायो । चालु वर्ष पनि तयारी छैन । सदरमुकाम रहेको बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाले मंसिर लागिसक्दा एउटा पनि योजना सम्झौता गरेका छैनन् । अन्य पालिकामा छिटफुट सम्झौता थालिएका छन् ।
चालु वर्ष गर्नुपर्ने योजना झण्डै ५ सयबढी भएपनि बागलुङ नगरपालिकाले अझै योजना सम्झौता थालेको छैन । योजना शाखाका कर्मचारीले दुइचार वटा सम्झौता भएको बताए । जैमिनीमा ४ सय २० योजनामध्ये २ वटा ठेक्कामा दिएका योजना मात्रै सम्झौता भएका छन् । १ करोड २० लाखको विपन्न बस्ती निर्माण र २ करोडको जैमिनीधाम कुश्मीसेरा सडक स्तरोन्नतीको ठेक्का लगाइएको हो ।
नगरपालिकाहरुले ती योजनाको स्टिमेट पनि सकेका छैनन् । बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले यसअघि काममा ढिलाई भएको बताए । ‘म भर्खरै सरुवा भएर आएको हुँ, यसअघि कहिले कोरोना, कहिले वर्षात्को बाहनामा काम नभएको पाएँ’ रिजालले भने, ‘अब बल्ल प्रक्रिया थालेको छु ।’ रातो किताब पनि भर्खरै छापिएकोले बल्ल काम थाल्ने उनले बताए ।
सम्झौता ढिला हुँदा समयमा काम नसकिने समस्या सुल्झाउन रिजालले वडा तहमा पुगेर योजना सम्झौता गर्ने तयारी गरेको दाबी गरे । ‘एकदुइ सातामा वडाभरिका सबै योजनाको स्टिमेट बनाउने, त्यसपछि वडा कार्यालयमै पुगेर एकैदिन सम्झौता गर्ने भनेका छौं’ रिजालले भने, ‘अब कामले गति लिन्छ ।’ वर्षात्मा हतार हतार काम गर्ने प्रवृत्ति अन्त्य गर्ने उनको दाबी छ । सबै योजनामा उपभोक्ता समिति गठन गरिसक्न वडा अध्यक्षलाई फोनमार्फत आग्रह गरेको उनले बताए ।
जैमिनी नगरपालिकाका योजना अधिकृत प्रेम सापकोटाले दशै तिहारसम्म बजेट घट्न सक्ने भन्दै सम्झौता रोकेको बताए । ‘कोरोनाको कारणले बजेट घट्न सक्ने भएकोले सम्झौता गर्न नसकेको हो’ उनले भने, ‘अब धमाधम काम हुन्छ ।’ बजेट घट्न सक्ने आशंका गरेपनि नगरपालिकाले स्टिमेटसमेत गरेको छैन । बरु ठेक्कामा दिने दुई योजना भने सम्झौता भएको उनले बताए ।
गलकोट नगरपालिकाले ४ सयमध्ये २५ प्रतिशत सम्झौता गरिसकेको योजना अधिकृत तुलबहादुर बिकले बताए । बागलुङका ६ वटा गाउ“पालिकाले भने दशैदेखिनै योजना सम्झौता थालेका थिए । बागलुङ नगरपालिकामा असार मसान्तमा सम्झौता गरेर वर्षात्मा काम गर्ने प्रवृत्ती बढी छ । अघिल्लो वर्षको कार्यक्रमअन्र्तगत बागलुङ बजारमा मुख्यचोक सुधारको काम अझै सकिएको छैन । ट्राफिकचोक, समीक्षालय चोक, हल्लनचोक, शिवधाराचोकलगायतका दर्जन योजना अझै अलपत्र छन् ।
प्रकाशित मिति २०७७ मङ्सिर १२ गते शुक्रबार ०८:४६