अचानक शितल निवास पुगे ओली, पार्टी विभाजन सम्बन्धि अध्यादेश आजै ल्याउने तयारी !

अचानक शितल निवास पुगे ओली, पार्टी विभाजन सम्बन्धि अध्यादेश आजै ल्याउने तयारी !

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ मङ्सिर १८ गते बिहिबार १०:२०

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्। बालुवाटारबाट शीतल निवास पुगेर ओलीले राष्ट्रपति भण्डारीसँग संवाद गरेका हुन्। नेकपाको विवादलाई लिएर कार्यकारी अध्यक्ष पुष्पकमल...

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्। बालुवाटारबाट शीतल निवास पुगेर ओलीले राष्ट्रपति भण्डारीसँग संवाद गरेका हुन्। नेकपाको विवादलाई लिएर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितले आफूलाई घेराबन्दी गरेको पृष्ठभूमिमा ‌ओलीले राष्ट्रपतिलाई भेटेका हुन्।

ओलीको सचिवालयले यो भेटलाई नियमित भनेको छ। बहुमतका नाममा आफूविरुद्ध षडयन्त्र गरेको भन्दै ओली बुधबार बसेको सचिवालय बैठकमा सहभागी भएनन्। उनले महाधिवेशन नभएसम्म बहुमत-अल्पमतको खेल गर्न नहुने अडान लिएका छन्।  ओलीले राष्ट्रपतिलाई भेटेपछि आजै अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक पनि बस्ने भएको छ।  मन्त्रिपरिषद्का एजेन्डाबारेमा केही पनि सार्वजनिक गरिएको छैन।

अध्यादेशको त्रास देखाएर कोही डराउनेवाला छैन : माधव नेपाल

सत्तारुढ नेकपा फुटकै बाटोमा अग्रसर छ। तत्कालीन एमाले र माओवादी मिलेर बनेको पार्टी अहिले दुईधारमा विभाजन भएको छ। नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको विवादले पार्टी विभाजनको सम्मुखमा पुगेको हो ।

पार्टीको विवादमा वरिष्ठ नेता माधवकुमार नेपाल पनि कार्यकारी अध्यक्ष दाहालकै पक्षमा उत्रिएपछि ओली संकटमा छन् ।त्यसैले उनले संसद विघटन, संकटकाल, अध्यादेश ल्याएर पार्टी फुटाउने सम्भावना र सोही अनुसारका धम्की विपक्षी नेताहरुलाई दिन थालेका छन्।

ओलीको अभिव्यक्ति र व्यवहारलाई अन्य नेताहरुले खरो रुपमै टिप्पणी गरेका छन्। नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संसद विघटन, संकटकाल र अध्यादेशको धम्कीले कोही नडराउने अभिव्यक्ति दिएका छन्। त्रासबाट कोही पनि नडराउने बताएका छन्।

‘धम्की धमास देखाएर, पार्टी फोडिदिन्छु भनेर, संसद विघटन गरिदिन्छु भनेर, इमर्जेन्सी लगाइदिन्छु भनेर, अध्यादेश ल्याइदिन्छु भनेर तर्साएर कोही तर्सिनेवाला छैन,’ वरिष्ठ नेता नेपालले भने। फाउन्डेसन फर क्रिटिकल डिस्कोर्सले आयोजना गरेको वेबिनारमा बोल्दै नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नलिई उनीप्रति कटाक्ष गर्दै सो धारणा व्यक्त गरेका हुन्।

सत्तारुढ दलका शीर्ष नेताहरुबीच तिक्तता चुलिएका बेला नेपालले सो प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै धम्की नदिन चेतावनी दिएका हुन्। अल्पमतमा परेका प्रधानमन्त्री ओलीले चाल्नसक्ने विभिन्न विकल्प र संभावनामध्ये अध्यादेश ल्याएर विभाजनको परिस्थिति निर्माण गरी पार्टी फुटाउने, संसद भंग गर्ने, संकटकाल लगाउने लगायत संभावना रहेको अनुमान गरिएको छ।

नेपालले पार्टीकै अध्यक्षको कारण बैठक अनिश्तिकालसम्म लम्ब्याउन नसक्ने बताइएको छ। हिजोको बैठकमा ओली उपस्थित भएनन्। त्यसैले आगामी २० गतेसम्म उनलाई समय दिनको लागि र अन्तिम मौका दिनको लागि बैठक सारिएको नेकपाकै नेताहरु बताउँछन् ।

प्रकाशित मिति २०७७ मङ्सिर १८ गते बिहिबार १०:२०
प्रतिक्रिया दिनुहोस