बुधबार बोलाइएको सचिवालय बैठकबाट पार्टीभित्रको बहुमतीय अभ्यास औपचारिक रूपमै सुरु गर्ने तयारीसहित बालुवाटार पुगेका नेताहरू हच्किएपछि प्रधानमन्त्री ओलीले रणनीति बनाउन थप समय पाएका छन् ।
हामीसँग बहुमत छँदै छ, बैठकमा प्रधानमन्त्री उपस्थित भए पनि नभए पनि कात्तिक २२ यता सचिवालयमा आएका सबै लिखित दस्ताबेजलाई स्थायी कमिटीमा लैजाने र त्यहीँबाट छिनोफानो गर्ने पक्षमा थियौं,’ सचिवालयका एक सदस्यले कान्तिपुरसँग भने, ‘तर प्रचण्ड कमरेडले अधिकांश विषय प्रधानमन्त्रीसितै सम्बन्धित भएकाले उहाँ उपस्थित नहुँदासम्म बैठक बस्न नसकिने बताएपछि सार्न सहमत भएका हौं ।’
मंगलबार नै अनौपचारिक छलफल गरेपछि मात्रै औपचारिक बैठक राखौं भनेका प्रधानमन्त्री ओली बुधबार बैठकमा नआउने सम्भावना शतप्रतिशत नै थियो । उनले आफू बैठकमा सहभागी हुन नसक्ने खबर महासचिव विष्णु पौडेलमार्फत पठाएपछि अध्यक्ष दाहाल र पौडेलका बीचमा बैठक कक्षबाहिर केहीबेर खासखुस चल्यो ।
लगत्तै बैठक सुरु गरेका अध्यक्ष दाहालले प्रधानमन्त्री उपस्थित नभएसम्म बैठक बस्न नसकिने भन्दै थप संवादका लागि २० गतेसम्म बैठक रोक्न प्रस्ताव गरेका थिए । यो प्रस्ताव पारित भएलगत्तै पार्टीका सबै कमिटीमा अल्पमतमा रहेका प्रधानमन्त्री ओलीले संवाद, छलफल र रणनीतिका लागि ३ दिन समय पाएका छन् ।
यो बीचमा उनले के गर्लान् त रु ‘प्रधानमन्त्रीज्यूले अनौपचारिक छलफलका लागि मंगलबारकै सचिवालय बैठकमा पनि समय माग्नुभएको थियो,’ स्थायी कमिटी सदस्य सुवास नेम्वाङले भने, ‘उहाँले सहमतिका लागि जतिसक्दो बढी छलफल नै गर्नुहुन्छ, २० गतेसम्म यसै हुन्छ भनेर निकास निस्किएन भने बैठक पछि सारेर भए पनि सहमतिकै खोजी गरिनेछ ।’
तत्कालीन एमालेको नवौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएर यहाँसम्म आइपुग्दा प्रधानमन्त्री ओलीका लागि अहिले सबैभन्दा जटिल समय हो । आफ्नै पार्टीका अधिकतर ‘कमरेड’ हरूको घेराबन्दीमा परेका ओलीको पक्षमा यो समय छैन । त्यसैले उनी तीनरचारवटा विकल्प तयार पारेर बस्नेछन्, ओलीका कतिपय योजना पूर्वनिर्धारित पनि हुन् ।
उनले सचिवालय बैठकमा व्यक्त गरेका धारणा, लिखित दस्ताबेज र उनको संगतमा रहेका नेताहरूका कुराअनुसार ओलीको पहिलो विकल्प र प्रस्ताव सचिवालयमा पेस भएका सबै दस्ताबेज फिर्ता गराउने र भदौ २६ को स्थायी कमिटीमा भएका निर्णय कार्यान्वयनका लागि ती निर्णयहरूको पुनर्व्याख्यासहित अघि बढ्नु हुनेछ ।
त्यसका लागि प्रधानमन्त्री ओलीका तर्फबाट अर्का अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसित यो बीचमा घनीभूत छलफल हुन सक्छ ।सरकारका प्रवक्तासमेत रहेका केन्द्रीय कमिटी सदस्य पार्वत गुरुङ पनि छलफललाई व्यापक बनाएर सहमतिको दस्ताबेज ल्याउनुपर्नेमा जोड दिन्छन् ।
‘अहिले एकता नगर्दा ठूलो घाटा नेकपाका नेताहरूलाई नै हुन्छ, त्यसैले राष्ट्रिय एकताका साथ अघि बढ्नुको विकल्प छैन, यो उहाँहरूले बुझ्नुभएकै कुरा हो,’ उनले भने, ‘यो घडीमा आफ्नो गोडामा आफैंले बञ्चरो हान्ने काम त गर्नुहुन्न होला, सबै नेता सुझबुझपूर्ण तरिकाले नै गिभ एन्ड टेककै बाटोमा लाग्नु हुन्छ ।’
गुरुङले भनेको यो बाटोमा प्रधानमन्त्री एक्लै हिँडेर निष्कर्ष निस्किन सम्भव छैन । अध्यक्ष दाहाल र उनी पक्षीय नेताहरूले पनि ओलीको यो प्रस्ताव मान्नुपर्ने हुन्छ । कम्तीमा दाहाल त सहमत हुनैपर्छ । त्यसका लागि पनि ओली र उनीनिकटका नेताहरू दाहालसित फेरि केही सहमति गरेर जाने प्रस्ताव अघि सार्दैछन् ।
‘जस्तो कि महाधिवेशनपछि पार्टी र चुनावी सरकारको प्रधानमन्त्री दाहाल बन्ने गरी फेरि एक पटक लिखित सहमति गरौं भन्ने प्रस्ताव जान पनि सक्छ,’ओलीनिकट एक नेताले कान्तिपुरसँग भने, ‘माधव कमरेडसँगको संवादलाई पनि जारी राख्छौं ।’ तर बारम्बार सहमति गर्ने र कार्यान्वयन नगर्ने भएकाले प्रधानमन्त्री या अध्यक्ष एउटा पदबाट ओलीले स्वविवेकले नै राजीनामा दिनुपर्छ भन्ने धारणा दाहाल–नेपाल पक्षको छ ।
ध्यादेश, संसद विघटन र संकटकालको त्रास देखाएर कोही डराउनेवाला छैन : माधव नेपाल
नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संसद विघटन, संकटकाल र अध्यादेशको त्रासबाट कोही पनि नडराउने बताएका छन्। ‘धम्की धमास देखाएर, पार्टी फोडिदिन्छु भनेर, संसद विघटन गरिदिन्छु भनेर, इमर्जेन्सी लगाइदिन्छु भनेर, अध्यादेश ल्याइदिन्छु भनेर तर्साएर कोही तर्सिनेवाला छैन,’ नेता नेपालले भने।
फाउन्डेसन फर क्रिटिकल डिस्कोर्सले आयोजना गरेको वेबिनारमा बोल्दै नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नलिई उनीप्रति कटाक्ष गर्दै सो धारणा व्यक्त गरेका हुन्। सत्तारुढ दलका शीर्ष नेताहरुबीच तिक्तता चुलिएका बेला नेपालले सो प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै धम्की नदिन चेतावनी दिएका हुन्।
नेकपाका पार्टी कमिटीहरुमा अल्पमतमा परेका प्रधानमन्त्री ओलीले चाल्नसक्ने विभिन्न विकल्प र संभावनामध्ये अध्यादेश ल्याएर विभाजनको परिस्थिति निर्माण गरी पार्टी फुटाउने, संसद भंग गर्ने, संकटकाल लगाउने लगायत संभावना रहेको अनुमान गरिएको छ ।
सो कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले अनन्तकालसम्म पार्टीको बैठक लम्ब्याउन नसकिने पनि बताए । नेता नेपालले सधैँभर बैठक लब्म्याउँदा पार्टी र सरकार दुवै बदनाम भैरहेको र अहिलेको अवस्था कायम रहे पार्टी समाप्त हुने बताए । आज पनि बैठक बसेका थियो ।
पार्टी अध्यक्ष कमरेड व्यस्त हुनु भएकाले केही समय दिउँ भन्ने कुरा भयो । तर यो अनन्तकालसम्म लम्ब्याउने काम गर्नु हुदैन,’ नेता नेपालले भने, ‘सधैभरी लम्ब्याउँदै जादा पार्टी जनतामा बदनाम भैरहेको छ, सरकार अलोकप्रिय भैरहेको छ, पार्टी नामको चिज कागजमा सिमित छ। यो मृतप्रायः अवस्थामा पुगेको छ।’
उनले पार्टीमा मानिस संगठित नै हुन छाडेको, पार्टी कमिटी क्रियाशील नै हुन नसकेको बताए। ‘यस्तो अवस्था भयो भने हेर्दाहेर्दै पार्टी सकिन्छ,’ उनले चिन्ता व्यक्त गरे ।
बिहीबार दिउँसो भएको नेकपा सचिवालय बैठकमा अन्य काममा व्यस्त रहेको भन्दै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि शनिबार १ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ । बैठकले प्रधानमन्त्री ओलीसँग सम्बन्धित विषयमै छलफल गर्नुपर्ने भएकाले शनिबार हुने बैठकमा अनिवार्य उपस्थितिकालागि आग्रह गरेको छ।
प्रकाशित मिति २०७७ मङ्सिर १८ गते बिहिबार १०:३५