सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु बीच चर्को विवाद यथावत नै छ। त्यसो त यसअघिको विवादमा पनि प्रचण्ड-नेपालले दुवै पदबाट ओलीको राजीनामा मागेपनि पार्टी संकटमा पुग्ने देखिएपछि अध्यक्ष दाहाल पछि हटेका थिए।
नेपालको साथ पाइरहेका अध्यक्ष दाहाल प्रधानमन्त्री ओलीसँगको सहमतिमा ‘एक व्यक्ति, एक पद’को बटम लाइनबाट ब्याक भएका थिए। अध्यक्ष दाहालले त्यसबेला आफ्नो मुख्य बटमलाइनको बुँदालाई समावेश नगराएपछि नेपाल रुष्ट बनेका थिए ।
प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको सहमतिपछि बनेको कार्यदलको सुझावको आधारमा भदौ २६ गते बसेको स्थायी कमिटीको बैठकमा नेपाल पनि एक हदसम्म सहमत देखिएका थिए। तर, उनले बैठकमा ’पार्टीको विधानको धारा ४६९क० अनुसार सबै तहमा सबै व्यक्तिको हकमा ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ कार्यान्वयन गर्नुपर्छ। यसो गर्दा मात्रै विशाल पार्टीको काम सन्तुलन मिलेर धेरैले जिम्मेवारी पाउनुको साथै नेतृत्वको विकास हुन्छ’ भनेका थिए।
‘हामीले एकताको सन्देश दिने बेलामा पार्टीको साविक कमिटीमा रहेका कसैलाई पनि अपमान नहुने गरी कमिटी निर्माण गर्नुपर्छ। त्यसैले अहिलेलाई पार्टी सचिवालय र स्थायी कमिटीको सर्कुलर अनुसार साविक कमिटीका सिनियरहरूलाई राखेर कमिटी निर्माण गर्नुपर्छ’ त्यतिखेर उनले भनेका थिए, ‘अधिवेशनमा निश्चित विधि बनाएर प्रतिस्पर्धा हुने वातावरण निर्माण गरी योग्य र नयाँलाई पनि पार्टीको जिम्मेवारी दिने सुनिश्चित गर्नुपर्छ।’
पार्टीभित्रको विवाद समाधान गर्न प्रधानमन्त्री ओलीले एक पद छाड्नुपर्ने नेता नेपालनिकट स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य बताउँछिन् । ‘विवाद समाधानका लागि बैठकमा उहाँ ओली आउनु नै हुन्न। बैठक नराख्न मात्रै भन्नुहुन्छ। त्यसैले उहाँले एक पदबाट राजीनामा दिएमा समस्या समाधानतर्फ जान्छ’, उनले भनिन्, ‘उहाँको कार्यशैलीमा सुधार आउँदैन भने एक पद मात्रै होइन, दुवै पदबाट विदा हुनु सबैका लागि उपयुक्त हुन्छ।’
पार्टीभित्र एक व्यक्ति, एक पदको कुरा पार्टीभित्र बहस रहिरहेको स्थायी कमिटी सदस्य बेदुराम भुसाल बताउँछन्। ‘पार्टीभित्र बहसमा आएका छन्। त्यस विषयमा सचिवालय, स्थायी कमिटीले छलफल गरेर निर्णय गर्छ,’ उनले भने।
पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्नसके समस्या नआउने उनी बताउँछन्। पार्टीको विधानले तोके अनुसार समयमै बैठक बस्नसके पार्टीभित्र समस्या नआउने नेता नेपालले बताउँदै आइरहेका छन्। बैठकमा पर्याप्त छलफल गरेपछि व्यक्त विचारको आधारमा विधानअनुसार निर्णय गर्नुपर्नेमा उनको मत छ।
यता, नेता नेपाल निकट पार्टी विदेश विभाग उपप्रमुख तथा केन्द्रीय सदस्य विष्णु रिजाल पार्टी अहिलेसम्म पूरै नबिग्रिएको बताउँछन्। दुर्घटना नभएसम्म पार्टीमा कुनै क्षति नहुने उनको तर्क छ। पार्टीको समस्या समाधान गर्न अनेक विकल्प रहेको उनले बताए।
‘नेकपामा अझै पूरै बिग्रिहालेको छैन। डिलमा पुगे पनि दुर्घटना नभएसम्म क्षति भइहाल्दैन। सहमतिका अनेक बाटा र विकल्प छन्’, उनले भने, ‘पार्टी एकताको मर्म, जनतासँग गरेका वाचा, आफैँले निर्माण गरेको राजनीतिक प्रतिवेदन र विधान, युवा पुस्ताको अपेक्षा, देशको भविष्य र जनताको अपेक्षालाई अगाडि राख्दा समाधान असम्भव छैन ।
राष्ट्रपति भण्डारीलाई छुट्टाछुट्टै भेट
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार सत्तारुढ दल नेकपाका अध्यक्षद्वय प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाललाई राष्ट्रपति कार्यालयमा बोलाएर भेटेकी छन् । बिहान प्रधानमन्त्री ओलीलाई भेटेकी राष्ट्रपति भण्डारीले साँझ अर्का अध्यक्ष दाहालाई भेटेकी हुन् ।
शितल निवास स्रोतका अनुसार दाहाल साँझ ६ बजे शितल निवास पुगेका थिए । उनले राष्ट्रपति भण्डारीसँग ५० मिनेट कुराकानी गरेको स्रोतले बतायो । भेटमा राष्ट्रपतिले मिलेर जान दुवै अध्यक्षलाई आग्रह गरेको पनि स्रोतले बतायो ।
नेकपामा विवाद हुँदा सधै भण्डारीले नेताहरूलाई भेट्ने गरेकी छ्न् । त्यसबाट उनी विवादमा आउने गरेकी छन् । नेकपाभित्र आन्तरिक संकट गहिरिँदै गएपछि राष्ट्रपति भण्डारीले पुनस् नेकपाका शिर्ष तहका नेताहरूलाई भेटेकी हुन् ।
गत कात्तिक १८ मा पनि नेकपा विवाद चर्किएको बेला उपाध्यक्ष वामदेव गौतमले राष्ट्रपतिसँग भेटेका थिए । भेटपछि गौतमले पार्टी एकता बचाउन राष्ट्रपतिले आग्रह गरेको र आफूले सकारात्मक जवाफ दिएको बताएका थिए । सोमबार मात्रै उपप्रधानमन्त्रीसमेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलले राष्ट्रपति भण्डारीसँग करिब दुई घण्टा छलफल गरेका थिए ।
गत वर्ष मंसिर ४ मा त शीतलनिवासमा राष्ट्रपति भण्डारीको उपस्थितिमा ओली र दाहालबीच सरकार र पार्टी सञ्चालनको कार्यविभाजनमा सहमति भएको थियो ।
यस्तो छ प्रचण्ड-नेपाल पक्षको तयारी
सत्तारुढ नेकपामा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग सहमति नजुटेपछि अब बहुमतीय प्रक्रियाबाट अघि बढ्ने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षीय नेताहरुले बताएका छन्।
आफूसमेत सहभागी भई तय गरेको बुधबारको सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओली उपस्थित नभएपछि सचिवालयका ८ जना नेताहरुले उनलाई बैठकमा उपस्थित हुन तीन दिनको समय दिएका छन्।
यो तीन दिनको अवधिमा सहमतिको प्रयास गरिने र आगामी २० गतेको सचिवालय बैठकमा दुवै अध्यक्षका प्रतिवेदनमाथि छलफल गर्ने तयारीमा नेताहरु छन् । दुई अध्यक्षलाई सहमति गर्न समय दिइएको र सहमति कायम नभए २० गतेको बैठक बसेर प्रतिवेदनमाथि छलफल हुने सचिवालयका एक नेताले बताए।
‘हामी पर्सिसम्म सहमति जुटाएर दुवै अध्यक्षको उपस्थितिमा बैठकमा प्रतिवेदनमाथि छलफल गर्ने योजनामा छौं,’ सचिवालयका ती नेताले भने, ‘सहमति जुटेन र प्रधानमन्त्री हिजोको बैठकमा जस्तै आउनुभएन भने बैठक बस्छ र त्यसमा बहुमतले निर्णय गर्छ।’
नेकपाले २१ गते स्थायी कमिटीको बैठक बोलाएको छ। सचिवालय बैठकबाट दुवै प्रतिवेदन स्थायी कमिटी बैठकमा लगिने र त्यसमा छलफल हुने उनले बताए ।
‘स्थायी कमिटीले निर्णय गर्दैन, किनभने कानुन र संविधानले सचिवालय वा स्थायी कमिटीलाई चिन्दैन त्यही भएर केन्द्रीय कमिटीबाट मात्र निर्णय गर्नुपर्छ नत्र वैधानिकता हुँदैन, हामी वैधानिक निकायबाटै एउटा निर्णयमा पुग्नेछौं,’ उनले थपे।
बहुमत सचिवालयका नेताहरु यो पटक ओलीसँग कुनै हालतमा पछि हट्ने अवस्थामा नरहेको ती नेताले बताए।
प्रकाशित मिति २०७७ मङ्सिर १९ गते शुक्रबार ०७:५९