कन्जुमर इलेक्ट्रोनिक्स शो: किन हटाइयो महिला सेक्स टोय ?

कन्जुमर इलेक्ट्रोनिक्स शो: किन हटाइयो महिला सेक्स टोय ?

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ पुस ३० गते सोमबार ०८:०१

अमेरिकाको लस भेगासमा आयोजित सन् २०१९ को कन्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस) बाट महिलाका लागि डिजाइन गरिएको एउटा सेक्स टोयलाई प्रतिबन्धित गरिएको छ । इन्नोभेसन अवार्ड प्राप्त गरेसँगै सीईएसमा प्रदर्शनीका लागि आमन्त्रित भएको ओसे...

अमेरिकाको लस भेगासमा आयोजित सन् २०१९ को कन्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस) बाट महिलाका लागि डिजाइन गरिएको एउटा सेक्स टोयलाई प्रतिबन्धित गरिएको छ ।

इन्नोभेसन अवार्ड प्राप्त गरेसँगै सीईएसमा प्रदर्शनीका लागि आमन्त्रित भएको ओसे भाइब्रेटर नामक रोबोटिक सेक्स टोयलाई सीईएसको आयोजक कन्जुमर टेक्नोलोजी एसोसिएसनले प्रदर्शनीबाट हटाएको हो ।

लोरा डिकार्लो कम्पनीले निर्माण गरेको उक्त भाइब्रेटर अश्लील भएको र भुलवस त्यसलाई प्रदर्शनीमा समावेश गरिएकोमा पहिलो दिनमै हटाइएको आयोजकको भनाइ छ ।

आयोजकले भनेको छ, ‘यो प्रडक्ट हाम्रो विद्यमान कुनै पनि प्रडक्ट क्याटेगोरीमा पर्दैन । त्यसैले यो सामान स्वीकार्य हुँदैन ।’

आयोजकले यसका लागि निर्माता कम्पनीसँग माफी पनि मागेको छ ।

तर निर्माता कम्पनी लोरा डी कार्लोले भने सीईएस आयोजकले महिलामुखी धेरै विद्युतीय सामाग्री निषेध गरेको आरोप लगाएको छ ।

लोरा डी कार्लोका प्रमुख कार्यकारी लोरा ह्याडोकले सीईएस आयोजकले लंैगिक विभेद गरेको आरोप लगाएका छन् ।

कम्पनीका अनुसार आयोजकले महिलाका लागि बढी लक्षित गरिएको दुईवटा रोबोटिक भ्याकुम क्लिनर, रोबोटिक स्केटबोर्ड, चार प्रकारका बच्चाका खेलौना तथा सपिङमा सघाउने रोबोटलगायतका सामान पनि प्रदर्शनीमा सहभागी गराउन दिएन ।

प्रतिबन्धित गरिएको भाइब्रेटर रोबोटिक तथा ड्रोन क्याटेगोरीमा पर्ने दाबी उसको छ । ओरेगन स्टेट विश्वविद्यालयको रोबोटिक्स ल्याबसँगको सहयोगमा उक्त भाइब्रेटर निर्माण गरिएको र विभिन्न ८ वटा पेटेन्ट अधिकारका लागि पनि दाबी गरिएको कम्पनीको भनाइ छ ।

कम्पनीकी प्रमुख ह्याडोकका अनुसार आयोजकले पुरुषका लागि काम लाग्ने सेक्स रोबोट तथा भिआर पोर्नलाई भने प्रदर्शनीमा ठाउँ दिएको छ ।

समारोह स्थलबाट सेक्स भिडियो भर्चुअल रियालिटी पोर्न कक्षसम्मका लागि आगन्तुकलाई बसको व्यवस्था समेत गरिएको छ ।

सीईएसमा रोबोटिक भाइब्रेटरलाई प्रवेश नदिएपछि सोसल मिडियामा महिला अधिकारकर्मीहरु आक्रोसित बनेका छन् । ट्वीटरमा #CESGenderBias  ह्यासट्याग ट्रेण्डिङ बनेको छ ।

बीबीसी

प्रकाशित मिति २०७५ पुस ३० गते सोमबार ०८:०१
प्रतिक्रिया दिनुहोस