कोरोना संक्रमणको दोस्रो लहरबाट प्रदेश २ मा दिनहुँ सयौँको संख्यामा संक्रमित थपिँदै गएका छन् । मृत्यु हुनेको संख्यामा पनि दैनिक वृद्धि हुँदै गइरहेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश २ को ८ वटै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । दुई साताभन्दा लामो समयदेखि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण निम्न तथा मध्यम वर्गीय समुदाय नराम्ररी प्रभावित हुन थालेको छ ।
निषेधाज्ञाका कारण घर बाहिर गएर काम गर्न सक्ने अवस्था नरहेपछि मजदुर वर्गलाई दैनिक खर्च चलाउनसमेत समस्या हुन थालेको छ । अर्कोतिर, मन्दिर अगाडि बसेर भीख माग्ने र फोहोर सामग्री संकलन गर्दै कवाडखानामा बेचेर गुजारा चलाउँदै आएकालाई समेत यतिबेला निकै समस्या देखिएको छ । उनीरु रोगले भन्दा पनि भोकले मरिने चिन्तामा छन् ।
प्रदेश नम्बर २ को अस्थायीराजधानी जनकपुरधाम वडा नम्बर ७ मा जमिरिया देवी धर्मशालामा लामो समयदेखि कुष्ठ रोगीहरु बसोबास गर्दै आएका छन् । सो भवन कुष्ठ रोगीहरुकै लागि निर्माण गरिएको हो । विगत ४ दशकभन्दा लामो समयदेखि धनुषा जिल्लामा कुष्ठ रोगीलाई समाजबाट बहिष्कार गरिन्थ्यो । स्थानीय जमिरिया देवीले आफ्नो नाममा कुष्ठरोगीहरुकै लागि सो धर्मशाला निर्माण गरेको हो ।
उक्त धर्मशालालाई स्थानीयवासीले ‘कोढीया समाज’ पनि भन्ने गर्छन् । अहिले यो धर्मशालामा बालबालिकासहित करिब ३० जना बसोबास गर्दै आईरहेका छन् । उनीहरु सामान्य अवस्थामा भीख मागेर वा फोहोर संकलन गरेर कवाडखानामा बेच्दै जीविकोपार्जन गर्दै आए पनि निषेधाज्ञाका कारण हातमुख जोर्नकै लागि अहिले समस्यामा परेका छन् ।
प्रकाशित मिति २०७८ जेठ १ गते शनिवार ०९:३८