पर्वतको कुस्मा नगरपालिका वडा नं १४ आर्थरमा एकैरात आधा दर्जन घर तथा कार्यालयहरुमा चोरी भएको छ ।
आर्थरको ठाडस्वारा, पोखरीचौर, अँधेरीनेटा लगायतका ठाउँमा बुधबार राती वडा कार्यालय, बिद्यालय र निजी घरमा चोरी भएको हो ।
स्थानिय अमृत गुरुङ्गको घरबाट साढे १३ तोला सुन र १ लाख नगद रुपैया चोरी भएको छ । त्यसैगरी भीमबहादुर क्षेत्रीको पसलबाट ५ हजार ५ सय नगद चोरी भएको छ ।
चोरी गर्न पुगेको समुहले कुस्मा नगरपालिका वडा नं १४ को कार्यालय, पञ्चकोशी माबि र देबी मन्दिरमा समेत तोडफोड र चोरी गरेको छ । वडा, बिद्यालय र मन्दिरमा दराज तोडफोड गरिएको अबस्थामा भेटिएको वडा अध्यक्ष भीमप्रसाद गुरुङ्गले जानकारी दिनुभयो । दराजहरु तोडफोड गरिएको भएपनि अन्य सामाग्रीहरु भने लुटपाट नभएको अध्यक्ष गुरुङ्गले बताउनुभयो ।
यसैगरी अँधेरीनेटामा मेघनाथ पौडेल र खिमलाल पौडेलको घरमा पनि तोडफोड गरेको पाइएको छ । एक स्थानियबासीको घरबाट लोकल रक्सी समेत लगेको पाइएको छ ।
घटनापछि जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक राजेन्द्र अधिकारीको नेतृत्वमा पुगेको प्रहरी टोलीले अनुसन्धान शुरु गरेको छ । श्रृङ्गखलाबद्ध रुपमा मानिस रहेकै घरमा चोरी भएको पाइएको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । घटनाको प्रकृति हेर्दा स्थानियको समेत सहयोगमा चोरी भएको हुन सक्ने आशंका गरिएको छ । घटनाबाट अनुसन्धान शुरु गरिएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति २०७८ साउन ८ गते शुक्रबार ०७:११