पर्वतको जलजला गाउँपालिकामा शिक्षक र कर्मचारीहरुको कार्यक्षमतामा निखार ल्याउनका लागि दैनिक दुई घण्टे क्षमता अभिबृद्धि तालिम शुरु भएको छ । सिकाई सहजीकरणका लागि शैक्षिक कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीका लागि अनलाईन मार्फत दैनिक दुई घण्टे क्षमता अभिबृद्धि तालिम संचालन गरिएको हो ।
तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष यामवहादुर मल्ल रामकृष्णले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले शिक्षक नै भोलिको दक्ष जनशक्ति निर्माण गर्ने मूख्य बाहक भएकाले बालबालिकाको भविष्य निर्माणका लागि शिक्षक मुख्य जिम्मेवार रहेकाले गुणस्तरीय नतिजाका लागि तालिम आयोजना गरिएको बताउनुभयो ।अध्यक्ष मल्लले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि जलजला गाउँपालिकाले शिक्षामा ठूलो लगानी गरेको जानकारी दिँदै अन्तर्राष्ट्रिय बजारमा विक्ने खालको प्राविधिक र व्यवसायिक शिक्षाको विकासमा अग्रसर हुन सबै शिक्षक, अभिभावक र अन्य सरोकारवालाहरूलाई आग्रह गर्नुभएको थियो ।
जलजला गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र वहादुर क्षेत्रीले तालिममा सिकेका सिपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । उहाँले शिक्षाको विकासमा गाउँपालिकाले प्राविधिक उपकरणको उपलब्धता संगै क्षमता अभिबृद्धिमा लगानी गरेको बताउनुभयो । क्षेत्रीले शिक्षकलाई पेशाप्रति कर्तव्यनिष्ठ, अद्यावधिक र कार्यकुशल बनाउने उद्देश्यले तालिमको आयोजना गरेको बताउनुभयो ।
प्रकाशित मिति २०७८ कार्तिक १० गते बुधबार ०९:१८