पर्वत – १४ वर्षअघिदेखि फूलको नर्सरीलाई व्यावसायिक बनाउन लागिपरेकी कुश्माकी माया गिरीले एकाएक व्यवसाय छाडिन् । तिहारको सिजनमा मात्रै सयपत्री र मखमली फूलको माग हुने तर अन्य सिजनमा कारोबारै नहुने भएपछि व्यवसायको सम्भावना नभएकैले उनले नर्सरीबाट हात झिक्नुपर्यो । दुई वर्षअघि स्थानीय केही युवाले मिलिजुली बहुउद्देश्यीय कृषि फर्ममा सामूहिक फूल खेती सुरु गरेका थिए । त्यो पनि लामो समय टिकेन ।
पर्वतमा पछिल्लो समय तिहार तथा अन्य समयमा सयपत्री, मखमलीलगायत फूलको माग बढ्दो छ । तिहार नजिकिँदै गर्दा बजारमा माला र फूल खोज्ने उपभोक्ता बढ्दो क्रममा छन् । तर व्यावसायिक फूलको खेती भने हुन सकेको छैन । पर्वतमै पहिलोपल्ट ६ जनाको संयुक्त लगानीमा सुरु भएको फूलखेती सिजनमा मात्रै चल्ने भएकाले खेती बन्द गर्नुपरेको सञ्चालक टंकनाथ आचार्य बताउँछन् । ‘विभिन्न कार्यक्रम तथा तिहारको सिजनमा फूल र मालाको माग राम्रै हुने भएकाले व्यवसाय चल्छ कि भनेर फूलखेती सुरु गर्यौं,’ उनले भने, ‘बाहिरबाट आउने फूलमालासँग प्रतिस्पर्धा गर्न सकिएन । सबै सिजनमा फूलाउन पनि नसकेपछि व्यवसाय यत्तिकै छोडियो ।’ उनीसहित विष्णु गिरी, गीता शर्मा, सपना शर्मा, राम सुवेदी र लक्ष्मी पौडेलले फूलको व्यावसायिक खेती सुरु गरेका थिए ।
विगतका वर्षमा तिहारमा मात्रै करिब पचास लाख रुपैयाँको फूलमालाको कारोबार हुने गरेको थियो । कुश्मा बजारमा लामो समयदेखि कस्मेटिक फूलको व्यवसायमा संलग्न शिवकुमार श्रेष्ठका अनुसार जिल्लामा फूलको व्यावसायिक कारोबार नहुँदा बाहिरी फूलकै भर पर्नुपर्ने बाध्यता छ । ‘यहाँको फूलमाला निकै महँगो पर्छ,’ उनले भने, ‘उपभोक्ताले सस्तो खोज्छन् । यहाँ खोजेका फूलबाट बनेका मालाभन्दा बाहिरबाट आउने माला आधा सस्तो मूल्यमा बिक्री गर्न सकिन्छ ।’ मालाको व्यापारमा फाइदाभन्दा जोखिम बढी हुने उनले बताए । तिहारमा मात्रै आफूले करिब १० लाख रुपैयाँको फूल, मालालगायत सामग्रीको कारोबार गर्दै आएको उनले बताए ।
डेढ दशकअघिदेखि कुश्मामा फूलको व्यावसायिक खेती सुरु भएको थियो । तर, बिक्री नभएपछि फूल खेतीमा संलग्न माया गिरीले व्यवसाय छाडेकी थिइन् । पछिल्ला केही वर्षयता कुश्मामा हुने हरेक कार्यक्रममा चाइनिज खादाको सट्टामा फूलमालाको प्रयोग बढ्दो छ । बजार क्षेत्रमा हुने कार्यक्रमलाई लक्षित गरेर पनि अब पुष्प व्यवसायलाई बढावा दिनुपर्ने सामाजिक अगुवा बताउँछन् ।
सामाजिक अगुवा विमल शर्माका अनुसार सामाजिक संघसंस्थाका कार्यक्रममा मात्रै वर्षमा करिब ५० लाख रुपैयाँभन्दा धेरै फूलको कारोबार हुन्छ । तिहारसहित पर्वतमा बर्सेनि करिब डेढ करोड रुपैयाँको फूल र माला खपत हुँदै आएको पर्वत उद्योग वाणिज्य संघका सदस्य कृष्ण शर्मा बताउँछन् । ‘पहिला फूलमाला भनेपछि तिहारलाई मात्रै सम्झिन्थ्यो,’ उनले भने, ‘अहिले हरेक सिजनमा फूलमालाको प्रयोग हुन्छ । फूलको व्यावसायिक खेती बढाउन आवश्यक छ ।’ संघले व्यावसायिक फूलखेतीलाई बढावा दिने खालका कार्यक्रम ल्याउनुपर्ने उनले बताए । पर्वतका बजारमा एउटा मालाको न्यूनतम ५० देखि ४ सय रुपैयाँसम्म पर्छ ।
प्रकाशित मिति २०७८ कार्तिक १९ गते शुक्रबार १२:२१