नेपाली काङ्ग्रेस १४ औ महाधिवेशनमा महिला प्रतिनिधित्व मात्र होइन नेतृत्व खोजौ “
नेपाली महिलाहरुको ईतिहाँस कहालि लाग्दो छ । साँच्चै हिजोका ती दिनहरुमा महिलाले कसरी जीवन जिउथे ? त्यो नेपाली समाजको सामाजिक संरचना, सोच, मूल्य र मान्यताहरु सम्झिँदा आङ्ग जिरिङ्ग हुन्छ । धेरै कुराहरुमा सामाजिक रुपान्तरण भए पनि आधा जनसंख्याको सहभागिता र नेतृत्व बिना देशको बिकास कसरी सम्भब छ ? यो प्रश्न एक महिलाकर्मीको नाताले जहिले सुकै मनमा उब्जने प्रश्न हो र यसैमा धेरै घोत्लिन मन लाग्छ ।
महिला माथिको चरम शोषणको पितृसत्तात्मक समाजमा महामानब बिपि कोइरालाले घरमा जाँदा भाडा आफै माझ्नु हुन्थ्यो । आफ्नो जीवन साथीको कपडा धोइदिनुहुन्थ्यो र खुट्टा माडी दिनु हुन्थ्यो । यो सानो कुरा हो तर, त्यो समाजमा महिला माथिको बिभेदको अन्त्यका लागि ठूलो व्यवहारिक क्रिया थियो, पितृ सत्ताको अन्त्यका लागि । अझै २०१५ को पहिलो आम निर्वाचन पछि मन्त्री मण्डलमा नै स्वास्थ सहायक मन्त्रीमा द्वारिकादेवी ठकुरानिलाई नियुक्ति गर्दा मानिसहरु जिब्रो टोक्थे।
यस्तै सोच भएका नेताहरुको बिचारबाट बनेको पार्टी हो नेपाली काँग्रेस, हामी अहिले यहि पार्टीको चौधौ महाधिवेशनको संघारमा छौँ ।
नेपालमा नै सबैभन्दा पहिले महिलाको वर्गिय पक्षमा वकालत गर्नका लागि २००४ साउन २४ गते नेपाल महिला संघको स्थापना भयो । पार्टी भित्र र बाहिर महिलाको पहँुच र अधिकारका लागि आफ्नो आवाज बुलन्द गर्दै आएको संगठन हो । ७ दशक लामो इतिहाँसमा धेरै उतारचढाव आयो । प्रजातन्त्र , लोकतन्त्र र गणतन्त्र प्राप्तिको आन्दोलनमा अग्रमोर्चामा रहेर महिलाहरुले योगदान दिए । २०५३ सालमा पहिलो पटक देशले शैलजा आचार्यलाई उपप्रधानमन्त्री र पार्टीको उपसभापतिको रुपमा पायो । चित्रलेखा यादब पार्टीको कोषाध्यक्ष र संसदको उप सभामुख बन्नु भयो भने पछि सितादेबी यादब पार्टीको कोषाध्यक्ष बन्नुभयो । हाल नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिमा मुश्किलले २०% महिला हुनुहुन्छ भने जिल्ला कार्यसमितिहरुमा २४% । नेपालको संविधानमा नै हरेक क्षेत्रमा महिला सहभागिता ३३% भनेर किटानी गरे पछि भने अहिलेको नेपाली काँग्रेसको महाधिवेनका लागि बाध्यकारी ब्यवस्था गर्दै ३३ % महिला हरेक तहमा निर्वाचित गर्नै पर्ने अवस्था छ । अबको नेपाली काङ्रेसको साङ्गठनिक संरचना अनुसार केन्द्रिय कार्य समिती – १, पर्देश कार्य समिती– ७, जिल्ला कार्य समिती –७७ , क्षेत्रीय कार्य समिती –१६५ , प्रदेश स्तरिय क्षेत्रीय कार्य समिती – ३३०, गाउ÷ नगर कार्यसमिती –७५३ र वडा कार्य समिती – ७,७४३ वटाको अदिबेशन सम्पन्न भएको छ र हुदैछ पनि । यी सबै समितिहरुमा महिलाहरुको कम्तीमा ३३% सहभागिता भने सुनिश्चित गरिएको छ । के यी मात्र प्रयाप्त हुन त ? पक्कै होइनन । त्यसैले हामी महिलाहरुले अझै थप धेरै कसरत गर्नु पर्ने छ र त्यसका लागि महिला मैत्री नेतृत्व, सोही अनुशारको अध्ययन– कृयाशिलता मार्फत हामिले आफ्नो स्थान पक्का गर्नु पर्ने छ । त्यसका लागि के गर्न सकिन्छ त ?
१. महिलाहरुका लागि संविधानत व्यवस्था गरिएको छ । सोही अनुसारको प्रयोग गर्दा जहिले सुकै हामीलाई “ उप“ को पद लिनका लागि जबर्जस्त बाध्य पारिन्छ वा प्रमुख पदमा हामी तयार हुदैनौ । हामी प्रतिस्पर्धाका लागि तयार हुदैनौ । त्यसैले हामी माहिला नै आफै भिड्न तयार हुनुपर्छ र हामीले आँट मात्र गर्दा पनि सफलता हाम्रो हातमा छ ।
२. हाम्रो न्यून शैक्षिक स्तर छ । हामीमा आत्मबिश्वास कम छ । जोखिम लिन सक्ने क्षमताको कमीछ । यो परिधिबाट हामी महिलाहरु बाहिर निस्कनु पर्दछ।
३. हामी महिला जो सँग क्षमता छ, ज्ञान , सीप छ त्यो स्विकार्न सक्दैनन । यो अस्वीकार्य पुरुष नेतृत्वबाट हुन्छ या केही पितृसत्तात्मक सोच राख्ने र कोहीअरु महिला अगाडि नजायोस् भन्ने चेतना बोक्ने महिलाहरु नै पनि हाम्रा लागि अबरोधहरु बनेका छन ती सबैलाई भत्काउदै र कुल्चदै अगाडि बढनु पर्ने आवस्यक छ।
४. पार्टीले हरेक ठाउमा ३३% को सुनिश्चितता त गरेको छ तर घुमाउरो पाराले नेतृत्वमा भने महिलाका लागि स्थान दियिएको छैन। समाबेशी , समानुपातिकको नाउमा साना पद, साना मन्त्रालय आदि मात्र आंरक्षण गरिएको वा दिईने गरिन्छ । पार्टीको पदाधिकारीहरुमा महिलाका लागि स्थान ग्यारेन्टी गरिएको छैन । पार्टिको कार्य सम्पादन समितिमा महिलाको स्थान छैन । ८ क्लस्टर मध्ये १ स्थानमा मात्र सह–महामन्त्रीको पद, यो बदल्नु आवश्यक छ ।
५. समाजका हरेक अभावहरुमा हाम्रा खुट्टाहरु बाँधिएका छन र पनि हामीलाई प्रतिश्पर्धा गर्ने मौका भने छ । देशैभरिबाट ३३% महिलाहरु सबै अधिवेशनका लागि प्रतिनिधिको लागि सुनिश्चित गरिएको छ र पनि आधा जनसंख्या महिलाले ३३% मा चित्त बुझाउनु हुदैन। कम्तिमा हामी ५०% महाधिवेशन प्रतिनिधिका लागि अहिले र महाधिवेशनमा कम्तिमा ५०% सदस्य सहित पदाधिकारीका लागि महिलाले आँट गर्नु पर्दछ। अहिले नहरे कहिले गर्ने ? यदि गरेनौ भने भोलिको पिढिले हामिलाई धिक्कार्ने छ।
६. देशै भरी हेर्दा अहिलेका वडा देखि माथिल्लो तहमा भएका अधिबेशनहरुमा पहिलेको तुलनामा केही महिलाको संख्या बढेको छ तर त्यो अप्रयाप्त हो। धेरै महिलाहरुको नेतृत्व गर्ने आकाँक्षालाई त्यही निमोठियो । तिमी महिला कसरी सक्छौ ? हुदैन ?? घरबाट आफ्नो श्रीमानको दबाद,केही पुरुष नेताहरुको दबाब अझै भन्नू पर्दा पुरुषहरुको पछि लागेर नेता भइन्छ भन्ने सोच बोकेका महिला ( पितृसत्ताबादी महिला) को दबाबको कारण दिएको उम्मेद्बारी फिर्ता लिएर महिलाले सक्दैन भन्ने मनोभावना बिकास गराउन खोजियो। यो प्रवृत्ती बिल्कुल गलत हो र यसले महिला नेतृत्व स्थापित हुन रोकेर मैदानमा आधा जनसंङख्या पार्टीको उपस्थिति कमजोर बनाउदै पार्टी नै जनता सँग जोडन नदिन गरिएका अपवित्र कामहरु हुन । यसको बिरुद्द पार्टी भित्र हामी बोल्न सक्नु पर्दछ र हाम्रो मान्यतालाई स्थापित गराउनु पर्दछ।
प्रकाशित मिति २०७८ कार्तिक २२ गते सोमबार ०७:५१