पर्वत- पर्वतको कुश्मा नगरपालिका २ खुर्कोटमा प्रवासी नेपाली र कुश्मा नगरपालिकाको संयुक्त आर्थिक सहयोगमा स्वास्थ्यचौकीको भवन निर्माण गरिएको छ ।
गैह्र आवासीय नेपाली संघ स्विडेनको १६ लाख, कुश्मा नगरपालिका २ खुर्कोटको ६ लाख र एनआरएनए आईसी सदस्य अर्जुनकुमार श्रेष्ठको २५ हजार आर्थिक सहयोगमा उक्त भवन निर्माण सम्पन्न भएको हो । आज एक समारोहका बिच गैह्र आवासीय नेपाली संघ राष्ट्रिय परिषद स्विडेनका अध्यक्ष राजकुमार पाठक र गैह्र आवासीय नेपाली संघका आईसीसी सदस्य अर्जुनकुमार श्रेष्ठले संयुक्त रुपमा रिवन काटेर भवनको उद्घाटन गर्नुभयो । उद्घाटन पश्चात स्वास्थ्यचौकी व्यवस्थापन समितिलाई भवन हस्तान्तरण गरिएको हो ।
एनआरएनए आईसीसी सदस्य अर्जुनकुमार श्रेष्ठको विशेष पहलमा उक्त भवन निर्माणका लागि प्रवासी लगानी भित्रिएको स्वास्थ्यचौकीका ईन्चार्ज टेकनाथ सुबेदीले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै गैह्र आवासीय नेपाली संघ स्विडेनका अध्यक्ष राजुकमार पाठकले आफुहरु दुरदराजमा रहेका नागरिकको स्वास्थ्य सुरक्षाका लागि संधै सहयोग गर्न तत्पर रहेको अवगत गराउनुभयो । उहाँले आगामी दिनमा स्वास्थ्यचौकीमा आवश्यक पूर्वाधार विकास तथा उपकरण थप गर्नका लागि पनि सहकार्य गरिने जानकारी गराउनुभयो । आईसीसी सदस्य अर्जुनकुमार श्रेष्ठले खुर्कोटमा स्वास्थ्य सेवा सहज बनाउन भवन आवश्यक परेको हुनाले आफुले सहकार्य गरेको बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष एवं वडाध्यक्ष यदुनाथ शर्मा बास्तोला, रेडक्रसका सभापति रुद्रवहादुर रिमाल, नेपाली काँग्रेसका क्षेत्रीय सभापति गंगाधर पौडेल, एमालेका सचिवालय सदस्य शेषराज रेग्मी, नेपाली काँग्रेसका वडा सभापति तिर्थप्रसाद, नेकपा माओबादी वडा कमिटीका अध्यक्ष कृष्णप्रसाद पौडेल, नेकपा एमालेका सचिव छत्रवहादुर क्षेत्री, कालिका माविका प्रधानाध्यापक बाबुराम शर्मा पौडेल, कुश्मा नगरपालिकाका पूर्व लेखा अधिकृत कमलराज पौडेल लगायतले बोल्नुभएको थियो ।
स्वास्थ्यचौकी निर्माण समितिका अध्यक्ष हरिप्रसाद शर्माको अध्यक्षतामा सचिव कृष्णप्रसाद पौडेल र सञ्चालन टेकनाथ सुबेदी । असार देखि शुरु गरेको भवन ६ महिनामै सम्पन्न भएको हो । ४ कोठाको चौकीको भवन निर्माण पश्चात स्वास्थ्य सुविधा समेत बिस्तार गर्ने सोचमा समितिले योजना बनाएको छ ।
स्थानीय हरिदत्त जैसी र कोपिला जैसी मार्फत निशुल्क रुपमा उपलब्ध गराएको जग्गा र ढाँड सामूदायिक बनको जग्गा समेत प्रयोग गरि उक्त भवन निर्माण गरिएको हो ।
प्रकाशित मिति २०७८ मङ्सिर १ गते बुधबार ०१:२४