२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनको तुलनामा यस पटकको निर्वाचनबाट केही बढी युवाहरू जिल्लाका विभिन्न स्थानीय तहको निर्वाचनमा पुगेका छन् । दलीय राजनीति भन्दा केही माथि उठेर मतदाताले पनि युवाहरूलाई निर्वाचित गरेका छन् । राजनीतिक संस्कारको विकास, समानुपातिक समृद्धि, युवाहरूको मागको सम्बोधन लगायतका कुरामा आम नागरिकले युवा जनप्रतिनिधिबाट आसा गरेका छन् ।
नेतृत्वमा पुगेका युवा जनप्रतिनिधिहरूले पनि आफूहरू भर्खरै निर्वाचित भएको र अब विज्ञहरूको सुझावको आधारमा चुनावी घोषणापत्र अनुसारको कामहरूको थालनी गर्ने बताएका छन् । यसैमध्येका एक जना हुन पर्वतको पैयुँ गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष ३३ वर्षिय तोरण मल्ल ठकुरी ।निर्वाचित भएसँगै उनले पूर्वाधार निर्माणको कामलाई तिब्रता दिँदै नागरिकको जनजीवीकालाई सहज बनाउन थप काम गर्ने बताएका छन् । बर्खा याममा वर्षाका कारण अवरोध हुने सडकका कारण नागरिकले दुःख पाएकाले आउँदै गरेको बर्खा याममा यसको सही व्यवस्थापन गरी पहिलो कामको थालनी गर्ने उनको योजना छ । सबै ठाउँमा सडकको विस्तार भए पनि सडक बिग्रिँदा खाद्यान्न ओसारपसार, सरकारी निकायमा आउजाउ, स्वास्थ्य संस्थामा पुग्नुपर्ने अवस्था लगायतका समस्या हुने भएकोले पूर्वाधार निर्माण अन्तर्गतको यो कामलाई प्राथमिकतामा राखेको उनको भनाई छ ।
‘पूर्वाधारका कारण नागरिकले दुःख पाउनुपरेको छ । धेरै ठुलो योजनाभन्दा पनि नागरिकले सजिलो भएको महसुस गर्ने काम पहिले गर्नुपर्छ । सडक जीवनको आधार बनेको छ फेरि गरिहाल्न सकिने काम पनि हो,’ उनले भनेका छन्, ‘वडा कार्यालयको सेवालाई प्रभावकारी बनाउने, स्वास्थ्य र शिक्षामा गुणस्तर, हरेक नागरिकलाई उत्पादनसँग जोडेर बेरोजगारी समस्याको हल गर्ने कुरा पनि मेरो प्राथमिकतामा छन् ।’
उत्पादन र रोजगारीसँग हरेक नागरिकलाई जोडेर बेरोजगारी र परनिर्भरताको समस्यालाई हटाउन आफूले योजनाहरु ल्याउने ठकुरीको भनाई छ । सरकारी कार्यालयबाट प्रवाह हुँदै आएका सेवाहरुलाई झनै छिटो र छरितो बनाउने, दिगो विकास र दिगो परियोनाका माध्यमबाट गाउँपालिकालाई समृद्ध र नमूना स्थानीय तह निर्माण गर्न आफ्नो सिंगो समूह लागीपर्ने प्रतिबद्धता पनि उनले ब्यक्त गरेका छन् ।
प्रकाशित मिति २०७९ जेठ १३ गते शुक्रबार ०२:५८