जलजलाको बजेट, ४९ करोड ६५ लाख २८ हजार बजेट सार्वजनिक

जलजलाको बजेट, ४९ करोड ६५ लाख २८ हजार बजेट सार्वजनिक

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७९ असार ११ गते शनिवार ०३:०१

जलजलाको बजेट, ४९ करोड ६५ लाख २८ हजार बजेट सार्वजनिक, नीति तथा कार्यक्रम सर्बसम्मत पारित

जलजला गाउँपालिकाको आर्थिक बर्ष २०७९/०८० को बजेट, नीति तथा कार्यक्रम सर्बसम्मत पारित भएको छ । शुक्रबार बसेको १२ औ गाउँसभाले अध्यक्ष राजु आचार्यले पेश गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष दिपक आचार्यले पेश गर्नुभएको बजेट पारित भएको हो । बार्षिक नीति तथा कार्यक्रम र बजेटमा कृषि र शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ ।

जलजलामा आर्थिक उपार्जनको मुख्य स्रोतका रुपमा रहेको कृषि तथा पशुपालनको उत्पादन र उत्पादकत्व बृद्धि गर्दै समग्र कृषिको आधुनिकीकरण, ब्यावसायिकरण र यान्त्रिकरणको नीति अवलम्बन गर्दै योजनाबद्ध सामुहिक कृषि उत्पादनलाई प्रोत्साहन गर्ने अध्यक्ष राजु आचार्यले बताउनुभयो ।आगामी आर्थिक बर्ष जलजला गाउँपालिकाले कृषिमा एक करोड ३० लाख कृषिको बजेट एक करोड ७० लाख पु¥याएको छ । चालु आर्थिक बर्ष जलजला गाउँपालिकामा कृषितर्फ ४० लाख बजेट बिनियोजन भएको थियो ।

यसैगरी गाउँपालिकाले शिक्षा क्षेत्रमा पनि बजेट बृद्धि गरेको छ । आचार्यका अनुसार भौगोलिक क्षेत्र, हावापानी, माटो र वातावरण अनुकुलको उच्च प्रतिफल दिने कृषि बाली तथा पशुपन्छीपालनको संभाब्यता अध्ययनबाट ठाउँ सुहाउँदो उत्पादनलाई प्रबद्र्धन गर्न पकेट क्षेत्र कार्यक्रम गरिनेछ । गाउँपालिकाभित्र उत्पादन हुने विभिन्न ताजा तरकारी आलु, धान, मकै तथा बेमौसमी तरकारी, फलफुललगायतका फसलको उत्पादन बृद्धिका लागि ब्लक, पकेट क्षेत्र अध्ययन गरी बिभिन्न कृषि उपज उत्पादन कार्यक्रम सञ्चालनमा ल्याइने अध्यक्षले नीति तथा कार्यक्रममा उल्लेख गर्नुभएको छ । ‘हाम्रो उद्देश्य कृषिक्षेत्रको उत्पादन बृद्धि होस, यहाँका हरेक घरपरिवारले कृषि उत्पादनबाट राम्रो आम्दानी गर्न सकुन र घरमै बसेर स्वरोजगार बनुन भन्ने हो’ आचार्यले भन्नुभयो । चालु आर्थिक बर्ष एक करोड बजेट शिक्षामा बिनियोजन गरेको जलजला गाउँपालिकाले आगामी आर्थिक बर्षको बजेटमा ७० लाख रुपैयाँ थप गरी एक करोड ७० लाख पु¥याएको छ ।

सामुदायिक बिद्यालयहरुको शैक्षिक अवस्था सुधार गर्न विशेष अभियान सञ्चालन गर्नेगरी जलजला गाउँपालिकाले १८ दशमलब ८८ प्रतिशत बजेट बिनियोजन गरेको उपाध्यक्ष दिपक आचार्यले जानकारी दिनुभयो । जलजला गाउँपालिकाले कृषिमा एक करोड ७० लाख (१८ दशमलब ८८ प्रतिशत), स्वास्थ्यमा ६० लाख (६ दशमलब ६६ प्रतिशत), पशु सेवामा ६० लाख (६ दशमलब ६६ प्रतिशत), पुर्वाधार विकासमा दुई करोड (२२ दशमलब २२ प्रतिशत), सुशासन तथा संस्थागत विकासमा पाँच लाख (० दशमलब ५६ प्रतिशत), वातावरण तथा विपद् ब्यवस्थापनमा ५० लाख (५ दशमलब ५५ प्रतिशत), पर्यटन १० लाख (१ दशमलब ११ प्रतिशत), महिला बालबालिका तथा जेष्ठ नागरिक ४० लाख (४ दशमलब ४४ प्रतिशत) बजेट बिनियोजन गरेको छ ।

त्यसैगरी बिधेयक तीन लाख (० दशमलब ३३ प्रतिशत), भैपरी विविध नौ लाख (१ प्रतिशत), युवा तथा खेलकुद १० लाख (१ दशमलब ११ प्रतिशत), मेसिन उपकरण ६० लाख (६ दशमलब ६६ प्रतिशत), समुहमार्फत साझेदारी कोष कार्यक्रम ४० लाख (४ दशमलब ४४ प्रतिशत), न्यायिक समिति तीन लाख (० दशमलब ३३ प्रतिशत) र खानेपानी सिंचाईका लागि भैपरी बिविध १० लाख २८ हजार (१ दशमलब १४ प्रतिशत) गरी नौ करोड २८ हजार बिकास बजेट बिनियोजन गरिएको छ ।
जलजला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले गाउँपालिकामा आगामी आर्थिक बर्षमा कुल बजेटको आकार ४९ करोड ६५ लाख २८ हजार रुपैयाँको अनुमान गरिएको जानकारी दिनुभयो । क्षेत्रीले बजेटले कृषि र शिक्षामा ठुलै परिवर्तन ल्याउने उद्देश्यले बजेटमा प्राथमिकतामा परेको पनि बताउनुभयो ।

उहाँले जलजला गाउँपालिकाको १२ औ गाउँसभा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको र त्यसका लागि सहयोग गर्ने सबै जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका नेतालगायत सबैलाई धन्यबाद पनि दिनुभयो ।जिल्लामै सबैभन्दा धेरै बेमौषमी तरकारी उत्पादन हुने जलजलालाई कृषिबाटै आत्मनिर्भर बनाउनेगरि घोषणापत्र ल्याइएकोमा सोहि बमोजिम बजेटमा प्राथमिकता दिइएको अध्यक्ष राजु आचार्यले बताउनुभयो,गाउँपालिकामा ईन्टरनेट सहितको गुणस्तरिय सूचना प्रविधिको विकास र विस्तार गरी सवै वडा कार्यालयवाट समेत अनलाईन सेवा सञ्चालनलाई निरन्तरता आचार्यले बताउनुभयो

प्रकाशित मिति २०७९ असार ११ गते शनिवार ०३:०१
प्रतिक्रिया दिनुहोस