देशभर सुपथ मूल्य पसलको व्यवस्था गर्न संसदीय समितिको निर्देशन

देशभर सुपथ मूल्य पसलको व्यवस्था गर्न संसदीय समितिको निर्देशन

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७९ असोज ४ गते मङ्गलबार ११:२४

संसदीय समितिले दसैँ, तिहार, छठजस्ता पर्वहरूका लागि देशभर सुपथ मूल्य पसलहरूको आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले...

संसदीय समितिले दसैँ, तिहार, छठजस्ता पर्वहरूका लागि देशभर सुपथ मूल्य पसलहरूको आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो ।दसैँ, तिहारजस्ता चाडपर्वको बेला बजार अनुगमनको कामलाई थप प्रभावकारी बनाउन र सुपथ मूल्य पसलको आवश्यक व्यवस्था देशभर मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वाणिज्य विभागलाई निर्देशन दिइएको समितिका सभापति प्रकाश पन्थले जानकारी दिए । बैठकले दसैंका लागि घर जाने यात्रुहरूको लागि सहज ढंगले टिकट पाउने गरी काउन्टरहरूको आवश्यक व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ ।समितिका सभापति पन्थले भने, ‘दसैँ, तिहार, छठजस्ता चाडपर्वका बेला थप जनशक्तिहरू उपलब्ध गराएर, प्रविधिहरूलाई पनि जुटाएर बजार अनुगमन गर्ने कुराहरूलाई थप प्रभावकारी बनाउनु पर्दछ । त्यसैगरी सुपथ मूल्यका पसलहरूको पनि कुराहरू उठेका छन् । त्यसलाई चुस्तदुरुस्त र थप प्रभावकारी बनाउन सकिन्छ । यी तमाम विषयहरूमा आवश्यक व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालय र विभागलाई समिति निर्देशन दिन्छ । त्यसैगरी बस काउन्टरहरूको आवश्यक व्यवस्था मिलाउन, बसको भाडादरलाई व्यवस्थित बनाउन पनि सरकार समिति निर्देश गर्दछ ।’

समितिले सवारी साधनको भाडादर जथाभावी लिन नपाउने गरी अनुगमनको काममा कडाइ गर्न पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई भनेको छ । शान्ति, सुरक्षाको आवश्यक व्यवस्था मिलाउन पनि गृह मन्त्रालयलाई निर्देश गरिएको समितिका सभापति पन्थले बताए । बैठकमा समितिका सदस्यहरूले चाडबाडको बेला दुर्घटना हुन नदिने गरी ट्राफिक प्रहरी परिचालन गर्न सरकारलाई सचेत गराएका थिए । सांसद एवम् पूर्वगृहमन्त्री वामदेव गौतमले शान्ति सुरक्षा र सवारी दुर्घटना हुनै नदिने गरी राजमार्गहरूमा प्रहरी परिचालन गर्न सरकारको ध्यानाकर्षण गराए ।

समितिकी अर्का सदस्य नन्दा चपाईले सवारी दुर्घटनाबाट नागरिकको जीवन जोगाउनका लागि सरकारले गाडी चालकहरूलाई आवश्यक तालिमको व्यवस्था गर्नुपर्ने बताइन् । समितिका सदस्यहरूले कालोबजारी नियन्त्रण गर्न सरकारले अनुगमनको कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए

प्रकाशित मिति २०७९ असोज ४ गते मङ्गलबार ११:२४
प्रतिक्रिया दिनुहोस