नेपाली वैज्ञानिक शिव सुवेदीले विश्व चर्चित साइन्स जर्नलबाट प्रदान गरिने द जोन म्याडक्स प्राइज २०२४ मा ‘जज कमेन्डेसन’ अवार्ड प्राप्त गरेका छन् । बुधबार लन्डनमा आयोजित एक समारोहमा सुवेदीलाई अवार्ड प्रदान गरिएको हो ।
सुवेदीलाई नेपालमा भूकम्प चेतना जगाउन तथा भूकम्पको पूर्वतयारीका लागि अभियान चलाएबापत अवार्ड प्रदान गरिएको हो । सुवेदीले नेपालमा भूकम्पबाट हुन सक्ने जोखिम कम गर्न भूकम्प शिक्षामार्फत योगदान पुर्याएका छन् ।
यसवर्ष अवार्डको मनोनयनमा छनोट भएका ८ जना वैज्ञानिकमध्ये विकासोन्मुख मुलुकबाट सुवेदीमात्र थिए । हरेक वर्ष विश्वका विभिन्न वैज्ञानिकलाई प्रदान गरिने अवार्ड जोन म्याडक्सका नाममा प्रदान गरिन्छ । अवार्ड विज्ञान र वैज्ञानिक अनुसन्धानबाट प्राप्त प्रमाणमा आधारित नीतिका लागि आवाज उठाउने वैज्ञानिकलाई प्रदान गर्ने गरिएको छ ।
सुवेदीले नेपालको भूकम्पमा अनुसन्धान, सचेतना तथा पूर्वतयारीका साथै सरकारले त्यसका लागि उपयुक्त नीति लिएर तयारी गर्नुपर्ने कुरामा निरन्तर आवाज उठाइरहेका छन् । सुवेदी हाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा भूकम्पविद्को रुपमा कार्यरत छन् ।
सुवेदी गीतसंगीतको क्षेत्रमा पनि क्रियाशील छन् । उनले लेखेका ‘घामजस्तो चम्किलो जुन हुँदैन’, ‘भूमरीमा परेँ भने म’, ‘किन यस्तो हुन्छ’, ‘भुल्नै भयो धौ’, ‘बाँचेको छु धन्न’, ‘नरोउ है आमा’लगायत दर्जनौं गीत लोकप्रिय छन् ।
प्रकाशित मिति २०८१ कार्तिक २३ गते शुक्रबार ०८:४५