होसियार ! काठमाडौंमा स्वाइन फ्लुको संक्रमण

होसियार  ! काठमाडौंमा स्वाइन फ्लुको संक्रमण

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ माघ ८ गते मङ्गलबार ०७:०३

काठमाडौं उपत्यकामा स्वाइन फ्लुको संक्रमण फैलिएको छ। उपत्यकामा डेढसय भन्दा वढीलाई स्वाइन फ्लु (ए–एच १ एन १ भाइरस) संक्रमण देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन्। सरकारी तथ्यांकभन्दा वास्तविक स्थिति झन् जटिल हुनसक्ने चिकित्सकहरुको...

काठमाडौं उपत्यकामा स्वाइन फ्लुको संक्रमण फैलिएको छ। उपत्यकामा डेढसय भन्दा वढीलाई स्वाइन फ्लु (ए–एच १ एन १ भाइरस) संक्रमण देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन्।

सरकारी तथ्यांकभन्दा वास्तविक स्थिति झन् जटिल हुनसक्ने चिकित्सकहरुको भनाई छ। ओम अस्पतालको आईसीयूमा उपचार गराईरहेकी ४७ वर्षीया महिलाको सोमबार स्वाइन फ्लुकै कारण मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ।

ओममै उपचार गराईरहेका एक संक्रमितलाई एयरलिफ्ट गरेर भारत लगिएको छ।

उपत्यकामा स्वाइन फ्लुको संक्रमण फैलिएको पुष्टि भएकाले सामान्य रुघाखोकी लागेपनि तत्काल स्वास्थ्य जाँच गराउन सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुनले आग्रह गर्नुभयो।

रुघा खोकी लाग्ने, नाकबाट पानी बग्ने, भोक नलाग्ने, शरीर शिथिल हुने, कडा ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने, जिउ चिलाउने,वाकवाकी लाग्ने, सास फेर्न गाह्रो हुने जस्ता लक्षण स्वाइन फ्लुमा देखिन्छन्।

गत पुस १७ देखि राजधानीमा स्वाइन फ्लुको संक्रमण देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका निर्देशक डा. हरिशचन्द्र उप्रेतीले बताए।

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा २०७५ मंसिरदेखि पुस २६ सम्म ३ सय ३४ जना बिरामीको घाँटीको र्‍यालको नमुना परीक्षण गर्दा १ सय ६८ जनामा इन्फ्लुएन्जा प्रमाणित भएको छ।

तीमध्ये १ सय ४६ जनामा इन्फ्लुएन्जा ए–एच१एन१ (स्वाइन फ्लु), ९ जनामा इन्फ्लुएन्जा ए एच ३ र १३ जनामा इन्फ्लुएन्जा बी प्रमाणित भएको थियो।

प्रकाशित मिति २०७५ माघ ८ गते मङ्गलबार ०७:०३
प्रतिक्रिया दिनुहोस